जोगबनी नाकाको सुरक्षामा कडाइ,नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

आप्रवासन आप्रवासन

अब भारतबाट जोगबनी हुँदै नेपाल प्रवेश गर्ने नाकामा सुरक्षाव्यवस्था अत्यन्तै कडा पारिएको छ । मोरङ प्रशासनले सीमा सुरक्षा थप चुस्त बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न मङ्गलबारदेखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि अनिवार्य परिचयपत्र वा विश्वासिलो आधार पेस गर्नुपर्ने व्यवस्था कडाइसाथ लागु गरेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले केही दिनअघिदेखि सुरु गरिएको यो व्यवस्थालाई मङ्गलबारबाट नियमित रूपमा जाँच गरिने जानकारी दिनुभयो । सहायक प्रजिअ कोइरालाका अनुसार दुई देशको सिमानामा हुने अवैध घुसपैठ र गैरकानुनी गतिविधि नियन्त्रण गर्न यो प्रक्रिया थालिएको हो ।  सुरक्षाव्यवस्था थप व्यवस्थित बनाउन मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहितको टोलीले स्वयम् नाकामा उपस्थित भएर जाँचको अनुगमन गरेको थियो । नाकामा सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ भने सुरक्षा जाँचका लागि दुई वटा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ ।

विशेष गरी भारतको पश्चिम बङ्गालस्थित मालदह क्षेत्रमा रोहिङ्ग्या समुदायको बाक्लो बसोवास रहेको र त्यहाँको चुनावी नतिजापछि ती समुदायका व्यक्ति अन्यत्र बसाइँ सर्न थालेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोलकाताबाट जोगबनीसम्म साताको तीन दिन रेल आउने भएकाले ती दिनमा रोहिङ्ग्या नेपाल छिर्न सक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षाकर्मीले विशेष सतर्कता अपनाएको अनुमान गरिएको छ ।

सहायक प्रजिअ कोइरालाले सीमाक्षेत्रमा हुने अन्य अपराध न्युनीकरणका लागि पनि यो जाँच प्रभावकारी हुने बताउनुभयो । प्रशासनले भारततर्फ जाने वा नेपाल फर्कने सम्पूर्ण नेपालीलाई अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा बोक्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ । जाँचमा कडाइ गरिएपछि सीमाक्षेत्रमा हुने अनावश्यक घुसपैठ र आपराधिक गतिविधिमा कमी आउने विश्वास गरिएको छ ।  सुरक्षा कडाइका कारण दैनिक उपभोग्य वस्तुका लागि छिमेकी मुलुकका बजार जाने नेपाली उपभोक्तालाई भने खास फरक नपर्ने आश्वासन सुरक्षाकर्मीले दिएका छन् । यद्यपि परिचयपत्र भने साथमै बोकेर आवतजावत गर्न भनिएको छ ।