म्यानमारको भूकम्पमा परी १८ नेपाली भाषीको मृत्यु

आप्रवासन आप्रवासन

म्यानमारस्थित नेपाली दूतावासले म्यानमारमा गएको भूकम्पपछि भौतिक संरचनाहरू भत्कँदा ज्यान गुमाउने नेपाली भाषीको सङ्ख्या १८ पुगेको पुष्टि गरेको छ ।

हाल भग्नावशेषमा थुप्रै पुरिएको र उद्धार कार्य जारी रहेकाले मृत्यु हुने नेपाली भाषीको सङ्ख्या अझ बढ्ने अनुमान छ । भूकम्पबाट बढी क्षति पुगेको मान्डले क्षेत्रमा मात्रै करिब ३५ हजार नेपाली मूलका बर्मेलीहरुको बसोबास छ ।

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा परी हालसम्म  १ हजार ६४४ जनाको मृत्यु भइसकेको म्यानमारको सेनाले जनाएको छ ।

घाइतेको सङ्ख्या ३ हजार ४०८ पुगेको छ भने अझै १३९ जना बेपत्ता रहेको सेनाले उल्लेख गरेको छ । तर अझै पनि पुरिएकाहरूलाई भग्नावशेषबाट निकाल्ने क्रम जारी रहेकाले मृतक र घाइतेको सङ्ख्या बढ्ने देखिन्छ ।

उता सोही भूकम्पको कडा धक्का थाइल्यान्डमा समेत महसुस भएको थियो । जसले गर्दा थाइल्यान्डको एक भवन भत्कँदा १७ जनाको मृत्यु भएको छ ।

यद्यपि, त्यहाँ सबै नेपाली सुरक्षित रहेका थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ ।