अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष दबाबपछि चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष र सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले सोमबार तत्काल लागू हुने गरी हुआङलाई पुनः नेतृत्वमा ल्याउने निर्णय गरेको हो।
हुआङले पदबाट राजीनामा दिएको दुई सातापछि कम्पनीले निर्णय उल्ट्याएको हो। उनको राजीनामा वैवाहिक सम्बन्धबाहिरका सम्बन्धबारे सार्वजनिक भएका रिपोर्ट र चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध हुन सक्ने आशंकामा विवादित बनेको थियो। अमेरिकी अधिकारीहरूले एक महिलामाथि चीनका लागि काम गरेको आशंका गरेका थिए। अर्की महिला कम्पनीकै आफूभन्दा तल्लो तहकी कर्मचारी रहेको बताइएको थियो।
एनभिडियाको सञ्चालक समितिले हुआङको पुनर्नियुक्ति कम्पनीका शेयरधनी, कर्मचारी, साझेदार र ग्राहकको हितमा रहेको जनाएको छ। यसअघि बोर्डले उनको राजीनामा सर्वसम्मतिले स्वीकृत गरेको र नयाँ सीईओ खोज्ने प्रक्रिया अघि बढाउने बताएको थियो। तर, एक साताभित्रै निर्णय उल्ट्याउँदै हुआङलाई पुनः नेतृत्वमा फर्काएको हो।
ट्रम्पले हुआङलाई पुनः सीईओ बनाउन एनभिडियाको सञ्चालक समितिसँग प्रत्यक्ष कुराकानी गरेको स्वीकार गरेका छन्। उनले सीएनबीसीसँगको कुराकानीमा हुआङ कम्पनीको नेतृत्वमा फर्कनुपर्ने विषयमा आफू निकै दृढ रहेको बताएका थिए।
ट्रम्पले हुआङसँग आइतबार राति पनि फोनमा कुराकानी गरेको बताए। हुआङले आफू पहिलेभन्दा अझ बढी मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेको ट्रम्पको भनाइ छ।
ट्रम्पले हुआङलाई असाधारण क्षमता भएका व्यक्ति भन्दै अमेरिकाले उनको प्रतिभा गुमाउन नहुने धारणा राखेका छन्। उनले हुआङ चीन पुगेमा त्यहाँका अधिकारीहरूले उनलाई आकर्षक प्रस्ताव गरेर आफ्नो प्रविधि कम्पनीको नेतृत्व दिन सक्ने आशंका पनि व्यक्त गरे।
ट्रम्पका अनुसार चीनले हुआङलाई आफ्नो प्रमुख प्रविधि कम्पनी हुवावे नेतृत्व गर्न प्रस्ताव गर्न सक्ने थियो। उनले चीनले हुआङलाई आफ्नो देशमा ल्याउन आवश्यक सबै सुविधा उपलब्ध गराउने सम्भावना रहेको बताए।
हुआङको पुनर्नियुक्ति उनको व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षा जोखिमसम्बन्धी विवादसँग जोडिएको छ। न्युयोर्क टाइम्स को रिपोर्टअनुसार हुआङसँग सम्बन्ध रहेको भनिएकी एलिस हुआङ चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीसँग एक वर्षभन्दा बढी समय सम्पर्कमा रहेको बताइएको छ। उक्त सम्पर्क हुआङसँगको सम्बन्ध कायम रहेका बेला पनि भएको रिपोर्टमा उल्लेख छ।
तर, ट्रम्पले उक्त विषयलाई ठूलो सुरक्षा जोखिमका रूपमा लिन अस्वीकार गरेका छन्। चीनसँग सम्पर्क हुनु मात्रै कसैलाई शंकास्पद बनाउने आधार नहुने उनको भनाइ छ। ट्रम्पले हुआङको प्रतिभा र क्षमताको तुलनामा उनलाई गुमाउनु अमेरिकाका लागि ठूलो जोखिम हुने तर्क गरेका छन्।
एनभिडियाले पुनः नियुक्ति गर्नुअघि अमेरिकी सरकारका उच्च अधिकारीहरूबाट यसले राष्ट्रिय सुरक्षामा जोखिम नपार्ने आश्वासन प्राप्त गरेको जनाएको छ।
हुआङको पुनर्नियुक्तिको घोषणापछि एनभिडियाको शेयर मूल्यमा ठूलो वृद्धि भएको छ। कम्पनीको शेयर करिब ३० प्रतिशतले बढेको समाचार आएको छ भने कारोबार सुरु भएको केही समयमै ३२ प्रतिशतसम्म उक्लिएको थियो।
यसले अमेरिकी शेयर बजारमा समेत उत्साह थपेको छ। प्रविधि कम्पनीहरूको कारोबार हुने नास्डाक सूचकांक ६.६ देखि ६.७ प्रतिशतसम्म बढेको थियो। एसएन्डपी ५०० सूचकांक करिब ४.६ देखि ४.७ प्रतिशत र डाउ जोन्स सूचकांक २.५ देखि २.७५ प्रतिशतसम्म बढेको रिपोर्टमा उल्लेख छ।
एनभिडियाको शेयर वृद्धिले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योगमा कम्पनीको महत्त्वपूर्ण भूमिकालाई पनि पुनः उजागर गरेको छ। एआई मोडेल विकास गर्ने कम्पनीदेखि क्लाउड कम्प्युटिङ सेवा प्रदायकसम्म धेरै व्यवसाय एनभिडियाका चिपमा निर्भर छन्।
एनभिडियाले एआई क्षेत्रमा लगानी गरेका कम्पनीहरूलाई आर्थिक सहयोग तथा स्रोत उपलब्ध गराउने र ती कम्पनीहरूले पुनः एनभिडियाका चिप तथा प्रविधि प्रयोग गर्ने प्रवृत्तिलाई ‘सर्कुलर फन्डिङ’ भनिन्छ। यसले एनभिडियालाई एआई उद्योगको वित्तीय तथा प्राविधिक केन्द्रका रूपमा स्थापित गरेको छ।
हुआङको पुनरागमनसँगै एनभिडियाको नेतृत्व विवाद तत्कालका लागि टुंगिएको छ। तर, उनको व्यक्तिगत सम्बन्ध, कम्पनीको आन्तरिक अनुपालन र चीनसँग जोडिएको सुरक्षा प्रश्नबारे अनुसन्धान तथा बहस भने जारी रहने देखिन्छ।