युक्रेनमाथि सन् २०२२ मा पूर्णस्तरको आक्रमण सुरु गरेयता करिब पाँच लाख रुसी सैनिक मारिएको बेलायतको गुप्तचर संस्था जीसीएचक्युले दाबी गरेको छ ।
यो तथ्याङ्क जीसीएचक्युकी निर्देशक एनी किस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा सार्वजनिक गरेकी हुन् । उनले बेलायतविरुद्ध देखा परिरहेका सुरक्षा चुनौतीहरू र तीसँग जुध्न आवश्यक कदमबारे पनि चर्चा गरिन् ।
उनले रुसले बेलायतको ‘अत्यावश्यक पूर्वाधार’ माथि निरन्तर निशाना साधिरहेको चेतावनी दिँदै बेलायत अहिले ‘गम्भीर मोड’ मा पुगेको बताइन् ।
उनले बेलायती भूमिमा भएका विभिन्न जासुसी षड्यन्त्र तथा हालै बेलायत र अन्य नेटो राष्ट्रविरुद्ध ‘बिना घोषणाको हाइब्रिड (बहुस्वरुपीय) युद्ध ’ सञ्चालन गरेको आरोप पनि क्रेमलिनमाथि लगाइन् ।
यद्यपि, मस्को र किएभ दुवैले नियमित रूपमा एकअर्काको क्षतिको अनुमान सार्वजनिक गर्दै आए पनि आफ्नै सैन्य क्षतिबारे विस्तृत विवरण दिन भने हिच्किचाएका छन् ।
फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले सन् २०२२ यता युक्रेनका ५५ हजार सैनिक मारिएको बताएका थिए । बीबीसी (रसिया)ले स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना तथा स्वयंसेवकहरूको समूहसँग मिलेर फेब्रुअरी २०२२ देखि रुसी पक्षको युद्धका क्षतिका अभिलेख राख्दै आएको छ । सरकारी प्रतिवेदन, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा नयाँ स्मारक र समाधिस्थलहरूको आधारमा मृत्यु पुष्टि भएका सैनिकहरूको नाम सूचीबद्ध गरिएको छ ।
बीबीसीले हालसम्म युक्रेनमा रुसी पक्षबाट लड्दा मारिएका २ लाख २३ हजार ५ सय ३९ सैनिक तथा अधिकृतहरूको नाम पुष्टि गरेको जनाएको छ । तर वास्तविक मृत्यु संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । सैन्य विज्ञहरूका अनुसार समाधिस्थल, युद्ध स्मारक र श्रद्धाञ्जली सूचनाको विश्लेषणले कुल मृतकको करिब ४५ देखि ६५ प्रतिशत मात्र प्रतिनिधित्व गर्न सक्छ ।
दोस्रो विश्वयुद्धका बेला कोड तोड्ने कार्यका लागि प्रसिद्ध ब्लेचली पार्कबाट सम्बोधन गर्दै किस्ट–बटलरले रुसले ‘अत्यावश्यक पूर्वाधार, लोकतान्त्रिक प्रक्रिया, र आपूर्ति शृङ्खला’ माथि आक्रमण गरिरहेको आरोप लगाइन् । क्रेम्लिनले भने यी आरोप अस्वीकार गरेको छ ।
किस्ट–बटलरले रुस र चीन दुवैले शान्तिपूर्ण तथा सैन्य प्रयोजनका लागि अन्तरिक्ष क्षेत्रमा ठुलो लगानी गरिरहेको चेतावनी पनि दिइन् ।
उनले जीसीएचक्यू साइबर आक्रमण रोक्न दिनरात खटिरहेको बताउँदै ‘गैर जिम्मेवार विध्वंस र हत्या प्रयास’ विरुद्ध पनि प्रतिकार गरिरहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘यस्तो आक्रामकता र अराजकताबिच जीसीएचक्युले गुप्तचर तथा रक्षा साझेदारहरूसँग मिलेर रुसी खतरालाई कमजोर बनाउन अथक प्रयास गरिरहेको छ ।’
यसअघि सन् २००६ मा पूर्व केजीबी अधिकारी अलेकज्याण्डर लितभिनेन्कोको लन्डनस्थित होटलमा चियामा रेडियोधर्मी पोलोनियम मिसाएर हत्या गरिएको घटनामा पनि क्रेमलिनमाथि आरोप लागेको थियो ।
त्यस्तै, सन् २०१८ मा पूर्व रुसी सैन्य गुप्तचर अधिकारी सेर्गेई स्क्रिपल माथि बेलायतमा ‘नोभिचोक’ नामक घातक स्नायु विष प्रयोग गरी हत्या प्रयास गरिएको आरोप पनि रुसमाथि लागेको थियो ।
युक्रेनमाथिको पूर्णस्तरीय आक्रमण र बेलायतद्वारा युक्रेनलाई निरन्तर दिइएको समर्थनपछि पछिल्ला वर्षहरूमा मस्कोले पश्चिमी राष्ट्रविरुद्ध ‘हाइब्रिड युद्ध’ सञ्चालन गरिरहेको आरोप लाग्दै आएको छ ।
आफ्नो सम्बोधनमा किस्ट–बटलरले भनिन्, ‘हामी युक्रेनको समर्थनमा दृढ रहँदा पुटिन युद्धमैदानमा पछाडि धकेलिँदै छन् ।’ किस्ट–बटलरका अनुसार, चीन अहिले विज्ञान तथा प्रविधिमा महाशक्ति बनेको छ र उसका गुप्तचर, साइबर तथा सैन्य निकायहरू अत्यन्त उन्नत क्षमताले सुसज्जित छन् ।
विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासबारे चर्चा गर्दै उनले बेलायत र उसका सहयोगी राष्ट्रहरूसँग आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि रहिरहन समय सीमित बन्दै गएको चेतावनी दिइन् । उनले भनिन्, ‘हाम्रो खुट्टामुनिको धरातल तीव्र गतिमा बदलिँदैछ । साइबर सुरक्षा सबै व्यवसायका लागि अत्यन्त महत्वपूर्ण प्राथमिकता हो ।’
उनले व्यवसायहरूलाई तत्काल साइबर सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसले ‘जीविकोपार्जन, ग्राहक तथा देशको अर्थतन्त्रको अग्रपंक्तिको सुरक्षा’ सुनिश्चित गर्ने बताइन् ।
किस्ट–बटलरका अनुसार, साइबर सुरक्षामा अगाडि रहिरहन प्रविधि उद्योग, शैक्षिक क्षेत्र र सर्वसाधारणसँगको सहकार्य अत्यावश्यक छ ।
जीसीएचक्यू अर्थात् ‘गभर्नमेन्ट कम्युनिकेशन्स हेडक्वार्टर्स’ बेलायतका तीन प्रमुख गुप्तचर संस्थामध्ये सबैभन्दा ठुलो संस्था हो । अन्य दुई संस्था एमआई ५ र एमआई ६ हुन् ।
इङ्ग्ल्यान्डको चेल्टेनहममा रहेको वृत्ताकार भवन ‘डोनट’ मा मुख्यालय रहेको जीसीएचक्यूले साइबर सुरक्षा तथा सञ्चार गुप्तचरमा विशेष ध्यान केन्द्रित गर्छ । अत्याधुनिक प्रविधिमा आधारित भएकाले यसले राष्ट्रिय गुप्तचर बजेटको ठुलो हिस्सा उपभोग गर्ने गर्छ ।