भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ । भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरिएको जनाएको हो ।
पाकिस्तान नियन्त्रित कश्मीरसँगै विभिन्न ९ स्थानमा आक्रमण गरिएको हो । हमलामा परी ३० जना पाकिस्तानी नागरिकको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यो हमलालाई भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको छ । गएको अप्रिलमा २२ मा भारतको जम्मु–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलाको १५ दिनपछि भारतले पाकिस्तानमाथि आक्रमण गरेको हो । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो र हमलालाई पाकिस्तानले सघाएको आरोप भारतले लगाउँदै आएको छ ।
भारतीय आक्रमणले पाकिस्तानको जनजीवन प्रभावित बनेको छ । पाकिस्तानको पन्जाब प्रदेशमा विद्यालयहरू बन्द गरेर परीक्षाहरू स्थगित गरिएका छन्।
उता, भारतीय आक्रमणलाई पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले निन्दनीय भन्दै भारतीय आक्रमणको निर्णायक जवाफ दिने बताएका छन् । शरिफले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाएका छन् । बैठकमा अहिलेको राष्ट्रिय सुरक्षाको अवस्था, भारत आक्रमणको समीक्षा र आक्रमणको जवाफबारे छलफल हुने बताइएको छ ।
यसैबिच कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा परी ३ भारतीय नागरिकको मृत्यु भएको छ ।
घटनाप्रति अमेरिका र अन्य देशहरूले प्रतिक्रिया जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई लाजमर्दो भन्दै लडाइँ चाँडै सकियोस् भनेर टिप्पणी गरेका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तान दुवैलाई संयमित हुन आह्वान गरेका छन् ।