चीन र युरोपेली संघसहित १४ प्रमुख व्यापार साझेदारमाथि अमेरिकाको नयाँ भन्सार शुल्क घोषणा

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अगाडि बढाउँदै चीन, युरोपेली संघ (ईयू) र अन्य १२ प्रमुख व्यापार साझेदार मुलुकबाट आयात हुने सामानमा नयाँ भन्सार शुल्क (ट्यारिफ) घोषणा गरेका छन्। 

यस नयाँ करको दायरामा जापान, दक्षिण कोरिया, ताइवान, भारत, बंगलादेश, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड र भियतनाम जस्ता मुलुकहरू परेका छन्। 
प्रस्तावित योजनाअनुसार चीनले सबैभन्दा बढी अर्थात् ४० प्रतिशतसम्म भन्सार शुल्कको सामना गर्नुपर्नेछ। भियतनाममाथि ३५ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ भने अन्य मुलुकहरूले २० वा २५ प्रतिशतसम्मको शुल्क बेहोर्नुपर्नेछ। 

ट्रम्पले पहिले सहमत भएका केही सीमाका कारण कतिपय दरहरू व्यवहारमा केही कम हुन सक्ने बताइएको छ। यी नयाँ शुल्कहरू आगामी वर्षमात्र लागू हुने अपेक्षा गरिएको छ। लागू हुनुअघि यिनले सार्वजनिक परामर्श र आवश्यक परेमा सुनुवाइको चरण पार गर्नुपर्नेछ। 

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको यसअघिको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई अवैध ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चदेखि अन्य देशका व्यापारिक अभ्यासहरूमाथि अनुसन्धान सुरु गरेको थियो। अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) जेमिसन ग्रिरले प्रत्येक देशको व्यापारिक अभ्यासले अमेरिकी वाणिज्यमा पारेको असरबारे विस्तृत प्रतिवेदनसहित यो प्रस्ताव सार्वजनिक गरेका हुन्।

 उनका अनुसार दशकौँदेखि अमेरिकाका व्यापार साझेदारहरूले उत्पादनमा केन्द्रित हुने, ज्याला र श्रम दबाउने तथा बजारलाई विकृत पार्ने रणनीति अपनाएर अमेरिकी उत्पादन क्षेत्रलाई कमजोर बनाएका छन्। यी नयाँ शुल्कले अमेरिकी कामदारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउने र विश्व अर्थतन्त्रलाई दिगो मार्गमा लैजाने ग्रिरको दाबी छ ।

सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीकी अर्थशास्त्रकी प्राध्यापक चाङ पाओ-लीका अनुसार सन् २०२५ को अप्रिलमा आपत्कालीन राष्ट्रपतीय शक्ति प्रयोग गरी लगाइएको शुल्कको तुलनामा यसपटकको कदम अमेरिकी कानुनअन्तर्गत बलियो कानुनी आधारमा टेकेर चालिएको छ। यूएसटीआरको ‘सेक्सन ३०१’ अधिकार प्रयोग गरिएकाले कानुनी चुनौती आए पनि यस्ता शुल्कहरू कायमै रहने ऐतिहासिक नजिर रहेको उनले बताइन् । 

यता, क्यापिटल इकोनोमिक्सका प्रमुख उत्तर अमेरिका अर्थशास्त्री स्टेफन ब्राउनले भने यो घोषणा हेर्दा जति डरलाग्दो देखिए पनि व्यवहारमा त्यति नभएको टिप्पणी गरेका छन् । उनका अनुसार नयाँ शुल्कले गत ग्रीष्मयाममा घोषित शुल्कलाई प्रतिस्थापन मात्र गर्ने भएकाले मूल्यवृद्धिमा यसको असर सामान्य मात्र रहनेछ। यद्यपि, अन्य अर्थशास्त्रीहरूले आयातित वस्तुमा लाग्ने करको भार व्यवसायीले उपभोक्तामा सारेमा मुद्रास्फीति बढ्ने र विश्वव्यापी व्यापार खुम्चिने चेतावनी दिएका छन् ।

यसैबिच, अमेरिकाले छुट्टै अनुसन्धानअन्तर्गत ब्राजिलबाट आयात हुने चिनी र तयारी विमानमा १० प्रतिशत भन्सार शुल्क प्रस्ताव गरेको छ। डिजिटल व्यापारजस्ता नियम परिवर्तन गर्न दबाब दिने उद्देश्यले यो कदम चालिएको भन्दै ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको कार्यालयले यसको कडा विरोध गरेको छ । 

युरोपेली आयोगले पनि नयाँ शुल्क अस्वीकार गर्दै यसअघि सहमति भएको १५ प्रतिशतको सीमा स्मरण गराएको छ। भियतनामका उपप्रधानमन्त्री बुई थान्ह सोनले नयाँ दर दुई देशबीचको आर्थिक सहकार्यको यथार्थसँग मेल नखाने प्रतिक्रिया दिएका छन् । 

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी वेन्डी कटलरले धेरै साझेदार मुलुकहरूले अमेरिकी कारबाहीको निशाना आफूहरू नभई चीन हुनुपर्ने ठान्ने गरेको उल्लेख गरिन् । उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनले आफ्नो खपतभन्दा बढी उत्पादन गर्छ भन्ने अमेरिकी दाबी झूटो रहेको बताउँदै नयाँ शुल्कलाई ‘राजनीतिक हेरफेर’ को संज्ञा दिएका छन्।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको कमजोर नतिजाका बाबजुद ट्रम्पले व्यापार घाटा कम गर्ने र स्वदेशी रोजगारी बढाउने लक्ष्यसहित आफ्नो नीतिलाई निरन्तरता दिएका हुन्। गत साता ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भए पनि आगामी जनवरी १० मा सकिन लागेको व्यापार युद्धविरामबारे कुनै घोषणा नहुँदा विश्वका दुई ठुला अर्थतन्त्रबिच तनाव अझै बढ्ने देखिएको छ।