नेपाल–तिब्बत सीमामा उद्धारकार्यमा यस्ता समस्या देख्छन् विदेशी विज्ञहरू

आप्रवासन आप्रवासन

 

उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको विनाशकारी बाढी तथा हिलोपहिरोले चीन–नेपाल सीमास्थित केरुङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्‍याएको ११ दिन बितिसकेको छ । भदौ १० मा तिब्बतको केरुङ बन्दरगाह क्षेत्रमा विपत्ति आएपछि अहिले त्यहाँ खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ ।

चिनियाँ उद्धार टोलीले क्षतिग्रस्त सडक, कठिन भौगोलिक अवस्था र अन्य अवरोध पार गर्दै बुधबार बिहान केरुङ बन्दरगाहसम्म पुग्ने एकमात्र स्थलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याएका छन् । सडक खुलेसँगै उद्धारकर्मी, राहत सामग्री, आवश्यक उपकरण तथा भारी मेसिनरी मुख्य प्रभावित क्षेत्रमा सडकमार्फत पुर्‍याउन सहज भएको छ ।

यससँगै भग्नावशेष र हिलोभित्र फसेका मानिसको खोजीलाई थप व्यापक बनाउने प्रयास भइरहेको छ । तर प्रभावित क्षेत्रमा अझै जोखिमपूर्ण अवस्था कायम रहेकाले उद्धार टोलीले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेका छन् ।

उद्धारकर्मीले जमिनमुनि रहेका संरचना तथा सम्भावित जोखिम पत्ता लगाउन ग्राउन्ड राडारको प्रयोग गरिरहेका छन् । हवाई सर्वेक्षणमार्फत पहाडी भिरालो भागको अवस्था, जमिनको अस्थिरता तथा सम्भावित थप पहिरोको जोखिमसमेत निगरानी भइरहेको छ ।

अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन विज्ञहरूले यो उद्धार अभियानलाई असाधारण रूपमा कठिन भएको बताएका छन् । उनीहरूका अनुसार हिमनदीसँग सम्बन्धित ठूलो हिलोपहिरोले सामान्य पहिरो वा बाढीभन्दा फरक किसिमका चुनौती सिर्जना गर्छ ।

अष्ट्रेलियाको चार्ल्स डार्विन विश्वविद्यालयमा मानवीय तथा विपद् आपत्कालीन व्यवस्थापनका विशेषज्ञ अखिलेश सुरजनले प्रभावित क्षेत्रमा खोजी कार्य निरन्तर र अत्यन्त सावधानीपूर्वक अघि बढाउनुपर्ने बताएका छन् ।

उनका अनुसार सीमापार फैलिएको यस्तो जटिल विपद्मा मानिस जीवित भेटिने सम्भावना रहुन्जेल खोजी अभियान जारी राख्नु मानवीय दृष्टिले आवश्यक हुन्छ । कुनै एक स्थानमा जीवित व्यक्ति फेला नपर्नुले अर्को स्थानमा बाँचेकाको सम्भावना समाप्त भएको निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ ।

उद्धारका क्रममा गरिने प्रत्येक निर्णयको मानवीय मात्र नभई कूटनीतिक प्रभावसमेत हुन सक्ने उनले बताएका छन् । चीन र नेपाल दुवै प्रभावित भएको यस्तो विपद्मा खोज तथा उद्धार अभियान सीमापार मानवीय सहकार्यसँग समेत जोडिने उनको भनाइ छ ।

लेदोमुनि के छ ? अनुमान गर्नै कठिन

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खोज तथा उद्धार सल्लाहकार समूहका पूर्व विश्वव्यापी प्रमुख विन्स्टन चाङले हिमनदीबाट उत्पन्न हिलोपहिरोको भौगोलिक प्रभाव अत्यन्त जटिल हुने बताएका छन् ।

उनका अनुसार शक्तिशाली हिमनदीजन्य हिलोपहिरोले भवन, सडक तथा अन्य संरचनालाई केही किलोमिटर तलसम्म बगाएर पुर्‍याउन सक्छ । यस क्रममा घटनाअघिको भू–दृश्य नै पूर्ण रूपमा परिवर्तन हुन सक्छ । त्यसैले उद्धारकर्मीले जमिनमुनि वास्तवमा के छ भन्ने अनुमान गर्न कठिन हुने चाङको भनाइ छ ।

गहिरो र तरल हिलो, चट्टानका टुक्रा तथा भग्नावशेषको मिश्रित तहभित्र मानिस वा संरचना कहाँ पुरिएको छ भन्ने यकिन गर्न चुनौतीपूर्ण हुन्छ ।

