श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या साढे ६५ लाख नाघेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्मामा पेस गरेको २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार २०८१ फागुनसम्ममा श्रम गरेर विदेश जानेको सङ्ख्या ६४ लाख ६१ हजार १९ पुगेको हो ।
यसरी श्रम स्वीकृति लिनेमा ९३ दशमलव ३ प्रतिशत पुरुष र ६ दशमलव सात प्रतिशत महिला छन् ।
सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने र अभिलेख राख्न थालेको हो । यो तथ्याङ्क सोही मिति पश्चताको हो ।
चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ देश र १ हजार ६७० म्यानपावर कम्पनीलाई श्रमिक पठाउन इजाजत पत्र दिइएको छ ।
यस अवधिमा इपिएस प्रणालीमार्फत ७ हजार ५०९ नेपाली दक्षिण कोरिया गएका छन् ।
यस्तै, फागुनसम्म वैदेशिक रोजगारीमा गएका ९७४ नेपालीको मृत्यु भएको छ । जसमा ९२२ पुरुष र ५२ महिला छन् । मृत्युमा भएका नेपालीका परिवारलाई ६५ करोड ६७ लाख ६० हजार आर्थिक सहायता प्रदान गरिएको छ ।
यस अवधिमा वैदेशिक रोजगारीका क्रममा ३३६ नेपाली शारीरिक रूपमा अङ्गभङ्ग तथा बिरामी परेका छन् । यसरी बिरामी पर्ने नेपालीलाई १४ करोड ७४ लाख ८८ हजार रुपैयाँ आर्थिक सहायता दिइएको छ ।