साउदी अरबले १४ वटा देशहरूबाट ब्लक वर्क भिसा कोटा अन्तर्गत कामदार आपूर्ति अस्थायी रूपमा बन्द गरेको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जुन महिनासम्मका लागि ती देशका नागरिकलाई सो श्रेणीको भिसा जारी गर्न बन्द गरेको हो ।
ब्लक वर्क भिसा कोटा भनेको साउदीका कम्पनीहरूलाई निश्चित सङ्ख्यामा विदेशी कामदार भर्ना गर्न दिएको पूर्व–अनुमतिको कोटा हो । भिसा बन्द गरिएका देशहरूमा भारत, पाकिस्तान, बङ्गलादेश, इजिप्ट, इन्डोनेसिया, जोर्डन र इराक छन् । यस्तै, मोरोक्को, नाइजेरिया, सुडान, अल्जेरिया, इथियोपिया, ट्युनिसिया र यमनका नागरिकलाई पनि भिसा जारी हुने छैन ।
भिसा जारी गर्न बन्द गरिएका अधिकांश देश मुस्लिमबाहुल छन् । अब जुनसम्म ती देशहरूको हकमा नयाँ ‘ब्लक भिसा कोटा’ जारी गरिने छैन ।
यस्तै, यसअघि स्वीकृत कोटाहरूको भिसा प्रक्रियामा समेत ढिलाइ हुने बताइएको छ । यसले साउदी जाने पक्रियामा रहेका हजारौँ विदेशी श्रमिक र कामदार आपूर्ति गर्ने कम्पनीहरूलाई प्रत्यक्ष असर गर्ने देखिन्छ ।
साउदीमा अहिले हज तीर्थयात्राको सिजनमा चलिरहेको छ । हज यात्रालाई व्यवस्थित गर्न र विदेशी कामदारहरूको हजमा अनधिकृत सहभागितालाई रोक्न यो कदम चालिएको मन्त्रालयको भनाई छ ।
यद्यपि, मन्त्रालयको सो निर्णयले साउदी जाने पक्रियामा रहेका नेपालीलाई भने कुनै असर गर्ने छैन ।