श्रमिकका परिवारले पाए उपचार खर्च

विदेश गएका ३०३ श्रमिकका परिवारले पाए उपचार खर्च

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीमा गएका ३०३ जना श्रमिकका परिवारले औषधि उपचार खर्च पाएका छन् । वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षको १० महिना अर्थात् गत साउनदेखि वैशाखसम्मको अवधिमा ती श्रमिकका परिवारलाई खर्च प्रदान गरिएको जनाएको हो ।

यस अवधिमा खर्चबापत १ करोड १५ लाख रुपैयाँ दिइएको छ ।

यसरी खर्च पाउनेमा सबैभन्दा धेरै युएई गएका श्रमिकका परिवार छन् । युएई गएकामध्ये ६० जना श्रमिकको परिवारले सहयोग रकम लिएका छन् ।

बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि बाँकी छँदै परिवारका सदस्यलाई ५ प्रकारका घातक रोग लागेमा औषधी उपचार खर्च उपलब्ध गराउँदै आएको छ । क्यान्सर, अल्जाइमर, मुटुको शल्यक्रिया, मिर्गौला प्रत्यारोपण र पार्किन्सन्स जस्ता गम्भीर रोग लागेमा बिरामीले उपचार खर्च पाउँछन् । यी रोग लागेमा बढीमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहायता पाइन्छ ।

यसका लागि बिरामीले बोर्डमा आर्थिक समस्या परेको निवेदन दिनुपर्छ । यद्यपि, यस्तो खर्च एक पटकका लागि मात्र उपलब्ध हुन्छ ।