ठमेलबाट पक्राउ परेका विदेशीको पेटबाट निकालियो डेढ किलो कोकिन

आप्रवासन आप्रवासन

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँबाट करिब १ किलो ५०० ग्राम अवैध लागु औषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा एक जना सेनेगलका पुरुष र दुई जना भारतीय महिला रहेका छन् ।

ब्युरोका अनुसार जेठ २६ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ मार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएका सेनेगलका ४३ वर्षीय नागरिक आमादु सारलाई शङ्कास्पद रूपमा निगरानीमा राखिएको थियो । उनलाई ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा सुरुमा उनको मुखबाट निलेर पेटभित्र लुकाई ल्याइएको १६ वटा प्लास्टिक कोटेड कोकिन क्याप्सुल फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा उनको पेटभित्र अन्य क्याप्सुलहरू समेत रहेको खुलेपछि प्रहरीले उनलाई अस्पताल भर्ना गराई चिकित्सकहरूको सहयोगमा थप ६० वटा क्याप्सुल निकालेको थियो । उनको पेटबाट निकालिएका जम्मा ७६ वटा क्याप्सुलभित्र कुल १ किलो ५०० ग्राम कोकिन फेला परेको ब्युरोले आज एक विज्ञप्ति निकालेर जनाएको छ । 

कोकिन बुझ्न आएका दुई भारतीय महिला पनि पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका सारमाथि थप अनुसन्धान गर्ने क्रममा उक्त कोकिन बुझ्न भारतको नयाँ दिल्लीबाट दुई महिला काठमाडौँ आएको खुलेको थियो । सोही सूचनाका आधारमा प्रहरीले जेठ ३१ अर्थात् आइतबार ठमेलस्थित सोही होटलबाट भारतको दक्षिण दिल्ली, खानपुर बस्ने ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूबाट एक थान राहदानी, भारतीय आधार कार्ड २ थान र ३ थान मोबाइल पनि बरामद गरेको जनाएको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका तीनै जना प्रतिवादीहरूमाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।