भारत-पाकिस्तान तनाव

के भारतले पाकिस्तानमा सैन्य हमला गर्दै छ ?

आप्रवासन आप्रवासन

गत अप्रिल २२ मा भारतको कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो । सो आक्रमणपश्चात् भारतमाथि आक्रमणको जवाफ दिन व्यापक दबाब छ ।यस्तोमा भारतले पाकिस्तानमा सैन्य हमला गर्दै छ भन्ने आङ्कलनहरू हुँदै आएको छ ।

तर पाकिस्तानका एक मन्त्रीको आजैको एक भनाइले भने सो अनुमान पुरा हुने कुरामा बल पुगेको छ ।

पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि सैन्य हमला गर्ने योजना बनाएको बताएका छन् । बुधबार गुप्तचर निकायबाट उक्त सूचना पाएको तरारले उल्लेख गरेका छन् । तरारले भारतबाट सैन्य कारबाही भए आफ्नो देशले त्यसको प्रतिकार गर्ने समेत बताएका छन् ।

तरारअघि पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले समेत भारतले केही दिनमा हमला गर्न सक्ने दाबी गरेका थिए। जसले गर्दा पाकिस्तानी सेनालाई चुस्त अवस्थामा राखिएको समेत आसिफले भन्न भ्याएका छन् ।

उता, मंगलबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगामको आक्रमणको जवाफ दिन भारतीय सेनालाई पूर्ण स्वतन्त्रता दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदीले सेना र सुरक्षा प्रमुखहरूसँग आतंकवादलाई ठुलो धक्का दिने भारतको राष्ट्रिय सङ्कल्प रहेको बताएको भनिएको छ।

पाकिस्तानका २ वरिष्ठ मन्त्रीहरूको अभिव्यक्ति र मोदीको योजनाबारे सञ्चार माध्यमहरूको रिर्पोटिङले भारत र पाकिस्तानबिच सैन्य भिडन्त हुने सम्भावना प्रबल रहेको देखाएको छ ।

यी २ देश बिच बढ्दो तनाव सैन्य हमलाको तहमा पुगे त्यहाँ रहेका नेपालीको सुरक्षा संवेदनशीलता बढ्ने छ । यसबाहेक, यी २ बिच भिडन्त भइहाले त्यसबाट नेपाल समेत अप्रभावित रहन सक्ने छैन ।