दिप्केसहित सीजेपीका तीन नेता रिहा

आप्रवासन आप्रवासन

भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गर्न दिल्ली पुगेका कक्रोच जनता पार्टी (सीजेपी) का तीन नेता रिहा भएका छन् । कार्यकारी मजिस्ट्रेटको अदालतको आदेशपछि अभिजित दिप्के, सौरव दास र आशुतोष रांकालाई आइतबार रिहा गरिएको हो ।

सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले सामाजिक सञ्जाल एक्समार्फत तीनै जना रिहा भएको जानकारी दिएकी हुन् । दिल्ली प्रहरीले शनिबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई हिरासतमा लिएको थियो । त्यसपछि उनीहरूलाई दिल्ली क्यान्ट प्रहरी चौकीमा राखिएको थियो ।

तीनै जना मुख्य निर्वाचन आयुक्तविरुद्ध जन्तरमन्तरमा आयोजना गर्न लागिएको प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका थिए । सीजेपीले मतदाता सूचीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै ज्ञानेश कुमारको राजीनामा माग गरेको छ ।

सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको खबरको खण्डन

तीन नेता हिरासतमा रहेका बेला उनीहरूको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरिएको खबर सार्वजनिक भएको थियो । तर, सीजेपीकी कानुनी प्रमुख सिंहले उक्त निवेदन पार्टीका तर्फबाट दायर नगरिएको स्पष्ट पारेकी छन् ।

उनका अनुसार पार्टी सर्वोच्च अदालत जाने तयारीमा छैन र सीजेपीको कानुनी टोलीले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दायर गर्न स्वीकृति दिएको छैन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको निवेदनमा भारतीय संविधानको धारा ३२ अन्तर्गत हिरासतमा लिइएका व्यक्तिलाई अदालतमा उपस्थित गराउन र गैरकानुनी रूपमा थुनिएकालाई रिहा गर्न माग गरिएको थियो । तर, उक्त निवेदनसँग पार्टीको सम्बन्ध नरहेको सिंहले बताएकी छन् ।

फेरि जन्तरमन्तरतर्फ मार्च गर्ने घोषणा

सीजेपीका नेता अजिंक्य शिन्देले आइतबार पुनः प्रदर्शनकारीसहित जन्तरमन्तरतर्फ मार्च गर्ने घोषणा गरेका छन् । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने पार्टीको भनाइ छ ।

यसअघि मध्यरात युट्युबर ध्रुव राठीलाई पनि रिहा गरिएको थियो । प्रदर्शन रोक्न प्रहरीले दिल्लीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारेको थियो । प्रदर्शनमा सहभागी हुन खोज्ने विपक्षी नेताहरू र अन्य व्यक्तिलाई समेत हिरासतमा लिइएको थियो । कूल सात हजारभन्दा अधिक व्यक्तिलाई सुरक्षा बलले नियन्त्रणमा लिएको जनाइएको छ ।

तीन नेताको रिहाइपछि पनि प्रदर्शनलाई लिएर दिल्लीमा तनाव कायमै रहने सङ्केत देखिएको छ । सीजेपीले एसआईआर प्रक्रियामा भएको भनिएको अनियमिततामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगलाई जबाफदेही बनाउनुपर्ने माग गरेको छ ।