मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण रकम पठाइएको सक्कल फाइल फेला

आप्रवासन आप्रवासन

मलेसिया जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका नाममा सङ्कलन गरिएको रकम मलेसियाको बेस्टिनेट कम्पनीमा पठाइएको सम्बन्धी सक्कल फाइल फेला परेको छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको पहलमा गत मंसिर २ गते मन्त्रीस्तरीय निर्णयबाट उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा गठित कार्यदलले उक्त फाइल फेला पारेको हो ।

म्याक्रोटेक कम्पनीमार्फत मलेसियाको बेस्टिनेट कम्पनीमा रकम पठाइएको सम्बन्धमा आवश्यक कागजात तथा विवरण खोजी गर्ने जिम्मेवारी पाएको कार्यदलले मन्त्रालयका विभिन्न शाखामा रहेका अभिलेख तथा कागजातको अध्ययन र खोजबिन गरेको थियो ।

कार्यदलले दिनरात खटिएर सक्कल फाइल फेला पारेको र तोकिएको समयसीमाभन्दा अगावै आफ्नो जिम्मेवारी पूरा गरी फाइल हस्तान्तरण गरेको जनाएको छ ।

फेला परेको सक्कल फाइल थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको छ ।