कुवेत सरकारले श्रमिकका गुनासा तथा श्रम कानुन उल्लंघनसम्बन्धी उजुरी दर्ता गर्ने प्रक्रियालाई डिजिटल बनाएको छ। कुवेतको सार्वजनिक श्रम प्राधिकरण (Public Authority for Manpower–PAM) ले ‘रिपोर्ट टु अस’ (Report To Us) नामक नयाँ सेवा सरकारी ‘साहेल’ (Sahel) एपमार्फत सञ्चालनमा ल्याएको हो। यो सेवाबाट श्रमिकले रोजगारदाताबाट हुने श्रम कानुन उल्लंघनका घटनाबारे सम्बन्धित निकायमा सिधै उजुरी दर्ता गर्न सक्नेछन्।
सार्वजनिक श्रम प्राधिकरणका अनुसार नयाँ डिजिटल सेवाको उद्देश्य श्रमिकका अधिकारको संरक्षण गर्दै सुरक्षित, न्यायपूर्ण र कानुनसम्मत कार्य वातावरण निर्माण गर्नु हो। अब श्रमिक वा कर्मचारीले श्रम कानुन उल्लंघन भएको महसुस गरेमा ‘साहेल’ एप प्रयोग गरी सार्वजनिक श्रम प्राधिकरणमा उजुरी पठाउन सक्नेछन्।
प्राधिकरणले यो सेवाले कार्यस्थलमा हुने श्रम कानुन उल्लंघनका घटनामा कमी ल्याउने, श्रमिकको गुनासोमा छिटो प्रतिक्रिया दिन सहयोग गर्ने, रोजगारदातालाई श्रम कानुन पालना गर्न थप जिम्मेवार बनाउने तथा कार्यस्थलमा कार्यरत सबै कर्मचारीको अधिकार संरक्षणलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
कुवेत सरकारले पछिल्ला महिनाहरूमा श्रम प्रशासनलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने अभियानलाई तीव्र बनाइरहेको छ। यसअघि पनि ‘साहेल’ एपमार्फत विभिन्न श्रमसम्बन्धी सेवाहरू उपलब्ध गराइएको थियो। अहिले थपिएको ‘रिपोर्ट टु अस’ सेवा विशेषगरी श्रमिकका गुनासा सम्बन्धित निकायसम्म छिटो पुर्याउने र श्रम विवाद समाधान प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो।
कुवेत नेपाली श्रमिकको प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक भएकाले यो व्यवस्था त्यहाँ कार्यरत हजारौं नेपालीका लागि पनि महत्वपूर्ण मानिएको छ। श्रम अधिकार उल्लंघन, कार्यस्थलमा हुने अन्याय वा रोजगारदाताबाट कानुनविपरीत व्यवहार भएको अवस्थामा अब सम्बन्धित श्रमिकले ‘साहेल’ एपमार्फत सरकारी निकायमा सिधै उजुरी दर्ता गर्न सक्नेछन्।