नेपालमा आएको विनाशकारी बाढीले एउटा यस्तो जोखिम उजागर गरेको छ, जुन नेपालको सीमामा सीमित छैन । नेपाल र भारतमा हिमालयबाट उत्पत्ति हुने साझा नदीहरू छन् । तर नेपालमा आएको बाढी र भारतमा हुने विपद्बीचको सम्बन्ध पानी सामान्य रूपमा तलतिर बग्ने सरल प्रक्रियाभन्दा निकै जटिल रहेको विज्ञहरू बताउँछन् ।
केही बाढी पहाडबाट तीव्र गतिमा तल झर्दै ठुलो परिमाणमा लेदो, चट्टान र भग्नावशेष बोकेर आउन सक्छन् । अर्कोतर्फ, केही बाढी मैदानमा पुग्दा आफ्नो ठुलो हिस्सा गुमाउँदै सामान्य प्रवृतिको बाढीमा परिणत हुन सक्छन् ।
त्यो पानी भारतमा विपद् बन्छ कि बन्दैन भन्ने कुरा नेपालमा कति वर्षा भयो भन्नेमा मात्र निर्भर हुँदैन । भारततर्फको वर्षा, नदीको जलस्तर, तटबन्ध, जलनिकास प्रणाली तथा बाढी प्रभावित क्षेत्रमा भएको विकासले पनि उत्तिकै भूमिका खेल्छ । केवल पानी सीमा पार गरेर दक्षिणतर्फ बग्ने भएकाले होइन, दुवै देशले साझा गरेको विशाल र पछिल्लो समय झन् अस्थिर बन्दै गएको हिमाली नदी प्रणालीका कारण पनि नेपालमा आएको बाढी भारतका लागि चेतावनी हो ।
नेपालका कति नदी भारततर्फ बग्छन् ?
नेपालमा ६ हजारभन्दा बढी नदी तथा खोलाहरू छन् । तीनको सबै पानी दक्षिणतर्फ बग्दै भारत र अन्ततः गंगासम्म पुग्छन् । तीमध्ये तीनवटा प्रमुख नदी प्रणाली छन्ः पूर्वमा कोसी, मध्यभागमा गण्डकी (भारतमा गण्डक) र पश्चिममा कर्णाली (भारतमा घाघरा) । पश्चिमी सीमासँगै महाकाली (भारतमा शारदा) नदी पनि बग्छ । त्यसबाहेक शिवालिक र चुरे क्षेत्रबाट उत्पत्ति हुने करिब बागमती, कमला, राप्ती, बबई लगायतका एक दर्जन साना नदीहरू पनि सिधै भारत प्रवेश गर्छन् । तिनले पनि तीव्र र अप्रत्याशित बाढी निम्त्याउन सक्छन् । यसको कारण ती नदीका जलाधार क्षेत्र साना र भिराला हुनु हो ।
इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (आईसीआईएमओडी) का जलवज्ञान विज्ञ मनीष श्रेष्ठका अनुसार नेपालबाट भारतको मैदानतर्फ सातदेखि नौवटा प्रमुख नदी बग्छन् र यी नदीहरू भारतमा हुने बाढीका प्रमुख कारण हुन् । भारतको केन्द्रीय जल आयोगले कोसी, गण्डक, बागमती र घाघरालाई प्रमुख सीमापार नदीका रूपमा पहिचान गरेको छ ।
भारतका कुन राज्य सबैभन्दा बढी जोखिममा छन् ?
भारतमा सबैभन्दा बढी जोखिममा पर्ने राज्य बिहार हो । उत्तर बिहारको करिब तीन चौथाइ भूभागलाई आधिकारिक रूपमा बाढी प्रभावित क्षेत्र मानिन्छ । राज्यमा बाढी ल्याउने अधिकांश ठुला नदी नेपालबाट उत्पत्ति हुन्छन् । त्यसमध्ये ‘बिहारको दुःख’ भनेर चिनिने कोसी सबैभन्दा कुख्यात छ । त्यसपछि गण्डक, बागमती र कमला महत्त्वपूर्ण छन् । तर जोखिम बिहारमा मात्र सीमित छैन ।
उत्तर प्रदेशको पूर्वी भाग घाघरा, राप्ती र गण्डक नदीका कारण जोखिममा छ । गोरखपुर, बहराइच, लखीमपुर खिरी र श्रावस्ती जस्ता जिल्लाहरू नियमित रूपमा बाढीबाट प्रभावित हुन्छन् । उत्तराखण्ड राज्यमा महाकाली–शारदा नदी प्रणाली आइपुग्छ । उत्तर बंगालमा मेची र महानन्दा नदीको प्रभाव पर्छ । आईसीआईएमओडीका जलविज्ञानी प्रदीपमान डंगोल भन्छन्, ‘परिमाणका हिसाबले बिहार सबैभन्दा बढी प्रभावित हुन्छ । उत्तर प्रदेश दोस्रो हो र त्यहाँको जोखिमबारे प्रायः कम रिपोर्टिङ हुन्छ ।’
अर्थात्, बाढीको सबैभन्दा ठुलो भार बिहारले बेहोर्छ, तर उत्तर प्रदेश पनि महत्वपूर्ण र प्रायः बेवास्ता गरिएको जोखिम क्षेत्र हो ।
नेपालमा बाढी आउँदा भारतको अवस्था के कुराले निर्धारण गर्छ ?
