भारत र पाकिस्तान बिचको तिक्तता चुलिएर आक्रमण र प्रत्याक्रमणको तहमा पुगेको छ । योसँगै दुई देश बिच सैन्य शक्तिका हिसाबले को बढी शक्तिशाली भनेर लेखाजोखा हुन सुरु भएको छ ।
दुवै देशसँग आणविक हतियार छ । यस कारण दुवै देश शक्ति केन्द्र हुन् ।
यसबाहेक, सैन्य शक्तिको हिसाबकिताब राख्ने ग्लोबल फायर पावरको इन्डेक्स अनुसार सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबिच केबल ८ स्थानको अन्तर छ।
सन् २०२५ मा १४५ देशहरूमध्ये सैन्य शक्तिको हिसाबले भारत चौथो स्थानमा छ । सैन्य हिसाबले भारत अमेरिका, रुस र चीनपछिकै सबैभन्दा शक्तिशाली देश हो।
भारतीय सेनासँग लगभग २२ लाख सैनिक छन् । ४ हजार २०१ ट्याङ्क, डेढ लाख बख्तर बन्द गाडी, एक सय सेल्फ प्रोपेल्ड आर्टिलरी र ३ हजार ९७५ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी छन्।
यसबाहेक, भारतसँग २६४ वटा मल्टी ब्यारल रकेट छन्। भारतीय वायुसेनासँग मात्रै ३ लाख १० हजार सैनिक एवं ५१३ लडाकु विमान छन् । पारवहनमा प्रयोग हुने २७० सहित कुल २ हजार २२९ वटा विमान छन्।
कुल विमानहरूमा १३० वटा हमलाकारी, ३५१ वटा प्रशिक्षणमा प्रयोग हुने र छ वटा ट्याङ्कर फ्लीट विमानहरू छन्। भारतीय सेनाका तीन वटै अङ्गसँग मिलाएर कुल ८९९ हेलिकप्टर छन्। तीमध्ये ८० वटा हमलामा प्रयोग हुने हेलिकप्टर छन्। भारतीय नौसेनामा १ लाख ४२ हजार नौसैनिक र दुई विमानवाहक युद्ध पोत छन् ।
यस्तै, १३ डिस्ट्रोअर, १४ फ्रिगेट्स, १८ पनडुब्बी र १८ कार्भेटसहित कुल २९३ वटा जहाजहरू छन्। त्यसबाहेक, भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल समेत छ।
उता, पाकिस्तान पनि सैन्य संरचनामा कमजोर छैन । सैन्य शक्तिका हिसाबले पाकिस्तान विश्वका १४५ देशमध्ये १२औँ स्थानमा छ।
पाकिस्तानी सेनामा १३ लाख सैनिक, १ लाख २४ हजार नौसैनिक र ७८ हजार वायुसेना छन्। पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रामक प्रकारका विमान र ६४ वटा यातायात विमान छन् ।
यस्तै, ५६५ ट्रेनर, ४ ट्याङ्कर फ्लीट र ५७ लडाकु हेलिकप्टरका गरी ३७३ हेलिकप्टरसहित कुल १ हजार ३९९ विमानहरू छन्। यस्तै, २ हजार ६२७ ट्याङ्क, ६६२ सेल्फ प्रोपेल्ड आर्टिलरी, २ हजार ६२९ बाह्य सहायताका भरमा चल्ने आर्टिलरी र ६०० वटा मल्टी ब्यारल रकेट छन्।
पाकिस्तानी नौसेनासँग नौ वटा फ्रिगेट, नौ वटा कर्भेट, आठ वटा पनडुब्बी र ६९ गस्ती गर्ने जहाज छन्।
यसबाहेक, पाकिस्तानसँग तीन वटा बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू समेत छन्। योसँगै २ लाख ६४ हजार किलोमिटर सडक र ११ दशमलव ९ हजार किलोमिटर रेलवे सञ्जाल समेत पाकिस्तानी सेनासँग छ।
यस्तोमा यी २ देशबिच पूर्ण युद्धमा पुगे त्यसले नेपालसहित दक्षिण एसिया नै अस्तव्यस्त बनाउन सक्दछ ।