आपत्कालीन इन्डिगोको जहाज

आपत्कालीन इन्डिगोको जहाजलाई पाकिस्तानले आकाश प्रयोग गर्न नदिएपछि...

आप्रवासन आप्रवासन

भारतको इन्डिगोको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । घटना हो, गएको बुधबारको । इन्डिगोको एक जहाज दिल्लीबाट श्रीनगर जाँदै थियो । जहाजमा २२७ जना यात्रु सवार थिए ।

यात्राका दौरान मौसम खराब बन्यो र जहाजले अगाडिको बाटो देख्न सकेन । सोही बेला ओलावृष्टिका कारण तीव्र हावा चल्यो र हावाको झट्कामा परी जहाज बेस्सरी हल्लिन थाल्यो ।

आपत् परेपछि पाइलटले जहाजलाई आपत्कालीन अवतरण गराउन पाकिस्तानसँग अनुमति मागे । अवतरण गर्न नदिए पनि पाकिस्तानको हवाई आकाश प्रयोग गर्ने अनुमति दिन पाइलटले आग्रह गरे । तर पाइलटको दाबी अनुसार पाकिस्तानको लाहौरस्थित एयर ट्राफिक कन्ट्रोलले आफ्नो आकाश प्रयोग दिन अस्वीकार गर्‍यो ।

त्यसपछि खराब मौसमका बाबजुद निर्धारित मार्गमै जहाजलाई अघि बढाउन पाइलट बाध्य भए । तर, जहाज तीव्र रूपमा हल्लिने क्रम भने रोकिएको थिएन ।

त्यसबेला अब आफूहरूको ज्यान नजोगिने जस्तो देखेर यात्रुहरू रुन थाले । धेरै यात्रुहरूले अन्तिम घडी यही रहेको भनी भगवानको नाम लिइरहेको समेत सुनिन्छ ।

तर जसोतसो पाइलटले त्यस अवस्थाबाट जहाजलाई निकाले र श्री नगरमा आपत्कालीन अवतरण गराए ।

अवतरणपछि हेर्दा जहाजको अघिल्लो भाग क्षतिग्रस्त भएको देख्न सकिन्छ।

यसरी भारत र पाकिस्तानले एक अर्काका लागि आफ्नो हवाई आकाश बन्द गर्दा एउटा जहाज झन्डै झन्डै दुर्घटनामा पर्‍यो ।