रेलमार्गले जोडिए अयोध्या र जनकपुरधाम, धार्मिक पर्यटनमा खुल्यो नयाँ ढोका

आप्रवासन आप्रवासन

जनकपुरधाम । भगवान् रामको जन्मभूमि भारतको अयोध्या र माता सीताको जन्मभूमि नेपालको जनकपुरधामलाई जोड्ने रेल सेवा मंगलबार बिहान जनकपुर आइपुगेको छ। लामो समयदेखि प्रतीक्षामा रहेको अयोध्या–जनकपुर रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुगेसँगै दुई धार्मिक सहरबिचको सहज आवागमनका साथै धार्मिक पर्यटन विस्तारको नयाँ सम्भावना खुलेको छ।

भारतको अयोध्याबाट ६०४ किलोमिटर दूरी पार गर्दै १९ घण्टाको यात्रापछि रेल मंगलबार बिहान ९:४० बजे जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेको हो। रेल जनकपुरधाम स्टेसनमा प्रवेश गरेसँगै स्वागतका लागि उपस्थित स्थानीयवासीले ‘जय श्रीराम’ र ‘सीताराम’ को जयघोष गर्दै यात्रु तथा रेलका चालक दलका सदस्यलाई भव्य स्वागत गरेका छन्। रेलबाट ओर्लिएका भारतीय तीर्थयात्रीलाई सयपत्री फूलको माला लगाएर स्वागत गरिएको थियो भने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रम, रोजगार तथा युवा मन्त्री रामजी यादवले संयुक्त रूपमा उनीहरूको स्वागत गरेका थिए।

अयोध्याबाट सिधै रेलमार्ग हुँदै जनकपुरधाम आइपुगेका तीर्थयात्रीको स्वागत गर्न बिहानैदेखि रेल्वे स्टेसन परिसरमा स्थानीयवासीको भीड लागेको थियो। ‘हाम्रो माता सीताको जन्मभूमि मिथिलामा यहाँहरूलाई स्वागत छ’ लेखिएको ब्यानर राखेर स्टेसन परिसरमा स्थानीयले भजनकीर्तनसमेत गरेका थिए। नेपाल रेल्वे कम्पनीले यात्रुको स्वागतका लागि स्टेसन परिसरमा विशेष पण्डाल निर्माण गरेको थियो। रेलबाट ओर्लिएका यात्रुलाई पण्डालमा राखेर खाजाका प्याकेट वितरण गरिएको थियो भने बटुकहरूले स्वस्तिवाचन गरी परम्परागत रूपमा स्वागत गरेका थिए। स्वागत समारोहमा मिथिलाको धार्मिक तथा सांस्कृतिक पहिचान झल्किने झाँकी र सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

रेलसँगै हवाईमार्ग र सीमा आवागमन सहज बनाउन मुख्यमन्त्रीको आग्रह

रेल सेवाको आगमनसँगै आयोजित स्वागत कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्याबाट सिधै जनकपुरधाम रेल आइपुग्नु ऐतिहासिक उपलब्धि भएको बताए। दुवै देशका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै उनले मिथिलावासीको लामो समयदेखिको चाहना पूरा भएको उल्लेख गरे। अब रेलमार्गसँगै जनकपुरधाम र अयोध्यालाई हवाईमार्गबाट समेत जोड्नुपर्नेमा उनको जोड थियो।

ayodhya-rail4

उनले भने, ‘म दुवै देशका प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु। मिथिलावासीको चाहना यहाँहरूले पूरा गरिदिनुभएको छ। अब जनकपुरधामदेखि अयोध्यासम्म हवाईमार्गको व्यवस्थापनमा समेत ध्यान दिन दुवै देशका प्रधानमन्त्रीसमक्ष आग्रह गर्दछु।’ केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधामको भ्रमण गरेपछि दुई धार्मिक सहरबिचको सम्बन्ध थप प्रगाढ बनेको उल्लेख गर्दै उनले त्यसैको परिणामस्वरूप रेल सेवा सञ्चालनसम्मको अवस्था आएको बताए।

मुख्यमन्त्री यादवले रेलमार्गबाट आउने तीर्थयात्रीलाई सहज भए पनि सडकमार्ग हुँदै भारतबाट नेपाल आउने पर्यटकले सीमा क्षेत्रमा भन्सार प्रक्रियाका कारण सास्ती खेप्नुपरेको बताए। उनले भारतीय पर्यटक बोकेर आउने बसलाई २४ घण्टासम्मका लागि भन्सार छुटको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरे। पर्यटक बोकेर आउने सवारीसाधनलाई अनावश्यक प्रक्रियामा अल्झाउन नहुने उनको भनाइ थियो।

