साउदीमा एक जना विदेशी कामदारलाई फेसबुकमा कमेन्ट गर्दा मृत्युदण्डको सजाय, परिवारद्वारा जीवनरक्षाको अपिल

संगम पहरी संगम पहरी

काठमाडौं — सामाजिक सञ्जाल फेसबुकमा इस्लाम र पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा साउदी अरबमा २४ वर्षीय श्रीलंकाली आप्रवासी कामदारलाई मृत्युदण्ड सुनाइएको छ। मृत्युदण्डको फैसला कार्यान्वयन हुने मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

श्रीलंकाली नागरिक अनोजन सिवरासा साउदी अरबमा काम गर्दै आएका थिए। फेसबुकमा भएको धार्मिक विवादका क्रममा उनले तमिल भाषामा पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ परेका हुन्। उनको परिवारले अहिले उनको जीवनरक्षाका लागि श्रीलंकाली सरकार र साउदी अधिकारीसमक्ष क्षमादानको अपिल गरिरहेको छ।

अनोजनकी आमा रसमनिगम योगलक्ष्मीले भावुक हुँदै छोराको जीवन बचाइदिन अपिल गरेकी छन्। उनले छोराबाट गल्ती भएको भए क्षमा गरेर आफूहरूकहाँ फर्काइदिन आग्रह गरेकी छन्।

dsadff qq

यो घटना श्रीलंकामा समेत ठूलो चिन्ताको विषय बनेको छ। अनोजनको जीवनरक्षाका लागि विभिन्न राजनीतिक दल, धार्मिक नेता तथा नागरिक समाजका समूहले सरकारमाथि कूटनीतिक पहल अघि बढाउन दबाब दिएका छन्। श्रीलंकाली सरकारले पनि साउदी अधिकारीसँग कूटनीतिक माध्यमबाट सम्पर्क गरी उनलाई क्षमादान दिलाउन पहल गरिरहेको जनाएको छ।

अनोजनको मुद्दा सुरुमा साइबर अपराधसम्बन्धी कानुनअन्तर्गत अघि बढेको थियो। साउदीको अल–अहसा फौजदारी अदालतले उनलाई पाँच वर्षको जेल सजायसँगै ३० लाख साउदी रियाल जरिवाना सुनाएको थियो। श्रीलंकाका विदेशमन्त्री विजिता हेराथका अनुसार अनोजनको तर्फबाट सजाय घटाउन माग गर्दै गरिएको अपिल अस्वीकार भएको थियो।

तर घटनाले सेप्टेम्बर १७ मा नयाँ मोड लिएको थियो। साउदी अभियोजन पक्षले अनोजनमाथि साइबर अपराधसम्बन्धी कानुनको सट्टा इस्लामिक शरिया कानुनअन्तर्गत मुद्दा चलाउन माग गर्दै अपिल गरेको थियो। अपिल अदालतले अभियोजन पक्षको माग स्वीकार गरेपछि उनको सजाय मृत्युदण्डमा परिणत भएको हो।

अनोजनलाई पक्राउ गर्नुअघि श्रीलंकामा एउटा धार्मिक विवाद सामाजिक सञ्जालमा फैलिएको थियो। जुन महिनाको अन्त्यतिर हिन्दू तीर्थयात्रीसँग सम्बन्धित घटनाका क्रममा एक मुस्लिम युवकले कुकुरलाई लात्ती हानेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। त्यसपछि सामाजिक सञ्जालमा विभिन्न धर्मसँग सम्बन्धित टिप्पणी र प्रतिटिप्पणी सुरु भएका थिए।

त्यही क्रममा एक प्रयोगकर्ताले हिन्दू धर्मका एक देवताबारे अपमानजनक टिप्पणी गरेपछि अनोजनले त्यसको जवाफमा तमिल भाषामा पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको बताइएको छ। उनले उक्त टिप्पणी तत्कालै हटाएर माफी माग्दै भिडियोसमेत पोस्ट गरेका थिए। तर टिप्पणीको स्क्रिनसट सुरक्षित गरेर अनोजन कार्यरत कम्पनी तथा साउदी अधिकारीसम्म पुर्‍याइएको थियो।

अनोजनका दाजु हम्सिदान सिवरासाका अनुसार साउदीमा रहेका व्यक्तिहरूले उक्त विषयबारे थाहा पाएका थिएनन्। श्रीलंकामा रहेका केही व्यक्तिले अनोजन कार्यरत कम्पनीमा इमेल पठाएपछि कम्पनीले साउदी अधिकारीलाई जानकारी गराएको उनको भनाइ छ। त्यसपछि अनोजनविरुद्ध मुद्दा दर्ता भएको परिवारले जनाएको छ।

पक्राउपछि अनोजनका व्यक्तिगत विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिइएको र उनका सामाजिक सञ्जाल खाता साउदी अधिकारीहरूले हटाएको परिवारको भनाइ छ।