जलविज्ञानीहरू यसलाई तीनवटा चरणको शृंखलाका रूपमा हेर्छन् । पहिलो, वर्षाः वर्षा कहाँ र कति तीव्रताका साथ हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । भारत प्रवेश गर्ने बाढीको उच्चतम बहाव प्रायः उच्च हिमाली क्षेत्रमा भन्दा तलतिरका शिवालिक, चुरे र तराई क्षेत्रमा उत्पन्न हुन्छ । त्यहाँ मनसुनका बेला साना र भिराला जलाधारमा अत्यधिक वर्षा हुन सक्छ ।
दोस्रो, नदीः नेपालका नदीहरू पहाडको फेदीमा आइपुग्दा भू–ढलानमा अचानक परिवर्तन हुन्छ । त्यस क्रममा नदीले आफ्नो साथमा ल्याएको गेग्रान थुपार्छ र मैदानमा पुगेपछि धेरै धारामा विभाजित हुँदै आफ्नो मार्ग परिवर्तन गरिरहने नदीका रूपमा फैलिन्छ । तेस्रो, भारत प्रवेश गरेपछिः भारतमा पुगेपछि बाढी कति विनाशकारी हुन्छ भन्ने कुरा त्यहाँको परिस्थितिमा निर्भर गर्छ । भारततर्फ कति वर्षा भएको छ, गंगाको जलस्तर कति छ, तटबन्ध र बाँधहरूको अवस्था कस्तो छ तथा सडक, रेलमार्ग र बस्तीका कारण जलनिकास अवरुद्ध भएको छ कि छैन भन्ने कुराले बाढीको गम्भीरता निर्धारण गर्छ । त्यसैले सीमामा पुग्ने बाढीको उच्चतम बहाव धेरै हदसम्म नेपालको वर्षाले निर्धारण गर्छ । तर भारत पुगेपछि बाढी कति विनाशकारी हुन्छ भन्ने कुरा कम्तीमा त्यत्तिकै मात्रामा भारतको आफ्नै परिस्थितिमा निर्भर हुन्छ ।
आईसीआईएमओडीका विपद् जोखिम न्यूनीकरणसम्बन्धी हस्तक्षेप व्यवस्थापक शाश्वत सान्याल भन्छन्, ‘सीमामा आइपुग्ने उच्चतम बहावका लागि मुख्यतः नेपालको वर्षा जिम्मेवार हुन्छ; तर त्यो पानी भारतमा पुगिसकेपछि बाढीको गम्भीरता कम्तीमा त्यत्तिकै मात्रामा भारतको परिस्थितिमा निर्भर हुन्छ ।’
नेपालमा परेको वर्षा कसरी भारतको बाढी जोखिम बन्छ ?
सन् २००८ को कोसी बाढी यसको शक्तिशाली उदाहरण हो । कोसी नदीले नेपालमा बनाइएको तटबन्ध भत्काएपछि बिहारमा करिब ४०० जनाको मृत्यु भएको थियो । तर आश्चर्यजनक कुरा के थियो भने त्यो नदीमा आएको बहाव असाधारण रूपमा उच्च भने थिएन । कानपुरस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का पृथ्वी विज्ञानका प्राध्यापक राजीव सिन्हाका अनुसार त्यसबेला नदीमा आएको बहाव नदीको वहन क्षमताको करिब दश प्रतिशत मात्र थियो ।
विपद्को मुख्य कारण दशकौँअघि निर्माण गरिएको र पर्याप्त मर्मतसम्भार नगरिएको तटबन्धमा परेको भ्वाङ थियो । सिन्हाका अनुसार सन् १९५० र १९६० को दशकमा निर्माण गरिएका तटबन्धहरूको उचित मर्मतसम्भार हुन सकेन । ती क्रमशः क्षय हुँदै गए र अन्ततः कमजोर प्वाइन्टहरू निस्किए । नदीले त्यही कमजोर भागबाट तटबन्ध भत्काएर भारतका त्यस्ता क्षेत्रमा प्रवेश गर्यो, जहाँ सम्भवतः करिब १०० वर्षदेखि बाढी आएको थिएन ।
आईसीआईएमओडीका सन्यालका शब्दमा, यो विपद् ‘जलविज्ञानजन्य’ भन्दा ‘संरचनागत’ थियो । अर्थात्, २००८ को कोसी विपद्ले एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ । त्यो हो, नेपालमा कति पानी पस्यो भन्ने मात्र होइन, त्यो पानीलाई नियन्त्रण गर्न भारततर्फ बनाइएका तटबन्ध, नदी संरचना र जलनिकास प्रणाली कति सुरक्षित छन् भन्ने कुराले पनि सीमापार बाढीको क्षति निर्धारण गर्छ ।