अमेरिका र चीनबीचको व्यापारिक तनावले विगत केही वर्षयता विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ । पछिल्लो समय, यी दुई प्रमुख आर्थिक शक्तिहरूबीच एकअर्का माथि लगाइएको उच्च ट्यारिफ (कर) अस्थायी रूपमा कटौती गर्ने समझदारी भएको छ ।
अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टका अनुसार, अमेरिका र चीन दुवैले आगामी ९० दिनका लागि रेसिप्रोकल ट्याक्स ११५ प्रतिशतले घटाउने निर्णय गरेका छन् । यो समझदारी स्वीजरल्याण्डमा सम्पन्न वार्ताका क्रममा भएको हो ।
यसअघि अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनबाट आयात हुने सामग्रीमा १४५ प्रतिशतसम्म ट्यारिफ लगाइएको थियो । यसको जवाफमा चीनले पनि अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्मको कर लगाएको थियो ।
अब दुबै देशले यी ट्याक्सहरू ११५ प्रतिशतले घटाउनेछन्, जसले दुवै देशका व्यवसाय र उपभोक्तालाई राहत दिने अपेक्षा गरिएको छ । यो निर्णय प्रारम्भिक रूपमा ९० दिनका लागि लागू हुनेछ, जसलाई ट्रायल पीरियडको रूपमा लिइएको छ । यस अवधिमा दुबै देशले थप व्यापारिक सहकार्यको सम्भावना खोज्ने छन् ।
यस कदमले विश्वव्यापी वित्तीय बजारमा सकारात्मक संकेत पठाएको छ।
ट्यारिफ वारका कारण उत्पन्न अस्थिरता केही हदसम्म न्यून हुने आशा गरिएको छ । यो निर्णयले विश्वका अन्य मुलुकहरूलाई पनि राहत दिनेछ, किनभने अमेरिका र चीनबीचको व्यापार युद्धले आपूर्ति श्रृंखलामा बाधा पुर्याउँदै आएको थियो ।
साथै, तेलको मूल्य, सेयर बजार, र मुद्रा विनिमय दरमा समेत यसको असर परेको थियो। अब यी करहरूमा कटौती भएसँगै विश्व बजारमा स्थिरता आउने अपेक्षा गर्न सकिन्छ ।