व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाए हदैसम्मको कारबाही गर्ने विभागको चेतावनी

आप्रवासन आप्रवासन

काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूले व्यक्तिगत श्रम स्वीकृति गराई कामदार विदेश पठाएमा हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ । 

विभागले  एक सूचना जारी गर्दै प्रचलित कानुन विपरीत कार्य नगर्न सचेत गराएको हो । विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३) मा इजाजतप्राप्त संस्थाहरूले व्यक्तिगत श्रम स्वीकृति गराई वैदेशिक रोजगारीमा कामदार पठाउन नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ । 

तर, ऐनको उक्त प्रावधान विपरीत केही संस्थाहरूले व्यक्तिगत श्रम स्वीकृतिमार्फत कामदार पठाउने गरेको विषयप्रति ध्यानाकर्षण गराउँदै विभागले त्यस्तो कार्य गरेको पाइएमा कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ ।

यस्तै, विभागले वैदेशिक रोजगारीका लागि युरोप लगायतका विभिन्न देशमा जाने तयारीमा रहेका सर्वसाधारणलाई समेत विशेष सावधानी अपनाउन आग्रह गरेको छ । 

म्यानपावर कम्पनीमार्फत विदेश जाँदा सम्बन्धित संस्थाले उक्त देशमा कामदार पठाउन विभागबाट पूर्व स्वीकृति लिएको छ वा छैन भन्ने यकिन गरेर मात्र प्रक्रिया अगाडि बढाउन विभागले अनुरोध गरेको छ ।

कुनै पनि म्यानपावर कम्पनी, संस्था, कन्सल्टेन्सी वा व्यक्तिले व्यक्तिगत श्रम स्वीकृति गराई विदेश पठाउने भनी वा त्यस्तो कार्य गरिदिने आश्वासनमा आर्थिक कारोबार गर्न खोजेमा तत्काल विभागमा जानकारी गराउन समेत सूचनामा भनिएको छ । विभागले सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता समेत जनाएको छ ।