नेपाल र डेनमार्कबिचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मङ्गलबार सम्पन्न उक्त बैठकमा दुई देशबिचको आपसी सम्बन्ध, आर्थिक सहकार्य र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।
बैठकको सहअध्यक्षता नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र डेनमार्कको तर्फबाट त्यहाँको परराष्ट्र मन्त्रालयका एसिया, ओशिनिया, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका निर्देशक क्रिस्चियन टोबियास बायर टाइगेसनले गरेका थिए।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रलगायत विभिन्न मन्त्रालयका अधिकारीहरू सहभागी थिए भने डेनमार्कका तर्फबाट नेपालका लागि गैरआवासीय राजदूत रास्मुस एबिल्डगार्ड क्रिस्टेनसेन र नयाँदिल्लीस्थित डेनिस दूतावासका अन्य अधिकारीहरूको उपस्थिति थियो।
बैठकमा सन् १९६७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र डेनमार्कबिच रहिआएको न्यानो र मैत्रीपूर्ण सम्बन्धको समीक्षा गर्दै दुवै पक्षले सन्तुष्टि व्यक्त गरे।
उनीहरूले आगामी दिनमा द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धतासमेत जनाएका छन्। यसैगरी, दुवै देशले सन् २०२७ मा आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ विशेष रूपमा मनाउने सहमति गरेका छन्।
हालै मात्र दुवै देशमा चुनावपछि नयाँ सरकार गठन भएको सन्दर्भलाई जोड्दै दुवै पक्षले नयाँ राजनीतिक जनादेशले द्विपक्षीय सम्बन्ध सुधारमा भूमिका खेल्ने विश्वास व्यक्त गरे। सुशासन, पारदर्शिता, दिगो विकास र लोकतान्त्रिक मूल्यमान्यताप्रतिको साझा प्रतिबद्धतालाई आत्मसात् गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य बढाउन नयाँ ऊर्जा मिल्ने दुवै पक्षको बुझाइ छ।
छलफलका क्रममा नेपाली पक्षले सरकारले गरिरहेको आर्थिक सुधार र प्रत्यक्ष वैदेशिक लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्न चालिएका कदमहरूबारे जानकारी गराएको थियो। दुवै देशका प्रतिनिधिमण्डलबिच विशेषगरी स्वच्छ ऊर्जा, व्यापार तथा लगानी, पर्यटन, सूचना प्रविधि र डिजिटल नवप्रवर्तन (इनोभेसन) का क्षेत्रमा आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने अवसरहरूबारे विस्तृत छलफल भयो।
परामर्शका क्रममा नेपाल र डेनमार्कबिच जलवायु परिवर्तन, दिगो विकास लक्ष्यको प्राप्ति र बहुपक्षीय मञ्चहरूमा गरिने सहकार्यलगायत साझा चासोका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदानप्रदान भएको थियो।
बैठकपछि नेपाली प्रतिनिधिमण्डलका प्रमुख ढकालले डेनिस टोलीको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए। नेपाल र डेनमार्कबिच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारीपत्रमा सन् २०१८ जुन ११ मा हस्ताक्षर भएको थियो।