उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको विनाशकारी बाढी तथा हिलोपहिरोले चीन–नेपाल सीमास्थित केरुङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्याएको ११ दिन बितिसकेको छ । भदौ १० मा तिब्बतको केरुङ बन्दरगाह क्षेत्रमा विपत्ति आएपछि अहिले त्यहाँ खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ ।
चिनियाँ उद्धार टोलीले क्षतिग्रस्त सडक, कठिन भौगोलिक अवस्था र अन्य अवरोध पार गर्दै बुधबार बिहान केरुङ बन्दरगाहसम्म पुग्ने एकमात्र स्थलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याएका छन् । सडक खुलेसँगै उद्धारकर्मी, राहत सामग्री, आवश्यक उपकरण तथा भारी मेसिनरी मुख्य प्रभावित क्षेत्रमा सडकमार्फत पुर्याउन सहज भएको छ ।
यससँगै भग्नावशेष र हिलोभित्र फसेका मानिसको खोजीलाई थप व्यापक बनाउने प्रयास भइरहेको छ । तर प्रभावित क्षेत्रमा अझै जोखिमपूर्ण अवस्था कायम रहेकाले उद्धार टोलीले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेका छन् ।
उद्धारकर्मीले जमिनमुनि रहेका संरचना तथा सम्भावित जोखिम पत्ता लगाउन ग्राउन्ड राडारको प्रयोग गरिरहेका छन् । हवाई सर्वेक्षणमार्फत पहाडी भिरालो भागको अवस्था, जमिनको अस्थिरता तथा सम्भावित थप पहिरोको जोखिमसमेत निगरानी भइरहेको छ ।
अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन विज्ञहरूले यो उद्धार अभियानलाई असाधारण रूपमा कठिन भएको बताएका छन् । उनीहरूका अनुसार हिमनदीसँग सम्बन्धित ठूलो हिलोपहिरोले सामान्य पहिरो वा बाढीभन्दा फरक किसिमका चुनौती सिर्जना गर्छ ।
अष्ट्रेलियाको चार्ल्स डार्विन विश्वविद्यालयमा मानवीय तथा विपद् आपत्कालीन व्यवस्थापनका विशेषज्ञ अखिलेश सुरजनले प्रभावित क्षेत्रमा खोजी कार्य निरन्तर र अत्यन्त सावधानीपूर्वक अघि बढाउनुपर्ने बताएका छन् ।
उनका अनुसार सीमापार फैलिएको यस्तो जटिल विपद्मा मानिस जीवित भेटिने सम्भावना रहुन्जेल खोजी अभियान जारी राख्नु मानवीय दृष्टिले आवश्यक हुन्छ । कुनै एक स्थानमा जीवित व्यक्ति फेला नपर्नुले अर्को स्थानमा बाँचेकाको सम्भावना समाप्त भएको निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ ।
उद्धारका क्रममा गरिने प्रत्येक निर्णयको मानवीय मात्र नभई कूटनीतिक प्रभावसमेत हुन सक्ने उनले बताएका छन् । चीन र नेपाल दुवै प्रभावित भएको यस्तो विपद्मा खोज तथा उद्धार अभियान सीमापार मानवीय सहकार्यसँग समेत जोडिने उनको भनाइ छ ।
लेदोमुनि के छ ? अनुमान गर्नै कठिन
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खोज तथा उद्धार सल्लाहकार समूहका पूर्व विश्वव्यापी प्रमुख विन्स्टन चाङले हिमनदीबाट उत्पन्न हिलोपहिरोको भौगोलिक प्रभाव अत्यन्त जटिल हुने बताएका छन् ।
उनका अनुसार शक्तिशाली हिमनदीजन्य हिलोपहिरोले भवन, सडक तथा अन्य संरचनालाई केही किलोमिटर तलसम्म बगाएर पुर्याउन सक्छ । यस क्रममा घटनाअघिको भू–दृश्य नै पूर्ण रूपमा परिवर्तन हुन सक्छ । त्यसैले उद्धारकर्मीले जमिनमुनि वास्तवमा के छ भन्ने अनुमान गर्न कठिन हुने चाङको भनाइ छ ।
गहिरो र तरल हिलो, चट्टानका टुक्रा तथा भग्नावशेषको मिश्रित तहभित्र मानिस वा संरचना कहाँ पुरिएको छ भन्ने यकिन गर्न चुनौतीपूर्ण हुन्छ ।
