संयुक्त अरब इमिरेट्स (युएई) मा पछिल्लो समय सडक दुर्घटनाको शृङ्खलाले भयावह रूप लिएको छ । फुजैराहमा १४ जनाको ज्यान जाने गरी भएको भयानक दुर्घटनाको पीडा सेलाउन नपाउँदै रास अल खैमाहमा अर्को ठुलो दुर्घटना भएको छ । नोभेम्बर १० देखि २४ सम्मका दुई साताभित्र भएका तीन छुट्टाछुट्टै ठूला दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने ५६ जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार मंगलबार बिहान रास अल खैमाहको दक्षिणी क्षेत्रमा पर्ने ‘अल वतान’ सडकमा ४१ जना यात्रु बोकेको बस सडक छेउमा यान्त्रिक खराबीका कारण रोकिएको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनालगत्तै रास अल खैमाह प्रहरीको खोज तथा उद्धार विभाग, अल मुनाई चौकी, हत्ता प्रहरी, दुबई एम्बुलेन्स तथा नागरिक सुरक्षा टोली परिचालन गरिएको थियो । युएई राष्ट्रिय एम्बुलेन्सका अनुसार घटनास्थलमै २६ जना घाइतेको प्राथमिक उपचार गरिएको थियो भने गम्भीर अवस्थाका १४ जनालाई अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा थप दुई जनाको मृत्यु भएपछि यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको रास अल खैमाह प्रहरीले पुष्टि गरेको छ ।
मृतकहरूको पूर्ण विवरण सार्वजनिक नगरिए तापनि दुबईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकसमेत हताहत भएको पुष्टि गरेको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि नोभेम्बर १२ मा फुजैराहस्थित शेख खलिफा बिन जायेद सडक (ई–८४) मा भएको भीषण दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । सडक मर्मत भइरहेको क्षेत्रमा एउटा ट्रक अनियन्त्रित भएर अन्य सवारीसाधनसँग ठोक्किँदा आगलागीसमेत भएको थियो । उक्त दुर्घटनामा १० जना इमिरेट्स नागरिक र ४ जना भारतीय नागरिक (परिवारसँग भ्रमणमा आएका १३ वर्षीय बालकसहित) ले ज्यान गुमाएका थिए ।
त्यस्तै, नोभेम्बर १० को मध्यरातमा पनि फुजैराह–खोर फक्कान सडकमा रोकिराखिएको ट्रकसँग कार ठोक्किँदा २८ वर्षीय इमिरेट्स पुरुष र १६ वर्षीय एक किशोरको मृत्यु भएको थियो ।
चालकलाई सतर्क रहन प्रहरीको अपिल
लगातार भएका यी दुर्घटनाहरूले युएईको सडक सुरक्षा व्यवस्थापनमा नयाँ चुनौती थपिदिएको छ । विशेषगरी सडकमा रोकिराखिएका सवारीसाधन, सडक मर्मत भइरहेका स्थान र तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा ठुलो मानवीय क्षति हुने गरेको देखिएको छ ।
रास अल खैमाह प्रहरी तथा युएईको आन्तरिक मन्त्रालयले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, प्रहरीले चालकहरूलाई सवारी चलाउँदा पूर्ण सतर्कता अपनाउन, सडकमा ध्यान केन्द्रित गर्न र दुर्घटनाबारे सामाजिक सञ्जालमा अपुष्ट सूचना वा अफवाह नफैलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।