अस्थिर भूभागका कारण घटनास्थलमा उद्धार सामग्री तथा उपकरण परिचालन गर्नु नै ठूलो चुनौती बन्ने उनले बताए । यस्तो अवस्थालाई उनले उद्धार टोलीका लागि अत्यन्त जटिल रसद व्यवस्थापनको अवस्था भनेका छन् ।

चाङका अनुसार उद्धारकर्मीले प्रत्येक कदम चाल्दा विशेष सुरक्षा उपकरण प्रयोग गर्नुपर्छ । स्थायी एंकर पोइन्ट, सुरक्षा डोरीलगायतका उपकरण उद्धारका क्रममा अनिवार्य हुने र सम्पूर्ण अभियानमा उद्धारकर्मीको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उनले जोड दिएका छन् ।

उद्धार अभियान कठिन हुनुमा पहिरोले मात्रै समस्या सिर्जना गरेको छैन । प्रभावित क्षेत्रमा जारी वर्षा, कमजोर दृश्यता, अस्थिर पहाडी भिरालो भाग तथा बारम्बार उत्पन्न हुन सक्ने थप भौगोलिक जोखिमले उद्धार कार्यलाई अझ जटिल बनाएको विज्ञहरूको भनाइ छ ।

सुरजनका अनुसार यी सबै जोखिम एकैपटक उपस्थित हुँदा उद्धारकर्मी आफैं जोखिममा पर्न सक्छन् । पहाडको कुनै भाग अचानक खस्न सक्ने, थप हिलोपहिरो आउन सक्ने वा भारी वर्षाका कारण उद्धारस्थलको अवस्था फेरि बदलिन सक्ने भएकाले टोलीले अत्यन्त सावधानी अपनाउनुपर्छ ।

यसले खोजी अभियानलाई अपेक्षाकृत ढिलो बनाउने भए पनि उद्धारकर्मीको सुरक्षालाई बेवास्ता गरेर काम अघि बढाउन नसकिने विज्ञहरूको भनाइ छ ।

पूर्वानुमान प्रणालीमाथि पनि प्रश्न

यस घटनाले तत्कालीन उद्धार चुनौती मात्र नभई भविष्यमा यस्ता विपद् रोकथाम तथा पूर्वानुमान गर्न विश्वव्यापी प्रणाली कति सक्षम छ भन्ने प्रश्नसमेत उठाएको छ ।

बुधबार प्रकाशित नेचर को एक अध्ययनले उच्च हिमाली क्षेत्रमा हुने यस्ता दुर्लभ तथा अचानक उत्पन्न हुने विपद्का लागि निगरानी र पूर्वानुमान प्रणालीलाई थप विकसित गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

अध्ययनअनुसार यो विपद् सामान्यतया बाढी वा पहिरो आउनुअघि देखिने संकेतका आधारमा अनुमान गर्न कठिन थियो । अत्यधिक वर्षा वा हिमतालको पानी बढ्दै जानेजस्ता सामान्य संकेतको सट्टा उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी र चट्टानको प्रणाली अचानक असफल हुँदा विपद् उत्पन्न भएको अध्ययनले उल्लेख गरेको छ ।

यसले परम्परागत विपद् पूर्वानुमान प्रणालीका सीमितता देखाएको विज्ञहरूको निष्कर्ष छ ।

अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयका भूभौतिकशास्त्री मनुचेहर शिरजाईले जलवायु परिवर्तनका कारण नयाँ किसिमका भौगोलिक जोखिम बढिरहेका बेला परम्परागत जमिनमा आधारित निगरानी प्रविधि पर्याप्त नहुन सक्ने बताएका छन् ।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा हिमनदी र चट्टानी भिरालो भाग अस्थिर बन्न थालेका प्रारम्भिक संकेतहरू परम्परागत निगरानी प्रणालीले सधैं पहिचान गर्न सक्दैनन् । त्यसैले अन्तरिक्षमा आधारित एकीकृत अवलोकन प्रणालीको आवश्यकता बढेकोमा उनले जोड दिएका छन् ।

नेचर मा प्रकाशित अध्ययनले क्षेत्रीय स्तरमा नियमित रूपमा उपग्रहबाट हिमनदी तथा चट्टानी भिरालो भागको विकृति र अस्थिरता निगरानी गर्ने प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गरेको छ ।

यस्तो प्रणालीले हिमनदी वा चट्टानको संरचनामा तीव्र परिवर्तन देखिएपछि त्यससम्बन्धी जानकारीलाई तत्कालै तल्लो क्षेत्रमा आउन सक्ने बाढी, हिमपहिरो वा अन्य जोखिमको मोडलिङसँग जोड्न सक्ने अध्ययनको सुझाव छ ।