अस्थिर भूभागका कारण घटनास्थलमा उद्धार सामग्री तथा उपकरण परिचालन गर्नु नै ठूलो चुनौती बन्ने उनले बताए । यस्तो अवस्थालाई उनले उद्धार टोलीका लागि अत्यन्त जटिल रसद व्यवस्थापनको अवस्था भनेका छन् ।
चाङका अनुसार उद्धारकर्मीले प्रत्येक कदम चाल्दा विशेष सुरक्षा उपकरण प्रयोग गर्नुपर्छ । स्थायी एंकर पोइन्ट, सुरक्षा डोरीलगायतका उपकरण उद्धारका क्रममा अनिवार्य हुने र सम्पूर्ण अभियानमा उद्धारकर्मीको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उनले जोड दिएका छन् ।
उद्धार अभियान कठिन हुनुमा पहिरोले मात्रै समस्या सिर्जना गरेको छैन । प्रभावित क्षेत्रमा जारी वर्षा, कमजोर दृश्यता, अस्थिर पहाडी भिरालो भाग तथा बारम्बार उत्पन्न हुन सक्ने थप भौगोलिक जोखिमले उद्धार कार्यलाई अझ जटिल बनाएको विज्ञहरूको भनाइ छ ।
सुरजनका अनुसार यी सबै जोखिम एकैपटक उपस्थित हुँदा उद्धारकर्मी आफैं जोखिममा पर्न सक्छन् । पहाडको कुनै भाग अचानक खस्न सक्ने, थप हिलोपहिरो आउन सक्ने वा भारी वर्षाका कारण उद्धारस्थलको अवस्था फेरि बदलिन सक्ने भएकाले टोलीले अत्यन्त सावधानी अपनाउनुपर्छ ।
यसले खोजी अभियानलाई अपेक्षाकृत ढिलो बनाउने भए पनि उद्धारकर्मीको सुरक्षालाई बेवास्ता गरेर काम अघि बढाउन नसकिने विज्ञहरूको भनाइ छ ।
पूर्वानुमान प्रणालीमाथि पनि प्रश्न
यस घटनाले तत्कालीन उद्धार चुनौती मात्र नभई भविष्यमा यस्ता विपद् रोकथाम तथा पूर्वानुमान गर्न विश्वव्यापी प्रणाली कति सक्षम छ भन्ने प्रश्नसमेत उठाएको छ ।
बुधबार प्रकाशित नेचर को एक अध्ययनले उच्च हिमाली क्षेत्रमा हुने यस्ता दुर्लभ तथा अचानक उत्पन्न हुने विपद्का लागि निगरानी र पूर्वानुमान प्रणालीलाई थप विकसित गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
अध्ययनअनुसार यो विपद् सामान्यतया बाढी वा पहिरो आउनुअघि देखिने संकेतका आधारमा अनुमान गर्न कठिन थियो । अत्यधिक वर्षा वा हिमतालको पानी बढ्दै जानेजस्ता सामान्य संकेतको सट्टा उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी र चट्टानको प्रणाली अचानक असफल हुँदा विपद् उत्पन्न भएको अध्ययनले उल्लेख गरेको छ ।
यसले परम्परागत विपद् पूर्वानुमान प्रणालीका सीमितता देखाएको विज्ञहरूको निष्कर्ष छ ।
अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयका भूभौतिकशास्त्री मनुचेहर शिरजाईले जलवायु परिवर्तनका कारण नयाँ किसिमका भौगोलिक जोखिम बढिरहेका बेला परम्परागत जमिनमा आधारित निगरानी प्रविधि पर्याप्त नहुन सक्ने बताएका छन् ।
उनका अनुसार उच्च हिमाली क्षेत्रमा हिमनदी र चट्टानी भिरालो भाग अस्थिर बन्न थालेका प्रारम्भिक संकेतहरू परम्परागत निगरानी प्रणालीले सधैं पहिचान गर्न सक्दैनन् । त्यसैले अन्तरिक्षमा आधारित एकीकृत अवलोकन प्रणालीको आवश्यकता बढेकोमा उनले जोड दिएका छन् ।
नेचर मा प्रकाशित अध्ययनले क्षेत्रीय स्तरमा नियमित रूपमा उपग्रहबाट हिमनदी तथा चट्टानी भिरालो भागको विकृति र अस्थिरता निगरानी गर्ने प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गरेको छ ।
यस्तो प्रणालीले हिमनदी वा चट्टानको संरचनामा तीव्र परिवर्तन देखिएपछि त्यससम्बन्धी जानकारीलाई तत्कालै तल्लो क्षेत्रमा आउन सक्ने बाढी, हिमपहिरो वा अन्य जोखिमको मोडलिङसँग जोड्न सक्ने अध्ययनको सुझाव छ ।