माल्टा । युरोपेली देशहरूले विदेशी कामदारमाथि आप्रवासनसम्बन्धी नियम र आर्थिक दायित्व थप कडा बनाउँदै लगेका बेला माल्टाले पनि गैरयुरोपेली नागरिकलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध तथा शुल्क लागू गर्ने तयारी गरेको छ। सरकारले सार्वजनिक गरेको सन् २०२७ को बजेटमार्फत वर्क परमिट शुल्क बढाउने, सार्वजनिक यातायात र बाल हेरचाह सेवामा दिँदै आएको सुविधा सीमित गर्ने तथा विदेशी कामदारमाथि थप आर्थिक भार लगाउने प्रस्ताव गरेपछि माल्टामा आप्रवासी कामदारले विरोध प्रदर्शन गरेका छन्।
द इष्ट अफ्रिकनले नोभेम्बर २५, २०२६ मा प्रकाशित गरेको समाचारअनुसार, माल्टाको राजधानी भ्यालेटामा शुक्रबारदेखि अफ्रिकी तथा अन्य गैरयुरोपेली देशका नागरिकको प्रतिनिधित्व गर्ने आप्रवासी समूहहरूले सरकारको प्रस्तावविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरूले नयाँ व्यवस्थाले माल्टाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका विदेशी कामदारलाई आर्थिक रूपमा थप कमजोर बनाउने र देशमा बस्न तथा काम गर्न कठिन बनाउने बताएका छन्।
Malta News Agency – विदेशी कामदार लक्षित प्रस्तावविरुद्ध प्रदर्शन
प्रदर्शनकारीहरूले सरकारलाई प्रस्तावित व्यवस्था फिर्ता लिन माग गरेका छन्। उनीहरूले गैरयुरोपेली नागरिकमाथि मात्र थप शुल्क र सुविधा कटौतीको व्यवस्था गर्नु विभेदपूर्ण भएको भन्दै समान व्यवहारको माग गरेका छन्।
माल्टा सरकारले सन् २०२७ को बजेटमार्फत विदेशी कामदारको नयाँ वर्क परमिट आवेदन शुल्क ६०० युरोबाट बढाएर ८०० युरो पुर्याउने प्रस्ताव गरेको छ। यसका अतिरिक्त नयाँ आवेदन दिने तथा आफ्नो वर्क परमिट नवीकरण गर्ने गैरयुरोपेली कामदारले वार्षिक ४०० युरो पूर्वाधार योगदान शुल्कसमेत तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यसले गर्दा नयाँ रूपमा माल्टा जान चाहने विदेशी कामदारले वर्क परमिट आवेदनका लागि पहिलेभन्दा २०० युरो बढी तिर्नुपर्नेछ। त्यस्तै, पहिले नै माल्टामा कार्यरत रहेर आफ्नो परमिट नवीकरण गर्ने कामदारले पनि वार्षिक ४०० युरो थप आर्थिक दायित्व व्यहोर्नुपर्ने प्रस्ताव छ।
सरकारको प्रस्तावमा सार्वजनिक यातायात, बाल हेरचाह र निजी सवारीसाधन प्रयोगसँग सम्बन्धित सुविधामा समेत परिवर्तन गरिएको छ। माल्टामा पाँच वर्षभन्दा कम समयदेखि बसोबास गरिरहेका योग्य गैरयुरोपेली नागरिकले सार्वजनिक यातायात प्रयोग गर्दा मासिक ३३ युरो शुल्क तिर्नुपर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, पाँच वर्षको आवासीय अवधि पूरा नगरेका निश्चित परिवारलाई उपलब्ध हुँदै आएको निःशुल्क बाल हेरचाह सुविधा हटाउने प्रस्ताव गरिएको छ। माल्टाको सवारी चालक अनुमतिपत्र भएका निश्चित गैरयुरोपेली बासिन्दाले निजी सवारीसाधन प्रयोग गरेबापत मासिक करिब ८३ युरो बराबरको खर्चसमेत व्यहोर्नुपर्ने व्यवस्था प्रस्तावमा समावेश छ।
