रुस–युक्रेन युद्धमा परिवारका तीन सदस्य गुमाएकी बिबिसी पत्रकार अनास्तासिया ग्रिबानोभाले उनीहरूको मृत्युबारे अनुसन्धान गर्दा दुवै पक्षसँग जोडिएका घटनाक्रम, स्थानीयको भनाइ र प्रमाणहरू केलाएकी छन् । तर आफ्ना हजुरबुबा–हजुरआमाको मृत्यु कसले र कसरी गरायो भन्ने कुरा अझै पुष्टि हुन सकेको छैन ।
अनास्तासियाका परिवारका सदस्यहरू पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रस्थित डाच्ने गाउँमा बस्दै आएका थिए । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि उनका आमा र परिवारका अन्य सदस्यबीच युद्धलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएको थियो ।
अनास्तासियाकी आमा रुसको साइबेरियामा जन्मिएकी हुन् । युद्ध सुरु भएदेखि उनले रुसलाई समर्थन गर्दै आएकी थिइन् । डोनबास क्षेत्रका धेरै रुसी भाषी मानिसले पनि रुसलाई समर्थन गर्ने गरेको बताइन्छ । सन् २०१४ मा रुस समर्थित शक्तिहरूले डोनबासका ठूलो भूभाग कब्जा गरेपछि त्यहाँ रुसप्रतिको समर्थन बढेको थियो । रुसी सरकारी टेलिभिजनको प्रभावले पनि उनीहरूको धारणा बलियो बनेको बताइएको छ ।
अनास्तासिया भने युद्धबारे फरक धारणा राख्थिन् । यही कारण परिवारभित्र मतभेद बढ्दै गएको थियो । उनकी बहिनी साशा युद्ध सुरु हुँदा आफ्ना साना बच्चासहित मस्कोमा बस्दै थिइन् । उनले युद्धमा कुनै पक्ष नलिने बताएपछि अनास्तासिया उनीसँग पनि टाढिएकी थिइन् ।
बुबाको मृत्यु ड्रोन आक्रमणमा
गत वर्ष परिवारका सदस्य गुमाएको खबरले अनास्तासियाको जीवन बदलियो । उनकी आमाले सन्देश पठाउँदै हजुरबुबा, हजुरआमा र बुबा सबैको मृत्यु भएको जानकारी दिएकी थिइन् ।
उनका बुबा सेरेझा गाउँमै वृद्ध आमाबुबाको हेरचाह गर्न बसेका थिए । अनास्तासियले गाउँका एक व्यक्तिसँग सम्पर्क गरिन्, जसलाई उनले मिखा नाम दिएकी छन् । ती व्यक्ति बुबाको मृत्यु भएको दिन उनीसँगै रहेको बताइएको छ ।

मिखाका अनुसार सन् २०२५ जनवरी २६ मा उनले सेरेझालाई भेट्दा ड्रोनबाट चोट लागेको अवस्थामा पाएका थिए । सेरेझाले आफूलाई ड्रोनले चोट पुर्याएको बताउँदै प्राथमिक उपचार सामग्री ल्याइदिन आग्रह गरेका थिए ।
केही घण्टापछि मिखा पुनः उनलाई भेट्न जाँदा मृत अवस्थामा फेला पारेका थिए । त्यसपछि दुई अन्य गाउँलेको सहयोगमा उनको शव ग्रीनहाउसमा गाडिएको थियो ।
त्यस समयमा गाउँमा रुसी ड्रोनहरू लगातार आक्रमण गरिरहेका थिए । तर सेरेझाको मृत्यु गराउने ड्रोन कुन पक्षले सञ्चालन गरेको थियो भन्ने यकिन हुन सकेको छैन ।
हजुरबुबा–हजुरआमाको मृत्यु रहस्यमय
अनास्तासियाका हजुरबुबा र हजुरआमाको मृत्युबारे भने थप जटिल विवरण भेटिएका छन् । उनीहरूको घर ध्वस्त भएपछि दुवै अर्को घरमा सरेका थिए । गाउँकी एक महिलाका अनुसार जनवरी २०२५ को दोस्रो सातातिर रुसी सेना गाउँतर्फ अघि बढिरहेका थिए र युक्रेनी सेना गाउँको भित्री भागमा प्रवेश गरी घरका आँगन तथा गल्लीहरूमा लुकिरहेका थिए ।
