साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् ।
साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) का अनुसार मृत्यु हुनेमा चार साउदी नागरिक, दुई बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक नागरिक छन् । मृतक तीन जनाको राष्ट्रियता भने प्राधिकरणले उल्लेख गरेको विवरणमा खुलाइएको छैन ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।
आक्रमणबाट विमानस्थलका भौतिक संरचनामा समेत क्षति पुगेको छ । क्षतिको यकिन विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन् । घटनापछि सुरक्षा जाँच र क्षतिको मूल्यांकन गर्न विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको थियो ।
यसअघि बिहीबार पनि सोही विमानस्थलमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा तीन साउदी नागरिकको मृत्यु भएको थियो भने अन्य केही घाइते भएका थिए । पछिल्लो घटनाले विमानस्थलको सुरक्षा अवस्थाबारे थप चिन्ता बढाएको छ ।
हालसम्म घटनाबाट कोही पनि नेपाली प्रभावित भएको जानकारी नआएको रियादस्थित नेपाली दूतावासले रातोपाटीलाई जनाएको छ ।
त्यहाँ कार्यरत नेपालीका विषयमा थप बुझ्ने काम गरिरहेको पनि दूतावासले बताएको छ । साउदी अरबमा मात्र चार लाख माथि नेपाली आप्रवासी कामदार छन् भने किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा कति नेपालीले काम गरिरहेका छन् भन्ने ठोस तथ्याङ्क उपलव्ध छैन ।