मलेसियाको समुद्री क्षेत्रमा प्रतिबन्धित इरानी तेलको ओसारपसार, गन्तव्य चीन भएको विज्ञको ठहर

आप्रवासन आप्रवासन

 

 गत शनिबार इरानी तेल ट्याङ्कर ‘ह्युमानिटी’ मलाक्का र सिंगापुरबीचको जलडमरू हुँदै मलेसियाको तटतर्फ अघि बढ्यो । त्यसपछि उक्त जहाज अचानक उत्तरपूर्वतर्फ मोडियो र आफ्नो स्वचालित पहिचान प्रणाली (एआईएस) बन्द गर्‍यो ।

स्याटेलाइट ट्र्याकिङ तथ्याङ्कअनुसार ३३० मिटर लामो कच्चा तेल बोकेको उक्त ट्याङ्कर मलेसियाको इस्टर्न आउटर पोर्ट लिमिट्स (ईओपीएल) क्षेत्रमा पुगेको थियो । दक्षिण चीन सागरमा रहेको यो करिब १,२०० वर्ग किलोमिटर क्षेत्र मलेसियाको तटबाट लगभग ७० किलोमिटर टाढा छ ।

समुद्री सुरक्षा विज्ञहरूका अनुसार ह्युमानिटीले प्रतीक्षामा रहेको एउटा विचौलया जहाजलाई जहाज–देखि–जहाज स्थानान्तरणमार्फत इरानी तेलको कार्गो हस्तान्तरण गर्ने तयारी गरिरहेका बेला आफ्नो एआईएस बन्द गरेको हुन सक्छ । उनीहरूका अनुसार उक्त तेलको अन्तिम गन्तव्य सम्भवतः चीन हो । अमेरिकी–चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोगका अनुसार चीनले ऐतिहासिक रूपमा इरानको कच्चा तेल निर्यातको करिब ९० प्रतिशत खरिद गर्दै आएको छ ।

विश्लेषकहरूका अनुसार दशकौँदेखि ईओपीएल इरान, रुस र भेनेजुएलाबाट आउने प्रतिबन्धित तेलको अनौपचारिक बजारका रूपमा प्रयोग हुँदै आएको छ । अहिले स्याटेलाइट तथ्याङ्कले इरानमाथि पाँच महिनादेखि जारी अमेरिका–इजरायल युद्ध र इरानी बन्दरगाहमाथि अमेरिकी नौसैनिक नाकाबन्दीका बाबजुद पनि ईओपीएलमा यस्तो गतिविधि जारी रहेको देखाएको छ । अमेरिकी नौसैनिक नाकाबन्दी अप्रिल १३ देखि जुन १८ सम्म चलेको थियो र जुलाई १४ देखि पुनः सुरु भएको थियो ।

स्ट्यानफोर्ड विश्वविद्यालयसँग आबद्ध समुद्री सुरक्षा निगरानी परियोजना ‘सीलाइट’का निर्देशक रे पावेलका अनुसार यस वर्षको सुरुदेखि उनले खाडी क्षेत्र, ईओपीएल, हङकङ हुँदै उत्तरी चीनतर्फ जाने क्रममा अनधिकृतसँग वा एआईएस बन्द गर्दै यात्रा गरेका ६२ वटा जहाज देखिएका छन् ।

कोलम्बिया विश्वविद्यालयको सेन्टर अन ग्लोबल इनर्जी पोलिसीकी वरिष्ठ अनुसन्धानकर्ता एरिका डाउन्सका अनुसार यी जहाजहरू चीनका स्वतन्त्र साना तेल प्रशोधन केन्द्र (टिपोट)मा इरानी तेल बिक्री गराउन सहयोग गर्ने विचौलियाकै सञ्जालका हिस्सा हुन् ।

उनले भनिन्, ‘इरानबाट चीन जाने कच्चा तेलको उत्पत्ति क्षेत्र लुकाउन अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाज–देखि–जहाजसम्म तेल स्थानान्तरण गरिन्छ । चीन पुग्नुअघि यस्तो स्थानान्तरण धेरै पटकसम्म हुन सक्छ ।’

चीनका सीएनपीसी, सिनोपेक र सीएनओओसीजस्ता ठूला सरकारी स्वामित्वका तेल कम्पनीको तुलनामा यी साना प्रशोधन केन्द्रहरू अमेरिकी वित्तीय प्रणालीसँग कम जोडिएका छन् । त्यसैले उनीहरू छुटमा उपलब्ध तर प्रतिबन्धित इरानी तेल खरिद गर्न बढी इच्छुक हुने डाउन्सले बताइन् ।

