नेपालमा जस्तै जापानमा पनि चामल मुख्य खाद्यान्न हो । जापानी र त्यहाँ रहेका नेपालीको भान्सामा चामल अनिवार्य जस्तै रहेको छ ।
यसको महत्त्व यति छ कि जापान सरकारले चामलको भण्डारण समेत गर्ने गरेको छ । सरकारसँग १० लाख टनको चामल भण्डार छ ।
तर एक वर्षयता त्यही चामल सरकारको टाउको दुखाइको विषय बनेको छ । चामल बारे एक मजाक गर्दा हालै मात्र जापानी कृषि मन्त्री टाकु इटोले राजीनामा नै दिनु पर्यो । चामलकै कारण प्रधानमन्त्री शिगेरु इशिबाको सरकारको लोकप्रियता समेत घट्दै गएको छ ।
आखिर जापानमा चामलको विषय किन चर्को मुद्दा बनिरहेको छ त ?
जलवायु परिवर्तनले निम्त्याएको अत्यधिक गर्मीका कारण जापानमा सन् २०२४ सबैभन्दा तातो वर्ष कायम भयो । जसले गर्दा पर्याप्त धान उत्पादन हुन पाएन र बजारमा चामलको कमी देखियो ।
रुस युक्रेन युद्धका कारण यसै बेला जापान गहुँको अभावबाट समेत गुज्रिरहेको छ । जसले गर्दा चामल निर्विकल्प बन्न पुगेको छ ।
अर्कोतर्फ, यही बेला जापानमा पर्यटक आगमन समेत बढेको छ । जसले गर्दा होटलहरुमा समेत चामलको खपत वृद्धि भएको छ ।
यही परिस्थितिका माझ चामल अभाव हुन सक्ने देखेर जापानीहरूले चामल भण्डारण गर्न थाले । जसले गर्दा जापानमा चामलको भाउ आकासिएको छ । गत फेब्रुअरीमा जापानमा चामलको भाउ करिब ५० प्रतिशतले वृद्धि भएको थियो । सरकारी सर्वेक्षणअनुसार फेब्रुअरी महिनामा ५ केजी चामलको पोकाको मूल्य ३ हजार ६८८ येन थियो । जबकि गत वर्षको फेब्रुअरीमा ५ केजी चामलको मूल्य २ हजार २३ येन थियो ।
यस अवस्थासँग जुध्न सरकारले आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामल भण्डारबाट निकाल्ने निर्णय गर्यो । सरकारले १० लाख टनको भण्डारबाट झिकेर २ लाख १० हजार टन चामल वितरण गर्न थाल्यो । विगतमा ठुला विपत्तिको अवस्थामा मात्र जापानले चामल भण्डार प्रयोग गर्ने गरेको थियो ।
तर यति गर्दा पनि अवस्थामा सुधार आएको छैन । गत शुक्रबार सरकारले जारी गरेको पछिल्लो तथ्याङ्कले अघिल्लो वर्षको अप्रिलको तुलनामा यस अप्रिलमा बजारमा चामलको मूल्य ९८ प्रतिशतले बढेको देखाएको छ । जबकि, मार्च महिनामा अघिल्लो वर्षको दाँजोमा चामलको भाउ ९२ प्रतिशतले बढेको थियो । जापानमा हाल ५ केजी चामलको मूल्य ५ हजार येन पुगिसकेको छ ।
तर तथ्याङ्कहरूले चामलको मूल्य अझै बढ्न सक्ने देखाएका छन् ।
पछिल्लो समय जापानीहरू महँगीको मारमा छन् । त्यसमा चामलको बढेको भाउले उनीहरूलाई थप आक्रोशित तुल्याएको छ ।
प्रधानमन्त्री इशिबाले अनेक प्रयास गर्दा पनि चामलको मूल्यलाई नियन्त्रण गर्न नसकिएको स्वीकार गरेका छन् । तर उनले चामलको मूल्यलाई नियन्त्रण गर्ने वाचा समेत गरेका छन् । तर जापानीहरू भने प्रधानमन्त्रीको आश्वासनबाट विश्वस्त छैनन् ।
यसले चामललाई लिएर जापानमा इतिहास दोहोरिने त हैन भन्ने चिन्ता समेत बढाएको छ । सन् १९१८ मा समेत यस्तै घटना भएको थियो । त्यस वर्ष पनि जापानमा चामलको भाउ आकासिएको थियो । चामलको भाउलाई लिएर त्यस वर्ष हिंसा भड्कियो र तत्कालीन सरकार नै ढल्न पुग्यो । त्यसैले एक शताब्दीपछि जापानमा पुन देखिएको चामल सङ्कट सरकारका लागि निकै भारी पर्दै गएको छ । र, त्यसले कुन रूप लिन्छ भन्ने यकिन छैन ।