क्रोएसिया वर्क पर्मिट

क्रोएसियामा नेपालीसहितका आप्रवासीलाई वर्क पर्मिट दिन कडाइ

आप्रवासन आप्रवासन

क्रोएसियाले नेपालीसहितका आप्रवासीलाई वर्क पर्मिट दिन व्यापक कडाइ गरेको छ । क्रोएसियाले विदेशीलाई वर्क पर्मिट दिन सकिने नियमहरू कडा बनाएसँगै वर्क पर्मिट स्वीकृत दर ७० प्रतिशतले घटेको हो ।

क्रोएसियाको गृह मन्त्रालयका अनुसार मार्च महिनायता १८ हजार वर्क पर्मिटका आवेदन अस्वीकृत गरिएको छ । केवल ७ हजार आवेदकलाई मात्र अनुमति दिइएको छ ।

मन्त्रालयले गत मार्चबाट विदेशी कामदार भर्ना गर्न विभिन्न कडा सर्तहरू पुरा गर्नुपर्ने व्यवस्था लागु गरेको छ । जसले गर्दा वर्किङ भिसामा क्रोएसिया जाने नेपालीसहितका आप्रवासीको सङ्ख्या व्यापक घटेको हो ।

मन्त्रालयको तथ्याङ्क अनुसार क्रोएसियामा हाल लगभग १ लाख ३६ हजार विदेशी कामदार छन्। एक अध्ययनले ९० प्रतिशत विदेशी कामदारहरूले आफ्नो मुलुक रेमिटेन्स पठाउने गरेको देखाएको थियो ।

यस्तै, पाँचमध्ये एक जना विदेशी कामदारले क्रोएसियामै बस्ने योजना बनाएको र आधाभन्दा बढीले परिवारलाई आफूसँगै बस्न क्रोएसिया ल्याउने बारेमा सोचिरहेका पाइएको थियो ।

जसले गर्दा वर्क पर्मिटमा कडाइ गर्ने निर्णयमा क्रोएसिया पुगेको हो । क्रोएसियामा ३० हजार बढी नेपाली रहेको अनुमान छ ।

क्रोएसियाको केन्द्रीय बैङ्कका अनुसार सन् २०२३ मा मात्रै क्रोएसियामा बस्ने नेपालीले १० अर्ब ६५ करोड बढी रेमिटेन्स नेपाल पठाएका थिए ।