विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ

आप्रवासन आप्रवासन

 

युनिसेफको एक प्रतिवेदनअनुसार विश्वभरका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु प्रकोपबाट प्रभावित भइरहेका छन् । साथै हरित गृह ग्यास उत्सर्जनलाई तत्काल घटाइएन भने स्थिति अझ बिग्रिन सक्ने चेतावनी दिइएको छ ।

मङ्गलवार प्रकाशित उक्त प्रतिवेदनले जलवायु खतराहरूले बालबालिकामाथि बहुआयामिक जोखिम सिर्जना गरेको चेतावनी दिएको छ । विश्वका करिब आधा बालबालिका एकै पटक कम्तीमा तीन वटा जलवायु खतराको प्रभावमा रहेको उल्लेख गर्दै यसले उनीहरूको स्वास्थ्य, शिक्षा र जीवनरक्षामा जोखिम बढाएको बताएको छ ।

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भनिन्, ‘तातो लहर, वन डढेलो, खडेरी र बाढीको प्रभावले बालबालिकाको जीवन निरन्तर अस्तव्यस्त भइरहेको छ । अहिले विश्वका आधा बालबालिका कम्तीमा तीन ओटा एक अर्कासँग ओभरल्याप हुने जलवायु खतरासँग बाँचिरहेका छन्, जसले उनीहरूको दैनिक जीवनलाई प्रभावित पारिरहेको छ ।’

प्रतिवेदनले जलवायु परिवर्तनले निम्त्याइरहेका बढ्दो खतराहरूलाई उजागर गर्दै सरकार र व्यावसायिक नेतृत्वलाई नवीकरणीय ऊर्जातर्फको अभियानलाई तीव्र बनाउन आग्रह गरेको छ ।

युनिसेफको प्रतिवेदनअनुसार हाल १.८ अर्ब बालबालिका खडेरीको जोखिममा छन् भने १.२ अर्ब बालबालिका अत्यधिक गर्मीको प्रभावमा छन्, किनभने बढ्दो तापक्रमले विश्वको जलचक्रलाई अस्तव्यस्त बनाइरहेको छ ।

पश्चिमी युरोपका विभिन्न देशहरूले गत महिना रेकर्ड तोड्ने तातो लहरको अनुभव गरेका थिए, जसमा तापक्रम गर्मी याममा अपेक्षित स्तरभन्दा निकै माथि पुगेको थियो ।

युनिसेफले लगभग सबै बालबालिका वायु प्रदूषणको जोखिममा रहेको तथा १ अर्ब बालबालिका मलेरियाको जोखिममा रहेको पनि जनाएको छ ।

विश्वका वैज्ञानिकहरूले बारम्बार चेतावनी दिँदै आएका छन् कि जलवायु परिवर्तनका सबैभन्दा खराब असरहरूबाट बच्न औद्योगिक क्रान्तिपूर्वको स्तरभन्दा विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियस (२.७ फारेनहाइट) भन्दा बढी बढ्न दिनुहुँदैन ।

करिब २०० देशहरूले पेरिस सम्झौतामा हस्ताक्षर गरेका थिए, जसको लक्ष्य विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नु हो । उक्त सम्झौता नोभेम्बर २०१६ मा लागू भएको थियो ।

तर त्यसयता वैज्ञानिकहरूले बारम्बार यो लक्ष्य पूरा हुने सम्भावना कम हुँदै गएको चेतावनी दिँदै आएका छन् । जनवरीमा, राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि संयुक्त राज्य अमेरिका दोस्रो पटक पेरिस सम्झौताबाट औपचारिक रूपमा बाहिरिएको थियो ।