भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन भएको छ । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार क्रस ब्रोडर पी–टू–पी सेवा सुरुवात गरेका हुन् ।
भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेन्स (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्सको प्रणालीबीच आबद्धता कायम गरी यो सम्झौता कार्यान्वयन गरिएको हो । यसले नेपाल र भारतमा गएर अस्थायी बसोबास गरी आयआर्जन गरिरहेका व्यक्तिलाई रकम पठाउन सहज हुनेछ ।
सन् २०२० मा नेपाल र भारतबीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता भएको थियो । तीन वर्षपछि यो सेवा कार्यान्वयनमा आएको हो । यो सम्झौतापछि नेपालमा बस्नेले भारतीय नागरिकले दैनिक १५ हजार भारु र मासिक २ लाख भारुको सीमामा बैंकबाट बैंकमा रकम पठाउन सक्नेछन् ।
भारत बस्ने नेपालीले भने प्रतिपटक दुई लाख भारूसम्म पठाउन सक्नेछन् । यो भारतीय रिजर्भ बैंकले तोकेको सीमा हो ।
अहिले नेपालबाट भारत जाने व्यक्तिले क्युआरमार्फत् भुक्तानी गर्ने व्यवस्था भने अझै सुरु भएको छैन । यसका लागि पी–टू–एम (पर्सन टू मर्चेन्ट) सेवाको सुरु हुनुपर्ने नेपाल क्लियरिङ हाउसका सीईओ निलेशसिंह प्रधान बताउँछन् ।
यो सम्झौतासँगै नेपालका बैंकहरुले यस्तो प्रणालीको सुरुवात गरिसकेका छन् । अहिले आधा दर्जन बैंकबाट यस्तो भुक्तानी सुरु भएको छ ।