यसका अतिरिक्त हाल उपलब्ध १५० युरोको एटिपिकल वर्किङ आवर्स सुविधालाई पनि सीमित गर्ने प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थाअनुसार उक्त सुविधा माल्टाका नागरिक, युरोपेली संघका नागरिक र योग्य दीर्घकालीन आवासीय हैसियत प्राप्त व्यक्तिमा मात्र सीमित हुनेछ।
सरकारको प्रस्ताव सार्वजनिक भएपछि सयौँ विदेशी कामदार र उनीहरूका समर्थक सडकमा उत्रिएका छन्। प्रदर्शनको सुरुवात भ्यालेटामा प्रतीकात्मक मानव साङ्लो बनाएर गरिएको थियो। सहभागीहरूले हरियो रिबन, मैनबत्ती र मोबाइल फोनको उज्यालो प्रयोग गर्दै विदेशी कामदारप्रति ऐक्यबद्धता जनाएका थिए। त्यसपछि संसद् भवनबाहिर ठूलो प्रदर्शन तथा सांगीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। आयोजकहरूले हजारौँ मानिस सहभागी भएको दाबी गरेका छन्।
टीसीएन एलायन्स माल्टा, सोलिडार्जेता, मुभमेन्ट ग्राफिटी र टीसीएन युनाइटेडलगायत संस्थाले प्रदर्शनको नेतृत्व गरेका छन्। उनीहरूले विदेशी कामदारलाई देशको आर्थिक विकासमा योगदान गर्ने श्रमिकका रूपमा सम्मान गर्नुपर्ने र राष्ट्रियताका आधारमा सार्वजनिक सेवामा विभेद गर्न नहुने बताएका छन्।
स्वास्थ्य क्षेत्रमा काम गर्ने विदेशी नर्स पनि चिन्तित
माल्टाको स्वास्थ्य क्षेत्रमा कार्यरत विदेशी कामदारले पनि नयाँ प्रस्तावप्रति चिन्ता व्यक्त गरेका छन्। माल्टाको सार्वजनिक तथा निजी स्वास्थ्य क्षेत्रमा कार्यरत १ हजार २०० भन्दा बढी विदेशी नर्सले नयाँ बजेटले आफूहरूको आर्थिक अवस्थामाथि पार्ने प्रभावबारे चासो व्यक्त गरेका छन्।
माल्टा युनियन अफ मिडवाइभ्स एन्ड नर्सेसले केही विदेशी नर्सले नयाँ आर्थिक भारका कारण देश छाड्ने विषयमा समेत सोचिरहेको जनाएको छ। विदेशी नर्सले ठूलो संख्यामा देश छाडेमा स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुने र बिरामीले पाउने स्वास्थ्य सेवामा समेत असर पर्न सक्ने युनियनको चिन्ता छ।
त्यस्तै, १९९ जना प्राज्ञिक तथा शिक्षा क्षेत्रका पेसाकर्मीले पनि सरकारलाई विदेशी नागरिकमाथि लगाउन लागिएका नयाँ शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।
प्रदर्शनको नेतृत्व गरिरहेकी टीसीएन एलायन्स माल्टाकी प्रतिनिधि प्याट्रिसिया ग्राहमले विदेशी कामदारले लामो समयदेखि रोजगारी, आप्रवासन प्रक्रिया र कार्यस्थलमा विभेदसम्बन्धी समस्या भोग्दै आएको बताएकी छन्। सन् २००८ देखि माल्टामा बस्दै आएकी उनले विदेशी कामदारका व्यक्तिगत समस्या समाधान गरेर मात्र नहुने भन्दै समस्या सिर्जना गर्ने प्रणालीमै सुधार आवश्यक रहेको बताएकी छन्।
उनका अनुसार नयाँ बजेटका प्रस्तावले गैरयुरोपेली नागरिकमा असुरक्षा र चिन्ता थपेको छ। विदेशी कामदारले आवास, खाना, यातायात र अन्य आधारभूत आवश्यकतामै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले उनीहरूले आफ्नो कमाइ विदेश पठाएर मात्र अर्थतन्त्रमा योगदान नगरेको तर्क पनि उनले गरेकी छन्।
