अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधीसहित खराब मौसम आउने पूर्वानुमानपछि न्युयोर्कमा आयोजना हुने ऐतिहासिक मेसीको थ्याङ्क्सगिभिङ डे परेड शनिबारका लागि सारिएको छ। यस वर्ष परेडको १००औँ संस्करण आयोजना हुँदैछ।
बिहीबार थ्याङ्क्सगिभिङका दिन परेड आयोजना गर्दा तीव्र हावा, भारी वर्षा र अन्य प्रतिकूल मौसमका कारण जोखिम हुन सक्ने भन्दै आयोजकले कार्यक्रम एक दिन पछि सारेका हुन्। अब परेड शनिबार बिहान ८:३० बजे (अमेरिकी पूर्वी समय) सुरु हुनेछ।
मौसमविद् एलिसन चिन्चरका अनुसार अहिले मिसिसिपी, अलाबामा र फ्लोरिडामा आँधीसहितको मौसम सक्रिय छ। ती प्रणाली साँझसम्म क्यारोलाइना राज्यतर्फ सर्ने र थ्याङ्क्सगिभिङ बिहान वासिङ्टन डीसी तथा बाल्टिमोर क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। साँझसम्म बोस्टन र मेन राज्यको पोर्टल्यान्डसम्म मौसम प्रणाली फैलिन सक्ने पूर्वानुमान छ।
पूर्वी तटीय क्षेत्रमा सुपरस्टर्म स्यान्डी (सन् २०१२) पछिकै उच्च समुद्री सतह देखिन सक्ने चेतावनी दिइएको छ। डेलावेयर र न्युजर्सीका केही क्षेत्रमा तीव्र हावाका कारण विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने जोखिम रहेको छ।
परेड सारिँदा सहभागीलाई समस्या
परेडमा सहभागी हुन केन्टकीबाट न्युयोर्क पुगेका विद्यार्थी, कलाकार र विभिन्न समूहलाई कार्यक्रम सारिँदा आवास तथा यात्रा व्यवस्थापनमा समस्या भएको छ।
केन्टकीस्थित नृत्य तथा जिम्न्यास्टिक प्रशिक्षण केन्द्रकी सञ्चालिका केटी ह्यारिसन आफ्ना किशोर उमेरका विद्यार्थीहरूसहित परेडमा सहभागी हुन न्युयोर्क पुगेकी थिइन्। उनीहरूको होटल बुकिङ शुक्रबारसम्म मात्रै भएकाले शनिबारसम्म बस्न होटलको व्यवस्था गर्न कठिन भएको उनले बताइन्।
उनका अनुसार विद्यार्थीहरूले चार वर्षदेखि परेडमा सहभागी हुने तयारी गरेका थिए र यसका लागि निकै मेहनत गरेका थिए।
परेडका कार्यकारी निर्माता विल कोसले सहभागी ब्यान्ड, प्रस्तुति समूह तथा कलाकारहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। कार्यक्रम पूर्वनिर्धारित स्वरूपमै आयोजना गर्न आफूहरू आशावादी रहेको उनको भनाइ छ।
यस वर्षको परेडमा केके पाल्मर, मेगन मोरोनी, रे, फेइड, स्म्यास माउथ, जोजो, टेडी स्विम्स र क्विन लतिफा लगायत कलाकारले प्रस्तुति दिने कार्यक्रम छ।
अमेरिकाका दुवै तटमा मौसमको प्रभाव
आँधी र खराब मौसमका कारण अमेरिकाको पश्चिमी तटमा पनि समुद्री बाढीको जोखिम बढेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को दक्षिणमा रहेको प्यासिफिका क्षेत्रमा शक्तिशाली समुद्री छालका कारण घाटको एक भाग भत्किएको छ। सान डिएगो आसपास समुद्री सतहले उच्च ज्वारका पुराना रेकर्डसमेत तोडेको बताइएको छ।
हवाई उडानमा पनि मौसमको प्रभाव देखिएको छ। बुधबारसम्म ४ हजारभन्दा बढी उडान ढिला भएका छन् भने ६२ वटा उडान रद्द भएका छन्। साउथवेस्ट र युनाइटेड एयरलाइन्सले उत्तरपूर्वी अमेरिकामा थप उडान अवरोध हुन सक्ने चेतावनी दिएका छन्।
यसैबीच, न्युयोर्कको लागार्डिया विमानस्थल नजिकै क्षेप्यास्त्र प्रक्षेपण गर्ने उपकरण रहेको सूचना आएपछि केही उडानको उडान प्रक्रिया अस्थायी रूपमा रोकिएको थियो। तर अनुसन्धानपछि उक्त सूचना विश्वसनीय नभएको पुष्टि भएको र विमानस्थलको सञ्चालन सामान्य अवस्थामा फर्किएको अधिकारीहरूले बताएका छन्।