यात्रु नपाएपछि बुद्ध एयरले भरतपुर–पोखरा हवाई उडान बन्द

आप्रवासन आप्रवासन

नेपालका दुई प्रमुख पर्यटकीय गन्तव्य चितवन र पोखरालाई हवाईमार्गबाट जोड्दै आएको बुद्ध एयरको भरतपुर–पोखरा उडान सेवा बन्द भएको छ। यात्रु संख्या अत्यन्त न्यून हुन थालेपछि कम्पनीले विगत एक महिनादेखि उक्त उडान स्थगित गरेको जनाएको छ।

बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार पोखरा र भरतपुरबीच आउने–जाने यात्रु पर्याप्त नहुँदा नियमित उडान सञ्चालन आर्थिक रूपमा सम्भव नभएको हो। उनका अनुसार पछिल्लो समय हवाई भाडा महँगो हुनु, पोखरा–मुग्लिन सडकखण्डको अवस्था सुधारिनु तथा सडक यात्रा सहज बन्दै जानुले अधिकांश यात्रु सडकमार्गतर्फ आकर्षित भएका छन्।

‘केही समयसम्म घाटा सहेरै सेवा सञ्चालन गरियो, तर सधैं खाली जहाज उडाउन सम्भव भएन,’ बस्नेतले भने, ‘दुवै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई लक्षित गरेर उडान सुरु गरिएको थियो, तर अपेक्षाअनुसार यात्रु पाएनौँ।’

हाललाई नियमित उडान बन्द गरिए पनि विशेष समूह वा पर्यटक टोली भए चार्टर वा विशेष उडान गर्न सकिने बुद्ध एयरले जनाएको छ।

चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरूको आग्रहपछि बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि भरतपुर–पोखरा हवाई सेवा सुरु गरेको थियो। त्यतिबेला मुग्लिन–नारायणगढ तथा आँबुखैरेनी–पोखरा सडक विस्तारका कारण सडक यात्रा निकै कठिन बनेको थियो। सडक जाम, धुलो र जोखिमपूर्ण यात्राबाट बच्न धेरै यात्रु हवाई सेवा प्रयोग गर्ने गरेका थिए।

तर अहिले सडक स्तरोन्नति भएपछि भरतपुरबाट पोखरा निजी सवारीमा करिब साढे दुई घण्टा र सार्वजनिक सवारीमा तीन घण्टामै पुग्न सकिने अवस्था बनेको छ। सहज सडक पहुँचका कारण यात्रुहरूले सस्तो र सुविधाजनक विकल्पका रूपमा सडक यात्रा रोज्न थालेपछि हवाई सेवामा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्।

यो उडान बन्द भएसँगै चितवन र पोखराबीच हवाईमार्गबाट सीधा यात्रा गर्ने सुविधा अस्थायी रूपमा रोकिएको छ। पर्यटन क्षेत्रका व्यवसायीहरूले भने भविष्यमा पर्यटक आगमन बढे पुनः सेवा सञ्चालन हुने अपेक्षा गरेका छन्।