श्रीलंकाली सरकारले अनोजनको जीवनरक्षाका लागि सबै उपलब्ध माध्यम प्रयोग गरिरहेको जनाएको छ। अनोजनको परिवारले सेप्टेम्बर २१ मा राष्ट्रपति अनुराकुमार दिसानायकेसँग भेट गरेको थियो। राष्ट्रपति दिसानायकेले उनलाई आममाफी दिलाउन सरकारले सक्दो प्रयास गर्ने आश्वासन परिवारलाई दिएका थिए र साउदी अधिकारीसँग कूटनीतिक माध्यमबाट पहल गर्न निर्देशन दिएका थिए।

यो मुद्दामा श्रीलंकाका विभिन्न धार्मिक समुदायबाट पनि समर्थन देखिएको छ। रामन्ना निकाय र अमरपुर महा निकायका वरिष्ठ बौद्ध धर्मगुरुसहित हिन्दू धार्मिक नेताहरूले राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउँदै अनोजनको जीवनरक्षाका लागि तत्काल राज्यस्तरीय हस्तक्षेप गर्न माग गरेका छन्।

यसैबीच, अनोजनको मुद्दामा कानुनी सहयोगका लागि श्रीलंकाबाट चार सदस्यीय कानुनी टोली साउदी अरब जाने भएको छ। टोलीले अनोजनको मुद्दा हेरिरहेका स्थानीय दुईवटा कानुनी फर्मका वकिलसँग भेट गरी मुद्दाको अवस्थाबारे छलफल गर्ने र आगामी कानुनी कदमबारे योजना बनाउने जनाएको छ।

अनोजनको परिवारसँग भने पछिल्लो समय सम्पर्कसमेत टुटेको छ। उनका दाजुका अनुसार सेप्टेम्बर २८ देखि परिवारले अनोजनबाट कुनै फोन वा जानकारी पाएको छैन। परिवारले साउदीस्थित श्रीलंकाली दूतावासलाई जानकारी गराएर उनको अवस्थाबारे बुझिदिन आग्रह गरे पनि त्यसबारे अझै स्पष्ट जानकारी प्राप्त नभएको बताइएको छ।

साउदी अरबमा मृत्युदण्डको सजाय पाएका कैदीलाई व्यक्तिगत मोबाइल फोन प्रयोग गर्ने सुविधा सामान्यतः हुँदैन र परिवारसँगको फोन सम्पर्क जेल प्रशासनको प्रक्रियामार्फत हुने गरेको बताइएको छ। अनोजनको मृत्युदण्ड कहिले कार्यान्वयन हुन्छ भन्नेबारे साउदी अधिकारीहरूले कुनै आधिकारिक समयतालिका सार्वजनिक गरेका छैनन्।

साउदी अरबमा सामाजिक सञ्जालमा गरिएका अभिव्यक्तिका कारण कडा सजाय सुनाइएको यो पहिलो घटना भने होइन। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा सेवानिवृत्त साउदी शिक्षक मोहम्मद अल–घाम्दीलाई सामाजिक सञ्जालमा गरेका टिप्पणीका कारण मृत्युदण्ड सुनाइएको थियो। पछि उक्त फैसला उल्ट्याएर उनलाई ३० वर्षको जेल सजाय सुनाइएको मानवअधिकार संस्था एएलक्युएसटीले जनाएको छ।

मानवअधिकार संस्थाहरूले साउदी अरबमा सामाजिक सञ्जालमा व्यक्त गरिने विचारका कारण कडा कानुनी कारबाही हुने विषयमा पटक–पटक चिन्ता व्यक्त गर्दै आएका छन्। विशेषगरी विदेशी तथा न्यून आय भएका आप्रवासी कामदार भाषा, कानुनी जानकारी र पर्याप्त कानुनी प्रतिनिधित्वको अभावका कारण त्यहाँको कानुनी प्रणालीमा थप जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार साउदी अरबमा १ करोडभन्दा बढी विदेशी कामदार छन्। ठूलो संख्यामा विदेशी कामदार रहेको साउदीमा अनोजनको घटनाले सामाजिक सञ्जाल प्रयोग, धार्मिक संवेदनशीलता र विदेशी कामदारको कानुनी सुरक्षासम्बन्धी प्रश्नलाई फेरि चर्चामा ल्याएको छ।

साउदी अरबमा ईश्वरनिन्दासम्बन्धी आरोपमा मृत्युदण्ड सुनाइएका घटना लागुऔषध तथा हत्या अभियोगमा हुने मृत्युदण्डको तुलनामा तुलनात्मक रूपमा दुर्लभ भए पनि अनोजनको मुद्दामा प्रारम्भिक जेल सजायबाट मृत्युदण्डसम्म पुगेको घटनाले अन्तर्राष्ट्रिय ध्यान तानेको छ।

स्रोत: बीबीसी।