युक्रेन युद्धमा करिब पाँच लाख रुसी सैनिक मारिएको बेलायती गुप्तचर संस्थाको दाबी

आप्रवासन आप्रवासन

 

युक्रेनमाथि सन् २०२२ मा पूर्णस्तरको आक्रमण सुरु गरेयता करिब पाँच लाख रुसी सैनिक मारिएको बेलायतको गुप्तचर संस्था जीसीएचक्युले दाबी गरेको छ ।

यो तथ्याङ्क जीसीएचक्युकी निर्देशक एनी किस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा सार्वजनिक गरेकी हुन् । उनले बेलायतविरुद्ध देखा परिरहेका सुरक्षा चुनौतीहरू र तीसँग जुध्न आवश्यक कदमबारे पनि चर्चा गरिन् ।

उनले रुसले बेलायतको ‘अत्यावश्यक पूर्वाधार’ माथि निरन्तर निशाना साधिरहेको चेतावनी दिँदै बेलायत अहिले ‘गम्भीर मोड’ मा पुगेको बताइन् ।

उनले बेलायती भूमिमा भएका विभिन्न जासुसी षड्यन्त्र तथा हालै बेलायत र अन्य नेटो राष्ट्रविरुद्ध ‘बिना घोषणाको हाइब्रिड (बहुस्वरुपीय) युद्ध ’ सञ्चालन गरेको आरोप पनि क्रेमलिनमाथि लगाइन् ।

यद्यपि, मस्को र किएभ दुवैले नियमित रूपमा एकअर्काको क्षतिको अनुमान सार्वजनिक गर्दै आए पनि आफ्नै सैन्य क्षतिबारे विस्तृत विवरण दिन भने हिच्किचाएका छन् ।

फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले सन् २०२२ यता युक्रेनका ५५ हजार सैनिक मारिएको बताएका थिए । बीबीसी (रसिया)ले स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना तथा स्वयंसेवकहरूको समूहसँग मिलेर फेब्रुअरी २०२२ देखि रुसी पक्षको युद्धका क्षतिका अभिलेख राख्दै आएको छ । सरकारी प्रतिवेदन, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा नयाँ स्मारक र समाधिस्थलहरूको आधारमा मृत्यु पुष्टि भएका सैनिकहरूको नाम सूचीबद्ध गरिएको छ ।

बीबीसीले हालसम्म युक्रेनमा रुसी पक्षबाट लड्दा मारिएका २ लाख २३ हजार ५ सय ३९ सैनिक तथा अधिकृतहरूको नाम पुष्टि गरेको जनाएको छ । तर वास्तविक मृत्यु संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । सैन्य विज्ञहरूका अनुसार समाधिस्थल, युद्ध स्मारक र श्रद्धाञ्जली सूचनाको विश्लेषणले कुल मृतकको करिब ४५ देखि ६५ प्रतिशत मात्र प्रतिनिधित्व गर्न सक्छ ।

दोस्रो विश्वयुद्धका बेला कोड तोड्ने कार्यका लागि प्रसिद्ध ब्लेचली पार्कबाट सम्बोधन गर्दै किस्ट–बटलरले रुसले ‘अत्यावश्यक पूर्वाधार, लोकतान्त्रिक प्रक्रिया, र आपूर्ति शृङ्खला’ माथि आक्रमण गरिरहेको आरोप लगाइन् । क्रेम्लिनले भने यी आरोप अस्वीकार गरेको छ ।

किस्ट–बटलरले रुस र चीन दुवैले शान्तिपूर्ण तथा सैन्य प्रयोजनका लागि अन्तरिक्ष क्षेत्रमा ठुलो लगानी गरिरहेको चेतावनी पनि दिइन् ।

उनले जीसीएचक्यू साइबर आक्रमण रोक्न दिनरात खटिरहेको बताउँदै ‘गैर जिम्मेवार विध्वंस र हत्या प्रयास’ विरुद्ध पनि प्रतिकार गरिरहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘यस्तो आक्रामकता र अराजकताबिच जीसीएचक्युले गुप्तचर तथा रक्षा साझेदारहरूसँग मिलेर रुसी खतरालाई कमजोर बनाउन अथक प्रयास गरिरहेको छ ।’

यसअघि सन् २००६ मा पूर्व केजीबी अधिकारी अलेकज्याण्डर लितभिनेन्कोको लन्डनस्थित होटलमा चियामा रेडियोधर्मी पोलोनियम मिसाएर हत्या गरिएको घटनामा पनि क्रेमलिनमाथि आरोप लागेको थियो ।

त्यस्तै, सन् २०१८ मा पूर्व रुसी सैन्य गुप्तचर अधिकारी सेर्गेई स्क्रिपल माथि बेलायतमा ‘नोभिचोक’ नामक घातक स्नायु विष प्रयोग गरी हत्या प्रयास गरिएको आरोप पनि रुसमाथि लागेको थियो ।

युक्रेनमाथिको पूर्णस्तरीय आक्रमण र बेलायतद्वारा युक्रेनलाई निरन्तर दिइएको समर्थनपछि पछिल्ला वर्षहरूमा मस्कोले पश्चिमी राष्ट्रविरुद्ध ‘हाइब्रिड युद्ध’ सञ्चालन गरिरहेको आरोप लाग्दै आएको छ ।

आफ्नो सम्बोधनमा किस्ट–बटलरले भनिन्, ‘हामी युक्रेनको समर्थनमा दृढ रहँदा पुटिन युद्धमैदानमा पछाडि धकेलिँदै छन् ।’ किस्ट–बटलरका अनुसार, चीन अहिले विज्ञान तथा प्रविधिमा महाशक्ति बनेको छ र उसका गुप्तचर, साइबर तथा सैन्य निकायहरू अत्यन्त उन्नत क्षमताले सुसज्जित छन् ।

विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासबारे चर्चा गर्दै उनले बेलायत र उसका सहयोगी राष्ट्रहरूसँग आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि रहिरहन समय सीमित बन्दै गएको चेतावनी दिइन् । उनले भनिन्, ‘हाम्रो खुट्टामुनिको धरातल तीव्र गतिमा बदलिँदैछ । साइबर सुरक्षा सबै व्यवसायका लागि अत्यन्त महत्वपूर्ण प्राथमिकता हो ।’

उनले व्यवसायहरूलाई तत्काल साइबर सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसले ‘जीविकोपार्जन, ग्राहक तथा देशको अर्थतन्त्रको अग्रपंक्तिको सुरक्षा’ सुनिश्चित गर्ने बताइन् ।

किस्ट–बटलरका अनुसार, साइबर सुरक्षामा अगाडि रहिरहन प्रविधि उद्योग, शैक्षिक क्षेत्र र सर्वसाधारणसँगको सहकार्य अत्यावश्यक छ ।

जीसीएचक्यू अर्थात् ‘गभर्नमेन्ट कम्युनिकेशन्स हेडक्वार्टर्स’ बेलायतका तीन प्रमुख गुप्तचर संस्थामध्ये सबैभन्दा ठुलो संस्था हो । अन्य दुई संस्था एमआई ५ र एमआई ६ हुन् ।

इङ्ग्ल्यान्डको चेल्टेनहममा रहेको वृत्ताकार भवन ‘डोनट’ मा मुख्यालय रहेको जीसीएचक्यूले साइबर सुरक्षा तथा सञ्चार गुप्तचरमा विशेष ध्यान केन्द्रित गर्छ । अत्याधुनिक प्रविधिमा आधारित भएकाले यसले राष्ट्रिय गुप्तचर बजेटको ठुलो हिस्सा उपभोग गर्ने गर्छ ।