नेपाली हज यात्री

१७५ नेपाली हज यात्री साउदी अरब पुगे

आप्रवासन आप्रवासन

सन् २०२५ को हज यात्राका लागि नेपालबाट पहिलो समूहमा १ सय ७५ जना तीर्थयात्री साउदी अरबको जेद्दाह पुगेका छन् । साउदी अरबस्थित नेपाली दूतावासले हज यात्री साउदी पुगेको जनाएको हो ।

नेपाल हज समितिका अध्यक्ष ईशमूल्ला मियाको नेतृत्वमा आएको टोली हज यात्रा प्रारम्भ गर्न साउदी अरब प्रवेश गरेको हो । यस वर्ष नेपालले १ हजार ७०० हज यात्रुको सरकारी कोटा पाएको छ ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपालबाट हज गर्न साउदी अरब सरकारकोतर्फबाट १७०० हज यात्रुको कोटा प्राप्त भएको छ । ती मध्ये १७५ जना पहिलो समूहमा साउदी अरब पुगेका हुन् ।

नेपालबाट बाँकी हज यात्रुहरू पनि चरणबद्ध साउदी पुग्ने छन् ।

यो वर्षको हजको विशेषता भनेको नेपालबाट साउदी अरब प्रवेश गर्ने प्रक्रिया पहिलो पटक जेद्दाहबाट सुरु हुनु हो । विगतमा नेपाली तीर्थयात्रीहरू मदीना हुँदै प्रवेश गर्ने गर्दथे । नेपाल हज समितिको नेतृत्वमा नेपाली राजदूतावास, रियाध तथा नेपाली महावाणिज्यदूतावास, जेद्दाहले हज यात्राको व्यवस्थापनमा आवश्यक तयारी तथा समन्वय गरिरहेको जनाएको छ ।