रसुवा बाढीका बेपत्ताको यकिन तथ्यांक पाउन कठिन : प्राधिकरण

आप्रवासन आप्रवासन

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएकाहरूको यकिन तथ्यांक अझै स्पष्ट नभएको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न कठिन रहेको बताएकी हुन् । 

हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी उनले दिइन्। उनका अनुसार सोमबार बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या घटबढ हुन सक्ने उनको भनाइ छ।

प्रवक्ता महतले भनिन्, ‘अहिले बेपत्ताको एक्ज्याक्ट संख्या पत्ता लगाउन अप्ठ्यारो नै छ। हामीले स्थानीय पालिका, सिडियो कार्यालय, सुरक्षा निकाय, राष्ट्रिय निकुञ्ज र हाइड्रोबाट विवरण लिने गरेका छौँ।’तथ्यांक अद्यावधिक भइरहने उल्लेख गर्दै उनले थपिन्, ‘आधिकारिक निकायबाट प्राप्त डेटा एकीकृत गरेर ४ हजार २०२ भनेर निकालेका छौँ। यो संख्या फेरि घट्ने-बढ्ने भइरहन्छ।’

हाइड्रोपावर आयोजना तथा सुरुङबाट पनि उद्धार कार्य जारी रहेको छ। हाइड्रोको सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको र आइतबार १५ चिनियाँ र ७ भारतीय गरी थप २२ जनालाई हाइड्रो क्षेत्रबाट निकालिएको उनले जानकारी दिइन्। लाङटाङ हाइड्रोमा भएको क्षतिसम्बन्धी भने छुट्टै विवरण प्राप्त भइनसकेको उनको भनाइ छ।

हालसम्म रसुवा बाढीमा परी ९ सय ३ जनाको शव फेला परेको छ भने १० हजारभन्दा बढीको उद्धार गरिएको छ। २६७ जना घाइते उपचारपछि घर फर्किएका छन् भने बेपत्ताको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ।

बाढीका कारण अवरुद्ध भएका अधिकांश क्षेत्रमा सडक तथा सञ्चार सेवा सुचारु भएको छ। वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको र १० हजारभन्दा बढी पुल बगेकाले नेपाल सरकार, नेपाली सेना तथा चीन र भारतबाट ल्याइने बेलीब्रिजमार्फत सडक सञ्जाल जोड्ने तयारी छ। यस्तै, नेपाल टेलिकम र एनसेलका टावरहरू लगभग सुचारु भइसकेका छन्। सम्भावित बाढीलाई मध्यनजर गर्दै गल्छी र टिमुरेमा हाइड्रोलोजिकल स्टेसन स्थापना गरी रियलटाइम डेटा लिन थालिएको छ।

विपद् व्यवस्थापनका लागि प्राधिकरणले १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ। उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता समन्वयका लागि बिहीबारदेखि नै यी कार्यदलहरू खटिएका हुन्।