यस आन्दोलनलाई माल्टाका स्थानीय नागरिक तथा विभिन्न संस्थाले समेत समर्थन गरेका छन्। माल्टाको आर्चबिशप क्युरियाले विदेशी कामदारप्रति ऐक्यबद्धता जनाउँदै इच्छुक कर्मचारीलाई हरियो रिबन वितरण गरेको छ। संस्थाले यसलाई मानव मर्यादा र समावेशी समाजको पक्षमा गरिएको समर्थनका रूपमा व्याख्या गरेको छ।
सरकारको तर्क : विदेशी श्रमिकमाथिको निर्भरता घटाउने
सरकारले भने नयाँ व्यवस्थाको बचाउ गर्दै आएको छ। माल्टाका अर्थमन्त्री क्लाइड कारुआनाका अनुसार देशको अर्थतन्त्रलाई पुनर्संरचना गर्न र विदेशी श्रमिकमाथिको अत्यधिक निर्भरता घटाउन नयाँ व्यवस्था ल्याउन लागिएको हो।
उनले हालको जनसंख्या वृद्धिको प्रवृत्ति कायम रहेमा सन् २०४० सम्म माल्टाको जनसंख्या ८ लाख पुग्न सक्ने चेतावनी दिएका छन्। त्यसैले विदेशी कामदारको आगमन र उनीहरूमा निर्भर रोजगार प्रणालीलाई व्यवस्थित गर्नुपर्ने सरकारको तर्क छ।
माल्टा सन् २००४ देखि युरोपेली संघको सदस्य रहँदै आएको छ। पछिल्लो समय युरोपका विभिन्न देशले आप्रवासन नीति कडा बनाउने, विदेशी नागरिकको बसोबाससम्बन्धी मापदण्ड परिवर्तन गर्ने र केही आप्रवासीलाई तेस्रो देशमा पठाउने नीतिसमेत अघि बढाइरहेका छन्। यस्तो अवस्थामा माल्टाको नयाँ प्रस्तावलाई युरोपमा विदेशी कामदारप्रति कडा हुँदै गएको नीतिको अर्को उदाहरणका रूपमा हेरिएको छ।
यद्यपि, माल्टा सरकारले घोषणा गरेका सबै प्रस्ताव अन्तिम कानुन बनिसकेका छैनन्। तिनलाई कानुनी प्रक्रिया पूरा गरेर लागू गर्नुपर्नेछ। त्यसैले शुल्क र सुविधा कटौतीसम्बन्धी व्यवस्थामा अन्तिम निर्णय हुँदा केही परिवर्तन हुन सक्ने सम्भावना पनि छ।
नेपाली कामदारका लागि किन महत्वपूर्ण?
माल्टा नेपालीका लागि पनि युरोपमा रोजगारी खोज्ने एउटा गन्तव्य हो। विशेषगरी होटल, रेस्टुरेन्ट, निर्माण, सेवा तथा अन्य क्षेत्रमा रोजगारीका लागि जाने नेपालीले त्यहाँको आप्रवासन नीतिमा हुने परिवर्तनबारे जानकारी राख्न आवश्यक छ।
सरकारको प्रस्ताव कार्यान्वयन भएमा माल्टामा नयाँ रोजगारीका लागि जाने नेपालीले वर्क परमिट आवेदनमा बढी शुल्क तिर्नुपर्ने हुन सक्छ। त्यस्तै, त्यहाँ पहिले नै कार्यरत नेपालीले परमिट नवीकरण गर्दा वार्षिक ४०० युरो पूर्वाधार योगदान शुल्कको अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।
सार्वजनिक यातायात र बाल हेरचाह सुविधामा हुने परिवर्तनले माल्टामा परिवारसहित बसोबास गरिरहेका नेपालीलाई समेत असर पार्न सक्छ। विशेषगरी पाँच वर्षको आवासीय अवधि पूरा नगरेका कामदार र परिवारका लागि नयाँ व्यवस्था आर्थिक रूपमा चुनौतीपूर्ण हुन सक्ने देखिन्छ।
तर यी प्रस्ताव कानुनी रूपमा अन्तिम रूप नपाइसकेकाले माल्टा जाने तयारीमा रहेका नेपालीले तत्काल लागू भइसकेको नियमका रूपमा बुझ्नु हुँदैन। रोजगारीका लागि जाने निर्णय गर्नुअघि रोजगार सम्झौता, वर्क परमिटको शुल्क, नवीकरण प्रक्रिया र अन्य सम्भावित खर्चबारे सम्बन्धित आधिकारिक निकायबाट जानकारी लिनु आवश्यक छ।
मूल समाचार : Malta becomes latest test case for Europe's tougher stance on foreign workers