अमेरिका र इरानबिच पाँच महिनाभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य हुने संकेत नदेखिएका बेला इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का वरिष्ठ जनरल मोहम्मद रजा नक्दीले युद्ध सन् २०२९ जनवरीसम्म लम्बिन सक्ने बताएका छन्।
नक्दीका अनुसार इरानले आफूलाई सुरक्षित राख्न र भविष्यमा कुनै पनि आक्रमण गर्न शत्रुलाई रोक्न यस्तो रणनीति अपनाउन सक्छ। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वर्तमान कार्यकाल सकिने समय अर्थात् २० जनवरी २०२९ सम्म युद्ध जारी राखेर अमेरिकालाई ठुलो क्षति पुर्याउन सकिने बताएका छन्।
उनको यो भनाइलाई ट्रम्पको ‘इरानले यसको मूल्य चुकाउनुपर्नेछ’ भन्ने चेतावनीको जवाफका रूपमा हेरिएको छ। अमेरिका र इरानबिच अन्तरिम सहमति तथा विभिन्न चरणमा वार्ता भए पनि तनाव भने कायमै छ।
अमेरिकाले ठुलो सैन्य क्षति बेहोरेको दाबी
यसैबीच, युद्धमा अमेरिकाले ठुलो संख्यामा ड्रोन गुमाएको रिपोर्ट सार्वजनिक भएको छ। द वासिङ्टन पोस्टले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानसँगको युद्धमा अमेरिकाले कम्तीमा ४५ वटा एमक्यू–९ रिपर ड्रोन गुमाएको जनाएको छ।यो संख्या अमेरिकी रिपर ड्रोनको कुल बेडाको करिब २५ प्रतिशत भएको र यसबाट अमेरिकी करदातालाई १.३ अर्ब डलरभन्दा बढी क्षति भएको दाबी गरिएको छ। अमेरिकी अधिकारीका अनुसार तीमध्ये केही ड्रोन इरानी आक्रमणबाट खसेका भए पनि केही सञ्चार सम्पर्क विच्छेद हुँदा दुर्घटनामा परेका थिए।
गाजामा पनि शान्ति प्रयास जारी
पश्चिम एसियामा इरान–अमेरिका तनावका बिच गाजामा युद्ध अन्त्य गर्ने प्रयास पनि जारी छ। अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा वार्ताकार जेरेड कुशनर अर्को साता पश्चिम एसियाको भ्रमण गर्ने तयारीमा छन्।
कुशनरसहित बोर्ड अफ पिसका उच्च प्रतिनिधि निकोले म्लाडेनोभ र कार्यकारी बोर्ड सदस्य टोनी ब्लेयर पहिले इजरायल र त्यसपछि इजिप्टको कायरो जानेछन्। कायरोमा गाजाको भविष्य र युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ।
ट्रम्प प्रशासनले अघि सारेको पछिल्लो योजनामा हमासलाई निशस्त्रीकरण गर्ने र इजरायली सेना गाजाबाट हटाउने प्रस्ताव छ। हमासले निशस्त्रीकरणसम्बन्धी योजना स्वीकार गरेको बताइए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म सेना फिर्ता नहुने बताएका छन्।
यसले गाजामा युद्ध अन्त्य गर्ने प्रयास अझै जटिल रहेको देखाएको छ। समग्रमा, इरान–अमेरिका तनाव, गाजाको अनिश्चित अवस्था र क्षेत्रीय सैन्य गतिविधिका कारण पश्चिम एसियाको सुरक्षा अवस्था अझै तनावपूर्ण बनेको छ।