बालेनलाई डिफेण्डर दिने व्यापारीको ‘करेण्ट चाउचाउ’ खान अयोग्य ठहर, बजारबाट फिर्ता गर्न आदेश

संगम पहरी संगम पहरी

 प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई चुनावताका करोडौँ मूल्यको डिफेण्डर गाडी उपलब्ध गराउने व्यवसायी कमलकिशोर मालपानीसँग सम्बन्धित कम्पनीले उत्पादन गरेको लोकप्रिय ‘करेण्ट’ चाउचाउ खान अयोग्य फेला परेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा रहेको यशोदा फुड्स प्रालिले उत्पादन गर्ने पिरो करेण्ट चाउचाउमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड पूरा नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

विभागका अनुसार परीक्षणका क्रममा उक्त चाउचाउमा हुनुपर्ने “एक्सट्राक्टेड फ्याट भ्यालु” मापदण्डअनुसार नपाइएपछि सो उत्पादनलाई गुणस्तरहीन ठहर गरिएको हो। त्यसपछि विभागले सम्बन्धित ब्याचका सबै चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न र बिक्री–वितरण रोक्न आदेश दिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार बजारमा रहेका उक्त ब्याचका उत्पादन तुरुन्त फिर्ता गर्न र सोही ऐनको उपदफा ४ अनुसार बिक्री–वितरण नगर्न निर्देशन दिइएको विभागले सूचनामार्फत जनाएको छ।

करेण्ट चाउचाउ नेपालमा निकै लोकप्रिय स्न्याक्समध्ये एक मानिन्छ। विशेषगरी युवा पुस्तामाझ यसको माग उच्च रहेको छ। यस्तो अवस्थामा गुणस्तरहीन उत्पादन फेला परेपछि उपभोक्ताबीच चासो र चिन्ता बढेको छ।

यसैबीच, उक्त कम्पनीसँग जोडिएका व्यवसायी कमलकिशोर मालपानी यसअघि पनि चर्चामा आएका थिए। उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनताका प्रचारप्रसारका लागि बालेन शाहलाई करिब ८ करोड रुपैयाँ मूल्य पर्ने कालो डिफेण्डर गाडी उपलब्ध गराएका थिए। पछि उक्त गाडी राजस्व छलीमार्फत नेपाल भित्रिएको विषय सार्वजनिक भएपछि गाडी लुकाइएको चर्चा समेत भएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई उक्त ब्याच नम्बरको चाउचाउ प्रयोग नगर्न तथा बजारमा भेटिए जानकारी गराउन आग्रह गरेको छ।