वैशाख महिनामा हालसम्मकै धेरै रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैङ्कले आज एक तथ्याङ्क सार्वजनिक गर्दै वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको जनाएको हो ।
यसअघि कुनै पनि महिनामा यो मात्रामा रेमिटेन्स आएको थिएन । यसअघि गत फागुनमा सबैभन्दा धेरै अर्थात् १ खर्ब ५१ अर्ब २० करोड रेमिटेन्स भित्रिएको थियो । तर फागुनमा बनेको रेमिटेन्सको कीर्तिमान वैशाखमै तोडिएको हो ।
वैशाखमा भित्रिएको रेमिटेन्स गत वर्षको वैशाखको दाँजोमा झन्डै ५० अर्बले बढी हो । गत वर्षको वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रेमिटेन्स भित्रिएको थियो ।
योसँगै चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिटेन्स मुलुक भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ९ प्रतिशतले बढी हो ।
गएको १० महिनामा ६ लाख ८५ हजार ९२४ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । विदेशिने नेपालीको सङ्ख्या बढेपछि मुलुक भित्रिने रेमिटेन्स समेत बढेको हो ।