उडुसले टोकेपछि क्वान्टासको रोम–पर्थ उडान रद्द

आप्रवासन आप्रवासन

अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक विमान सेवा क्वान्टासको इटालीबाट अस्ट्रेलिया आउने उडान विमानमा उडुस भेटिएपछि रद्द गरिएको छ। विमानका केही इकोनोमी क्लासका सिटमा उडुस भेटिएपछि शनिबारको रोम–पर्थ उडान रद्द गरी विमानलाई विशेष सरसफाइका लागि ग्राउन्डेड गरिएको हो।

बीबीसीका अनुसार, यसअघि शुक्रबार पर्थबाट रोमसम्मको करिब १७ घण्टाको उडानका क्रममा केही यात्रुले उडुसले टोकेको भन्दै गुनासो गरेका थिए। सिड्नी मर्निङ हेराल्डका अनुसार, उडुसले टोकेपछि यात्रुलाई चिलाउने समस्या कम गर्न एन्टिहिस्टामिन औषधि दिइएको थियो। तर, औषधिको मौज्दात सकिएको बताइएको छ।

घटनापछि बोइङ ७८७ ड्रीमलाइनर विमानलाई विस्तृत सरसफाइ गर्नुपर्ने भएपछि उडान रद्द गरिएको क्वान्टासका प्रवक्ताले बताएका छन्। विमानका केही इकोनोमी सिटमा समस्या पहिचान भएपछि इन्जिनियर तथा मर्मतसम्भार टोलीले विमानको गहिरो सरसफाइ गर्नुपर्ने अवस्था आएको कम्पनीले जनाएको छ।

उडान रद्द भएपछि क्वान्टासले प्रभावित यात्रुसँग माफी मागेको छ। कम्पनीका अनुसार, सबै प्रभावित यात्रुलाई बसोबासको व्यवस्था मिलाइएको थियो भने उनीहरूलाई निर्धारित उडान समयको ४८ घण्टाभित्र वैकल्पिक उडानमा पुनः बुकिङ गरिएको थियो।

उडुस साना, पखेटा नभएका परजीवी कीरा हुन्। यिनीहरू कपडा, फर्निचर, ओछ्यान तथा अन्य सामग्रीमा लुकेर बस्न सक्छन्। उडुसले टोकेपछि छालामा चिलाउने समस्या देखिन सक्छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार, यस्ता टोकाइले सामान्यतया गम्भीर स्वास्थ्य समस्या निम्त्याउँदैनन्। यद्यपि, उडुस हटाउन भने कठिन र खर्चिलो हुन सक्छ।

उडुस नियन्त्रण गर्न ओछ्यानका कपडा, लुगा र पर्दाजस्ता सामग्रीलाई उच्च तापक्रममा धुने तथा ड्रायरमा सुकाउने उपाय अपनाउन सकिन्छ। त्यस्तै, केही सामग्रीलाई प्लास्टिकको झोलामा राखेर तीनदेखि चार दिनसम्म फ्रिजरमा राख्न सकिने पनि एनएचएसले जनाएको छ।

यात्राका क्रममा उडुस भेटिएको यो पहिलो घटना भने होइन। दुई साताभन्दा कम समयअघि बेलायतमा साउथइस्टर्न रेल सेवाका केही रेल चालकले आफ्नो क्याबिनमा उडुस भेटेपछि केही रेल सेवा रद्द गर्नुपरेको थियो।

यसअघि सन् २०१७ मा बेलायती विमान सेवा ब्रिटिस एयरवेजले भ्यानकुभरबाट लन्डन यात्रा गरेका एक परिवारलाई उडुसले टोकेपछि माफी मागेको थियो। त्यस्तै, सन् २०२५ को जनवरीमा प्रकाशित न्युयोर्क टाइम्सको रिपोर्टमा टर्किस एयरलाइन्सका विमानमा पनि उडुस फैलिएका विभिन्न घटना उल्लेख गरिएको थियो। ती घटनामा समस्या समाधान गर्न विमान कम्पनीले पर्याप्त कदम नचालेको आरोपसमेत लगाइएको थियो।

क्वान्टासको पछिल्लो घटनाले लामो दूरीका हवाई यात्रामा यात्रुको सुविधा र विमानको सरसफाइ व्यवस्थापनलाई लिएर पुनः प्रश्न उठाएको छ।