शान्त समुद्री क्षेत्र

मलेसियाको ईओपीएल क्षेत्रबाहिर रहेको समुद्री जहाज अड्याउने क्षेत्र अहिले पनि पहिलेझैँ अत्यन्त व्यस्त रहेको समुद्री सुरक्षा विज्ञ तथा योकोसुका काउन्सिल अन एसिया–प्यासिफिक स्टडिजका दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यक्रम निर्देशक चार्ली ब्राउनले बताउँछन् ।

उनका अनुसार युद्धअघि र द्वन्द्वका विभिन्न चरणमा पनि त्यहाँ जहाजहरू रोकिएर विभिन्न किसिमका गतिविधि, विशेषगरी जहाज–देखि–जहाज कार्गो स्थानान्तरण, गर्दै आएका थिए ।

 

हङकङको आकारजत्तिकै क्षेत्र रहेको ईओपीएलको एउटा प्रमुख फाइदा यहाँको शान्त समुद्री अवस्था हो । यो क्षेत्र सिंगापुर र मलेसियाका आपूर्तिकर्तासम्म सहजै पुग्न सकिने गरी नजिक छ, तर ऐतिहासिक रूपमा कानुनी अधिकार क्षेत्रका दृष्टिले अस्पष्ट क्षेत्रमा पर्ने गरी पर पनि छ ।

ईओपीएल मलेसियाको क्षेत्रीय जलक्षेत्रभन्दा बाहिर तर उसको विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्र पर्छ । ईईजेडले समुद्रमा प्रतिबन्धसम्बन्धी कानुनी पालना भन्दा माछा मार्ने अधिकार र प्राकृतिक स्रोतको दोहनजस्ता विषयलाई सम्बोधन गर्छ । मलेसियाको समुद्री प्रवर्तन निकायले यस क्षेत्र टाढा रहेको र ‘अधिकार क्षेत्रसम्बन्धी अस्पष्टता’ भएकाले निगरानी गर्न चुनौतीपूर्ण रहेको बताउँदै आएको छ ।

तर क्वालालम्पुरले आफ्नो कानुनी संयन्त्र बलियो बनाउन थालेको छ । जुनमा मलेसियाले विशेष आर्थिक क्षेत्रसम्बन्धी कानुन संशोधन गर्दै अवैध रूपमा जहाज अड्याउने, पुनःआपूर्ति गर्ने वा इन्धन भर्ने तथा सरकारी अनुमति बिना ईईजेडभित्र जहाज–देखि–जहाज कार्गो स्थानान्तरण गर्ने गतिविधिमाथि कडाइ गरेको थियो ।

ब्राउनका अनुसार जुनसुकै दिन पनि उक्त क्षेत्रमा करिब २०० वटासम्म जहाज अड्याएर राखिएका हुन सक्छन् । तीमध्ये करिब आधा जहाजको इरानसँग सम्बन्ध रहेको हुन सक्ने उनको भनाइ छ ।

स्याटेलाइट तथ्याङ्कअनुसार पछिल्लो एक महिनामा ह्युमानिटीसहित इरानी झन्डा बोकेका १८ वटा तेल ट्याङ्कर ईओपीएल क्षेत्रमा पुगेपछि ‘अदृश्य’ भएका थिए । अर्को इरानी तेल ट्याङ्कर ‘डोर’ बिहीबार मलाक्का जलडमरूमध्य हुँदै मध्यपूर्वतर्फ अघि बढिरहेको देखिएको थियो । उक्त जहाज हालै ईओपीएल क्षेत्रबाट निस्किएको हुन सक्ने अनुमान गरिएको छ ।

बिहीबार ईओपीएल क्षेत्रमा कम्तीमा ५० वटा अमेरिकी वा युरोपेली संघको प्रतिबन्धमा परेका जहाज पनि एआईएस संकेत प्रसारण गरिरहेका अवस्थामा देखिएका थिए । तीमध्ये तीनवटा इरानी झन्डा बोकेका कार्गो तथा कन्टेनर जहाज थिए । विज्ञहरूका अनुसार एआईएस बन्द गरेर ‘अदृश्य’ बनेका थप जहाजहरू पनि त्यस क्षेत्रमा हुन सक्छन् ।