उनले नेपाल–भारतबिचको सम्बन्धलाई ‘बेटी–रोटी’ को सम्बन्धका रूपमा व्याख्या गर्दै सीमावर्ती क्षेत्रका बासिन्दालाई समेत आवतजावतमा सहज वातावरण बनाउनुपर्नेमा जोड दिए। ‘नेपाल र भारतबिच बेटी–रोटीको सम्बन्ध छ। तर, मधेश र सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई एकअर्काको देशमा आउजाउ गर्न अहिले पनि कठिनाइ छ। विवाह, छेकालगायतका पारिवारिक तथा सामाजिक सम्बन्ध प्रभावित भइरहेका छन्। यसलाई सहज बनाउन दुवै देशले सहकार्य गर्नुपर्छ,’ उनले भने।

कार्यक्रममा संघीय श्रम, रोजगार तथा युवा मन्त्री रामजी यादवले अयोध्या र जनकपुरधामबिचको सम्बन्ध केवल दुई धार्मिक सहरबिचको सम्बन्ध नभई पारिवारिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध भएको बताए। त्रेतायुगमा भगवान् राम जनकपुरधाम आएर भगवान् शिवको धनुष भंग गरी माता सीतासँग विवाह गरेको धार्मिक मान्यताको स्मरण गर्दै उनले विवाहपछि राम जनकपुरका ज्वाइँ बनेको बताए। उनले भने, ‘माता सीतासँग विवाहपछि भगवान् राम जनकपुरको ज्वाइँ बन्नुभएको ऐतिहासिक मान्यता छ। त्यसैले यी दुई सहरबिचको सम्बन्ध केवल आवतजावतको सम्बन्ध होइन, परिवारबिचको सम्बन्ध हो। यो संस्कृति, परम्परा, आस्था, प्रेम र आत्मीयताको सम्बन्ध हो।’ उनले रेल सेवाले दुई देशका नागरिकबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

जानकी मन्दिर दर्शन गरेर अयोध्या फर्किए तीर्थयात्री

मंगलबार जनकपुरधाम आइपुगेको रेलमा करिब एक हजार भारतीय तीर्थयात्रीसँगै भारतीय रेल्वेका उच्च अधिकारी तथा सुरक्षाकर्मी पनि आएका थिए। रेलबाट आएका अधिकारीहरूमा भारतीय एडिसनल डिभिजनल रेल्वे म्यानेजर सन्नी सिन्हा, सिनियर डिभिजनल कमर्सियल म्यानेजर अमृतेश कुमार, डिभिजनल अपरेसन्स म्यानेजर अरविन्दु कुमारलगायत थिए।

जनकपुरधाम आइपुगेका तीर्थयात्रीलाई जानकी मन्दिर दर्शनका लागि स्थानीय प्रशासनले एक दर्जनभन्दा बढी बसको व्यवस्था गरेको थियो। तीर्थयात्रीलाई बसमार्फत जानकी मन्दिर पुर्‍याउन र मन्दिरको दर्शन तथा पूजाआजामा समेत विशेष व्यवस्था मिलाइएको थियो। दर्शनपछि स्टेसन फर्किएका उनीहरूलाई स्टेसन परिसरमै निःशुल्क भोजनको व्यवस्था गरिएको थियो। भोजनपछि सबै तीर्थयात्री पुनः सोही रेलबाट दिउँसो १ बजे अयोध्याका लागि फर्किएका छन्।

अर्को सातादेखि जनकपुरबाट अयोध्या हप्तामा एकपटक नियमित रेल सेवा सञ्चालन हुने

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले अर्को सातादेखि जनकपुरधाम र अयोध्याबिच नियमित रूपमा रेल सेवा सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए। उनका अनुसार यो रेल सेवाले जनकपुरधामलाई भारतको धार्मिक पर्यटन सञ्जालसँग जोड्नेछ। नियमित सेवा सुरु भएपछि अयोध्याबाट जनकपुरधाम आउने र जनकपुरधामबाट अयोध्या जाने यात्रुलाई रेलमार्गबाट यात्रा गर्न सहज हुनेछ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यममार्फत उक्त रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि सोमबार दिउँसो १२:३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल विभिन्न स्टेसन हुँदै मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो। ६०४ किलोमिटर लामो यात्राका क्रममा रेल भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै नेपाल प्रवेश गरेको थियो। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसन हुँदै रेल जनकपुरधाम आइपुगेको हो। जनकपुर आइपुगेको रेलमा १७ वटा डिब्बा रहेकोमा त्यसमा स्लिपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध थिए।

