वैदेशिक रोजगारीमा जाने श्रमिकले निश्चित शुल्क अनिवार्य तिर्नुपर्छ: अध्यक्ष खत्री

आप्रवासन आप्रवासन

 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा निश्चित शुल्क तिर्नुपर्ने बताएका छन्। 

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कानुनअनुसार केही निश्चित शुल्क आफैँले तिर्नुपर्ने व्यवस्था रहेको बताएका हुन्।

श्रमिक बिमा, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा कोष (एसएसएफ) र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोषलगायतका शीर्षकमा लाग्ने रकम श्रमिक स्वयंले तिर्नुपर्ने उनले स्पष्ट पारेका छन्। समाजमा वैदेशिक रोजगार व्यवसायीले यी सबै रकम आफ्नै खल्तीमा राख्ने गरेको भन्ने गलत धारणा बनेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्न लागत संरचना पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। 

वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई सुरुदेखि नै कुन शीर्षकमा कति शुल्क लाग्छ भन्ने स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ छ। यसले उनीहरूलाई आवश्यक आर्थिक तयारी गर्न सहज हुने उनले बताएका छन्। बैठकमा बोल्दै अध्यक्ष खत्रीले भने, ‘हामीले बुझ्नुपर्ने कुरा के छ भने वैदेशिक रोजगारीमा जान एउटा निश्चित शुल्क श्रमिकले तिरेर जानु पर्नेछ। श्रमिक इन्स्योरेन्स, स्वास्थ्य परीक्षण, एस.एस.एफ र प्रवर्द्धन बोर्डको कल्याणकारी कोषसँग सम्बन्धित विषयहरू श्रमिकले नै तिरेर जानुपर्ने रकमहरू हुन्।’

नेपाली समाजमा व्यवसायीले ती रकम लिएर आफ्नो खल्तीमा राखे भन्ने गलत भाष्य निर्माण भएको उल्लेख गर्दै उनले थपे, ‘वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई अब यति चाहिँ तपाईँहरूको लाग्ने शुल्क नै हो है भनेर स्पष्ट रूपमा भन्दिनुपर्छ। त्यसो भयो भने उहाँहरू त्यो रकमको पनि प्रिपरेसन गर्नुहुन्छ।’

उनले वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधन गर्न पनि माग गरेका छन्। साथै सरकारले घरेलु कामदार रोक्ने निर्णय गरेर अवैध रूपमा कामदार पठाउने वातावरण सिर्जना गरिरहेको आरोप पनि उनले लगाएका छन्। भिजिट भिसाको नाममा घरेलु कामदार पठाउने गरिएको उनको दाबी छ।