अस्ट्रियाको राजधानी भियनास्थित सङ्ग्रहालयबाट ६ सयभन्दा बढी हिरा जडित बहुमूल्य हार चोरी भएको छ । बिहीबार दिउँसो दुई जना व्यक्तिले भियनाको म्युजियम अफ एप्लाइड आट्र्स (एमएके)मा राखिएको उक्त हारको सिसाको डिस्प्ले केस फुटाएर चोरी गरेका हुन् ।
प्रहरीका अनुसार प्रदर्शनी हेर्न टिकट खरिद गरेर सङ्ग्रहालय छिरेका उनीहरूले प्लेटिनम र हिराले बनेको हार लिएर भागेका थिए । करिब २०० क्यारेटभन्दा बढी हिरा जडित उक्त हारको मूल्य ४० लाख अमेरिकी डलरभन्दा बढी रहेको अनुमान गरिएको छ ।
चोरी भएको हार पूर्वइजिप्टेली राजपरिवारका लागि डिजाइन गरिएको थियो । सन् १९३९ मा इजिप्टकी रानी नाज्लीले आफ्नी छोरी फव्जियाको विवाह तत्कालीन इरानका भावी शाह मोहम्मद रेजा पहलवीसँग हुँदा उक्त हार लगाएकी थिइन् । चर्चित फ्रान्सेली आभूषण कम्पनी भान क्लीफ एन्ड अर्पेल्सले डिजाइन गरेको हारलाई ‘सेतो आभूषणको उत्कृष्ट नमुना’का रूपमा वर्णन गरेको छ ।
भियना प्रहरीले चोरीमा संलग्न दुई सन्दिग्धको सुरक्षा क्यामेराबाट खिचिएको तस्बिर सार्वजनिक गर्दै उनीहरूको खोजीका लागि सर्वसाधारणसँग सहयोग मागेको छ । प्रहरीका अनुसार एक संदिग्धसँग वास्तविक हतियारजस्तो देखिने बन्दुकसमेत रहेको विश्वास गरिएको छ । हार चोरी गरेपछि उनीहरू भियना स्टाडपार्कतर्फ भागेका थिए । घटनाका क्रममा सङ्ग्रहालयका कर्मचारीले निर्धारित सुरक्षा प्रक्रिया पालना गरेका कारण कोही पनि घाइते नभएको सङ्ग्रहालयका महानिर्देशक लिली होलिनले बताएकी छन् । चोरीपछि बन्द गरिएको प्रदर्शनी शुक्रबार पुनः सञ्चालनमा आएको छ ।
पछिल्लो समय युरोपका सङ्ग्रहालयमा बहुमूल्य कलाकृति तथा गहनाको चोरी बढ्दै गएको छ । यसअघि पेरिसस्थित लुभ्र सङ्ग्रहालयबाट बहुमूल्य गहना चोरी भएको घटनाले पनि विश्वभर चर्चा पाएको थियो । युरोपोलले सङ्ग्रहालयमा हुने चोरीका घटनामा आपराधिक समूहहरू अझ आक्रामक र हिंसात्मक बन्दै गएको जनाएको छ ।