वैदेशिक रोजगार

हरेक दिन काम खोज्दै २२०० नेपाली विदेशिँदै

आप्रवासन आप्रवासन

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या १२ प्रतिशतले बढेको पाइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ६ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को १० महिनामा यसरी विदेशिने नेपालीको सङ्ख्या ६ लाख १२ हजार ९१० थियो ।

पोहोरको दाँजोमा यो वर्षको १० महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली ७३ हजार ४०३ ले बढेका हुन् । चालु आर्थिक वर्षमा सबैभन्दा नेपाली मङ्सिर महिनामा वैदेशिक रोजगारीका गएको देखिन्छ।

मङ्सिरमा ८४ हजार २२७ जना कामका लागि विदेशिएका थिए । सबैभन्दा कम अर्थात् ५३ हजार ४२५ जना असोजमा विदेशिएका छन् । विभागका अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र कात्तिकमा ७० हजार ९९० जना श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

यस्तै, पुसमा ६७ हजार १५३, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। विभागको तथ्याङ्कबाट औसतमा हरेक महिना साढे ६८ हजार र हरेक दिन २२ सय नेपाली काम खोज्दै विदेशिएको देखिन्छ।