ती महिलाले युक्रेनी सैनिकहरू आफ्नो घरमा प्रवेश गरेको, आफूलाई धम्की दिएको र हजुरबुबा–हजुरआमालाई भेट्न गएको बताएकी छन् । सैनिकहरूले आफूलाई पहिचान खुलाउने चिह्न नलगाएको तर युक्रेनी भाषा बोलेको उनको भनाइ छ ।
भोलिपल्ट उनी हजुरबुबा–हजुरआमाको घर पुगेकी थिइन् । घरको ढोका खुला थियो, तर ड्रोनको आवाजका कारण भित्र जान डराएकी थिइन् । पछि छिमेकीबाट उनीहरू मृत भेटिएको खबर पाएकी थिइन् ।
अर्की छिमेकी महिलाका अनुसार हजुरआमा ओछ्यानमा कम्बलले छोपिएको अवस्थामा र हजुरबुबा भुइँमा रगत जमेको अवस्थामा भेटिएका थिए । गाउँका केही मानिसले युक्रेनी सैनिकले उनीहरूको हत्या गरेको आशंका गरेका छन् । तर उनीहरूले प्रत्यक्ष हत्या भएको देखेका थिएनन् ।
प्रमाणले हत्यारा पुष्टि गर्न सकेन
अनास्तासियाले गाउँलेका बयान, सैन्य नक्सा, भूउपग्रह तस्बिर र अन्य विवरणको अध्ययन गरिन् । अनुसन्धानका क्रममा जनवरी २०२५ को अन्त्यतिर हजुरबुबा–हजुरआमाको घर रहेको सडक युक्रेनी सेनाको नियन्त्रणमा रहेको देखिएको थियो । तर त्यस समयमा युद्धको अग्रपंक्ति तीव्र गतिमा बदलिरहेको थियो ।

फरेन्सिक परीक्षणका अनुसार हजुरआमाको मृत्यु टाउकोमा विस्फोटक पदार्थबाट लागेको चोटका कारण भएको थियो । तर चोट कसरी लागेको थियो भन्ने खुलाउन सकिएन । हजुरबुबाको शरीरमा स्पष्ट चोटपटक देखिएको थिएन ।
युक्रेनी सेनाले पनि घटनाबारे कुनै प्रमाण नभएको र तीव्र युद्धका बेला आफ्ना सैनिक संलग्न भएको पुष्टि गर्न नसकेको जनाएको छ । रुसको रक्षा मन्त्रालय र लन्डनस्थित रुसी दूतावासले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन् ।
परिवारसँग पुनर्मिलन
अनुसन्धानका क्रममा अनास्तासिया आफ्नी बहिनी साशासँग पुनः नजिकिएकी छन् । करिब तीन वर्षपछि उनीहरू सर्बियाको बेलग्रेड विमानस्थलमा भेटिएका थिए । दुवैले परिवारका तस्बिर हेर्दै आँसु झारेका थिए ।
पछि उनीहरूले आमासँग पनि फोनमा कुरा गरे । युद्ध, परिवारको क्षति र राजनीतिक मतभेदले टुटेको सम्बन्ध पुनः जोड्ने प्रयास सुरु भएको अनास्तासियाले बताएकी छन् ।
उनका परिवारका शव अझै रुसको कब्जामा रहेको क्षेत्रमा छन् । उनीहरूले सम्मानपूर्वक अन्तिम संस्कार गर्न पाउने हो कि होइन भन्ने अनिश्चित छ ।
युद्धले परिवारका सदस्यको ज्यान मात्र लिएको छैन, उनीहरूबीचको सम्बन्ध पनि तोडेको छ । अनास्तासियाको अनुसन्धानले युद्धको मैदानमा मृत्युको सत्य पत्ता लगाउन कति कठिन हुन्छ भन्ने देखाएको छ । अझ त्यस्तो ठाउँमा जहाँ प्रत्यक्षदर्शी छैनन्, प्रमाण अपूर्ण छन् र युद्धकै कारण सत्यसम्म पुग्ने बाटो अवरुद्ध छ ।