अमेरिकी कानुनको लामो पहुँच

युरोपमा आधारित विश्वव्यापी पूर्वानुमान परामर्श संस्था जियोपोलिटिकल इन्टेलिजेन्स सर्भिसेजका अनुसार ईओपीएलमा जहाज–देखि–जहाज स्थानान्तरण गरिने इरानी तेलको बिक्रीमा चीनको क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टमले सहयोग पुर्‍याउँछ । यस प्रणालीमार्फत अमेरिकी निगरानीमा रहेको स्विफ्ट नेटवर्कबाहिर चिनियाँ युआनमा तेलको भुक्तानी गर्न सकिन्छ ।

चीनले आधिकारिक रूपमा इरानी तेल खरिद गर्ने कुरा स्वीकार गर्दैन । वासिङ्टनस्थित चिनियाँ दूतावासका एक प्रवक्ताले अल ईओपीएल हुँदै चीनमा इरानी तेल ओसारपसार हुने विषयबारे आफूहरू अनभिज्ञ रहेको बताए । चीनको विदेश मन्त्रालयले विगतमा पटक–पटक अमेरिकाले लगाउने ‘गैरकानुनी एकपक्षीय प्रतिबन्ध’ र अन्तर्राष्ट्रिय कानुनमा आधार नभएको ‘अधिकार क्षेत्र’ प्रयोगको विरोध गर्दै आएको छ ।

तर कोलम्बिया विश्वविद्यालयकी डाउन्सका अनुसार चिनियाँ भन्सार तथ्याङ्कले ईओपीएल हुँदै हुने तेलको उत्पत्ति र आवागमनबारे केही संकेत दिन्छ । उनले भनिन्, ‘गत वर्ष इरानले चीनलाई दैनिक करिब १४ लाख ब्यारेल तेल निर्यात गरेको थियो, तर चिनियाँ भन्सारले इरानबाट तेल आयात भएको कुनै विवरण सार्वजनिक गरेन । त्यही समयमा चिनियाँ भन्सार तथ्याङ्कले मलेसियाबाट चीनमा भएको तेल आयात केही समयमा मलेसियाको आफ्नै तेल उत्पादनभन्दा धेरै देखाउँछ । यसले केही कच्चा तेल अन्यत्रबाट आएको संकेत गर्छ ।’

उता, बेइजिङले आफ्ना घरेलु तेल प्रशोधन केन्द्रलाई अमेरिकी कानुनी प्रणालीबाट जोगाउन कदम चालेको छ । अमेरिकी अर्थ मन्त्रालयले अप्रिलको अन्त्यमा इरानी तेल खरिद गरेको भन्दै पाँचवटा तेल प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएपछि चीनको वाणिज्य मन्त्रालयले उक्त आदेशलाई ‘टक्कर दिँदै’ ती प्रतिबन्ध ‘अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मापदण्डविपरीत’ रहेको तथा ‘संयुक्त राष्ट्रसंघको स्वीकृति र अन्तर्राष्ट्रिय कानुनमा आधार नभएको’ जनाएको थियो ।

यसै साता अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल चीन पुर्‍याएको आरोपमा छ वटा तेल ट्याङ्कर तथा इरानको अघोषित स्वामित्वको जहाज ‘बेडा’सँग सम्बन्धित रहेको दाबी गरिएका चीन र हङकङमा दर्ता पाँचवटा कम्पनीमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । चीनले त्यसको अझै प्रतिक्रिया दिएको छैन ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार युद्ध सुरु भएयता चिनियाँ तेल प्रशोधन केन्द्रहरूले खरिद गर्ने इरानी कच्चा तेल करिब ४० प्रतिशतले घटेको छ । तर विज्ञहरूका अनुसार ईओपीएलजस्ता सञ्जालले बाँकी तेलको बिक्रीलाई निरन्तरता दिन सहयोग गरिरहेका छन् ।

वाईसीएपीएसका ब्राउनले भने, ‘प्रतिबन्धले यीमध्ये कुनै पनि गतिविधि रोक्न सकेन । प्रतिबन्धका कारण बजार संयन्त्र र भुक्तानी संयन्त्र विकसित भए, तर त्यसले केही पनि रोक्न सकेन ।’ उनका अनुसार, ‘इरानबाट चीनतर्फ तेल भौतिक रूपमा जान रोक्ने एउटै कदम भनेको नाकाबन्दी मात्र हो ।’