युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

आप्रवासन आप्रवासन

 

दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ । राष्ट्रपति ली जे म्युङले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धबन्दीको स्थानान्तरण सार्वजनिक गरेकोमा माफी नमागे थप कदम चाल्ने चेतावनी दिएका थिए । यद्यपि, युक्रेनले विवादका बाबजुद वार्ताका लागि तयार रहेको जनाएको छ ।

रुसको पक्षबाट युक्रेनविरुद्ध लड्न खटिएका ती दुई उत्तर कोरियाली सैनिकलाई सन् २०२५ को सुरुतिर युक्रेनले नियन्त्रणमा लिएको थियो । उनीहरूले स्वदेश फर्किएमा दुव्र्यवहार भोग्नुपर्ने आशङ्काले दक्षिण कोरियामा बसोबास गर्ने इच्छा व्यक्त गरेका थिए । दक्षिण कोरियाले उत्तर कोरियाबाट भागेर आउने नागरिकलाईआश्रय दिने नीति अपनाउँदै आएको छ ।

दक्षिण कोरियाले सैनिकहरूको स्थानान्तरण गोप्य राख्ने सहमति उल्लङ्घन गरेको आरोप युक्रेनमाथि लगाए पनि किएभले त्यस्तो सहमति भएको अस्वीकार गरेको छ । विश्लेषकहरूका अनुसार विवादले रुस र उत्तर कोरियाबीचको सैन्य सहकार्यबारे जानकारी प्राप्त गर्ने दक्षिण कोरियाको प्रयासमा असर पार्न सक्छ । दक्षिण कोरियाले सन् २०२२ देखि युक्रेनलाई ४४ करोड ५० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराएको छ । गत जुलाईमा राष्ट्रपति लीले युक्रेनलाई थप एक करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।