यूरोपका २१ देश सम्मिलित युरोजोनको अर्थतन्त्र अपेक्षा गरेभन्दा राम्रो दरले बढेको छ । कृत्रिम बौद्धिकता (एआई)मा बढेको लगानी, सरकारी खर्च तथा उपभोक्ताको बलियो खर्च गर्ने प्रवृत्तिका कारण सन् २०२६ को दोस्रो त्रैमासमा अर्थतन्त्र बढेको विश्लेषण गरिएको छ । हालै सार्वजनिक तथ्यांकअनुसार युरोजोनको त्रैमासिक कुल गार्हस्थ उत्पादन (जीडीपी) शून्य दशमलव ४ प्रतिशतले बढेको छ । सो अवधिमा अर्थतन्त्र शून्य दशमलव २ प्रतिशतले बढ्ने विश्लेषण गरिएको थियो ।
सो अवधमिा वार्षिक आर्थिक वृद्धि १ प्रतिशत पुगेको छ । यो पनि अनुमान गरिएको शून्य दशमलव ५ प्रतिशतभन्दा धेरै हो ।
यस अवधिमा जर्मनी, फ्रान्स, इटाली, स्पेन र नेदरल्यान्ड्स सबैले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेका छन् । तीमध्ये स्पेन सबैभन्दा धेरै शून्य दशमलव ७ प्रतिशतले बढेको छ । एआई क्षेत्रमा बढ्दो लगानी, उपभोक्ताको निरन्तर खर्च, सरकारी लगानी र ऊर्जा मूल्य उच्च रहे पनि औद्योगिक उत्पादनमा सुधारले आर्थिक वृद्धिलाई टेवा दिएका हुन् । साथै, आयरल्यान्डमा बहुराष्ट्रिय सूचना प्रविधि तथा सञ्चार कम्पनीहरूको गतिविधि बढ्दा त्यहाँको आर्थिक वृद्धिमा पनि उल्लेखनीय योगदान पुगेको छ ।
यद्यपि यो सुधार दीर्घकालीन नहुन सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । औद्योगिक उत्पादनमा आएको अस्थायी वृद्धि र आपूर्ति अवरोधको सम्भावनालाई ध्यानमा राख्दै गरिएको अग्रिम अर्डरजस्ता एकपटकका कारणले पनि वृद्धिदर बढेको हुन सक्ने उनीहरूको भनाइ छ ।
युरोजोनमा बेरोजगारी दर ६ दशमलव ३ प्रतिशतमा स्थिर रहेपनि पश्चिम एशियामा जारी द्वन्द्व, उच्च मुद्रास्फीति र चर्को ब्याजदरले आगामी महिनाहरूमा अर्थतन्त्रमा दबाब कायम रहने अपेक्षा गरिएको छ । विश्लेषकहरूले सन् २०२६ को दोस्रो अर्थवार्षिक अवधिमा आर्थिक वृद्धिको गति सुस्त हुन सक्ने र पूणै वार्षिक वृद्धि १ प्रतिशतभन्दा कम रहने अनुमान गरेका छन् ।