ayodhya-rail2

पर्यटकको बसाइ लम्ब्याउन चुनौती

अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनले जनकपुरधामको धार्मिक पर्यटन विस्तारका लागि नयाँ सम्भावना सिर्जना गरे पनि त्यसको लाभ स्थानीय अर्थतन्त्रसम्म पुर्‍याउनुपर्ने अर्को चुनौती थपिएको छ। अयोध्याबाट आउने पर्यटकलाई जानकी मन्दिर दर्शन गराएर केही घण्टामै फर्काउनुभन्दा जनकपुरधाम र आसपासका धार्मिक तथा पर्यटकीय गन्तव्यमा घुम्ने वातावरण बनाउनुपर्नेमा जनकपुर–४ का स्थानीय व्यवसायी रामदुलार मण्डलको जोड छ।

उनी भन्छन्, ‘जनकपुरधामबाट धनुषाधाम, जलेश्वर, मिथिला चित्रकलाका गाउँ, ऐतिहासिक पोखरी तथा मिथिलाको ग्रामीण जीवनशैलीसँग जोडिएका गन्तव्यसम्म पर्यटक पुर्‍याउन सके र उनीहरूको बसाइ अवधि बढाउन सके मात्रै स्थानीयवासी लाभान्वित हुन सक्छन्।’ त्यसका साथै होटल तथा अतिथि सत्कार सेवाको गुणस्तर, सरसफाइ, यातायात व्यवस्थापन, बहुभाषिक सूचना प्रणाली, पर्यटक सुरक्षालगायतका पक्षमा सुधार गर्नुपर्ने उनको भनाइ छ।

अयोध्या र जनकपुरधामलाई रामायण सर्किटसँग जोडेर संयुक्त पर्यटन प्याकेज सञ्चालन गर्न सके भारतबाट आउने धार्मिक पर्यटकलाई जनकपुरधाममा आकर्षित गर्न थप सहज हुनेछ। यसका लागि नेपाल र भारतका पर्यटन निकाय, रेल्वे कम्पनी, स्थानीय सरकार तथा निजी क्षेत्रबिच समन्वय आवश्यक छ। वर्षौंदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका अयोध्या र जनकपुरधाम अब रेलमार्गबाट पनि जोडिएका छन्। नियमित रेल सेवा सञ्चालनसँगै पर्यटकको आवागमन बढ्ने तथा स्थानीय व्यापार र रोजगारी सिर्जनासमेत विस्तार हुने भएकाले यसलाई दीर्घकालीन बनाउन सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने पूर्वशिक्षक रामसेवक महतोको भनाइ छ।

ayodhya-rail3

जनकपुरधाम अब धार्मिक पर्यटनका लागि नयाँ अवसर

अयोध्या र जनकपुरधामबिच रेल सेवा सञ्चालन हुनुलाई दुई सहरबिचको यातायात सुविधा विस्तारका रूपमा मात्र नभई धार्मिक पर्यटनको नयाँ सम्भावनाका रूपमा पनि हेरिएको छ।

रामायणकालीन धार्मिक तथा सांस्कृतिक मान्यतासँग जोडिएका यी दुई सहरबिच प्रत्यक्ष रेल सम्पर्क स्थापित भएपछि भारतबाट जनकपुरधाम आउने तथा यताबाट जाने तीर्थयात्रीको आवागमन सहज हुने भएको छ। विशेषगरी राम मन्दिर निर्माणपछि अयोध्या पुग्ने भारतीय तथा अन्य देशका पर्यटकका लागि सीता माताको दर्शन पनि विशेष हुने भएकाले उनीहरूलाई जनकपुरधामसम्म ल्याउन यो रेल सेवाले सहयोग पुर्‍याउने निश्चितप्रायः छ। जनकपुरधाममा रहेका जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, धनुषसागर, गंगासागरलगायतका धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमणलाई अयोध्या यात्रासँग जोड्न सके यहाँ आउने पर्यटकका लागि थप आकर्षण हुनेछ।

रेल सेवाबाट पर्यटकको आवागमन बढेमा होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय व्यापार, हस्तकला तथा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यसबाट स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। तर, त्यसका लागि जनकपुरधाममा पर्यटकको बसाइ अवधि बढाउने, व्यवस्थित पर्यटन प्याकेज निर्माण गर्ने, स्थानीय गाइडको व्यवस्था गर्ने र धार्मिक स्थलहरूको पूर्वाधार सुधारतर्फ सबैले आआफ्नो तर्फबाट पहल थाल्न जरुरी छ।