एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

आप्रवासन आप्रवासन

अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार ओरालो लागेका छन् भने अमेरिकी फ्युचर्स र कच्चा तेलको मूल्यसमेत घटेको छ ।

ताइवानको ताइएक्स परिसूचक ५ प्रतिशतले घटेको छ । एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को सेयर ३।६ प्रतिशतले घट्दा चिप डिजाइन कम्पनी मिडियाटेकको सेयरमा १० प्रतिशतको गिरावट आएको छ ।

दक्षिण कोरियाको कोस्पी परिसूचक ६.२ प्रतिशतले घटेर ४ हजार ६९७.५१ अङ्कमा झरेको छ । सामसङ इलेक्ट्रोनिक्सको सेयर ९.९ प्रतिशत र एसके हाइनिक्सको सेयर ११.१ प्रतिशतले घटेको छ ।

जापानको निक्केई २२५ परिसूचक २.८ प्रतिशतले घटेर ५७ हजार ११.६२ अङ्कमा पुगेको छ । ओपनएआईमा लगानी गरेको सफ्टबैंक ग्रुपको सेयर १४.८ प्रतिशतले घटेको छ भने सेमिकन्डक्टर निर्माता किओक्सियाको सेयर १४.२ प्रतिशतले ओरालो लागेको छ ।

हङकङको हाङसेङ परिसूचक पनि ०।३ प्रतिशतले घटेर २२ हजार १५१।२८ अङ्कमा झरेको छ । त्यस्तै, चीनको साङ्घाई कम्पोजिट परिसूचक १।५ प्रतिशतले घटेर ३ हजार ४९४.७५ अङ्कमा पुगेको छ । यो एक वर्षभन्दा लामो अवधिकै न्यूनस्तर हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनसहित अन्य १५ व्यापारिक साझेदारमाथि थप भन्सार शुल्क लगाउने योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यसले विश्व व्यापार र लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ ।

अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २०० परिसूचक ०.४ प्रतिशतले घटेर ८ हजार ६९२.४० अङ्कमा झरेको छ । अस्ट्रेलियामा अक्टोबरको उपभोक्ता मूल्य सूचकांक वार्षिक रूपमा ४।९ प्रतिशत पुगेको छ, जुन बजारको अपेक्षाभन्दा बढी हो । यसले केन्द्रीय बैंकलाई ब्याजदर बढाउन दबाब पर्न सक्ने अनुमान गरिएको छ ।

यसको विपरीत भारतको सेन्सेक्स परिसूचक २.४ प्रतिशतले बढेको छ । यो पछिल्लो छ महिनाकै उच्च स्तर हो ।

अमेरिकी बजारमा मंगलबार एसएन्डपी ५०० परिसूचक ०.५ प्रतिशतले घट्दै पछिल्ला नौ कारोबार दिनमध्ये आठौँ पटक ओरालो लागेको थियो । नास्डाक कम्पोजिट १.५ प्रतिशतले घट्दा डाउ जोन्स इन्डस्ट्रियल एभरेज भने ०.९ प्रतिशतले बढेको थियो ।

एआई कम्पनीका सेयरमा देखिएको उतारचढावले विश्वव्यापी बजारमा लगानीकर्ताको अनिश्चितता बढाएको छ ।