अमेरिकी उपराष्ट्रपति जेडी भान्सको आसन्न भ्रमणले ग्रीनल्याण्ड र डेनमार्कमा राजनीतिक हलचल सिर्जना गरेको छ । कुनै निम्तो बिना हुन लागेको अमेरिकी भ्रमणले ग्रीनल्याण्डको विषयलाई लिएर अमेरिका कठोर रूपमा प्रस्तुत हुन खोजेको विश्लेषण समेत भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार डेनमार्कको स्वशासित टापु ग्रीनल्यान्ड अमेरिकाका लागि अत्यावश्यक भएको बताउँदै आएका छन् । ट्रम्पले जुनसुकै मूल्यमा ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने बताइरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीनल्याण्ड भ्रमण गर्ने तालिका सार्वजनिक भएको हो ।
विभिन्न कार्यक्रममा उपस्थिति सहित केही दिनको तालिका सार्वजनिक भए पनि डेनमार्क र ग्रीनल्याण्डको विरोध पछि भ्रमणलाई एक दिनमा सीमित बनाइएको छ । अब उपराष्ट्रपति भान्स उनकी श्रीमती उषा भान्सले उत्तर–पश्चिमी तटमा रहेको अमेरिकी पिटुफिक अन्तरिक्ष आधार शिविरको निरीक्षणका लागि ग्रीनल्याण्डमा एक दिन मात्र बिताउने छन् ।
डेनमार्क अन्तर्गतको स्वायत्त क्षेत्र ग्रीनल्याण्डका नेताहरूले अमेरिकी उपस्थिति बढ्दै जाँदा आफ्नो स्वायत्ततामा असर पर्ने आशङ्का व्यक्त गरेका छन् ।
अमेरिकी उपराष्ट्रपतिले ग्रीनल्याण्ड भ्रमण गर्ने खबर सार्वजनिक भएसँगै त्यहाँका केही राजनीतिक दलहरूले वैदेशिक हस्तक्षेपको सम्भावना भन्दै असन्तुष्टि जनाएका छन् । दुई सातअघि ग्रीनल्याण्डका प्रमुख राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ट्रम्पको ‘अस्वीकार्य व्यवहार’ को निन्दा गरेका थिए ।
प्रधानमन्त्री मुट बी एगेडेले ग्रीनल्याण्डबासीलाई अनादर नगर्न ट्रम्पलाई चेतावनी नै दिएका थिए । यस्तोमा अब अमेरिका र डेनमार्क, ग्रीनल्याण्डको सम्बन्ध बिग्रिने खतरा बढेको छ ।