पाकिस्तानको सूचना प्रविधि निर्यातमा १७.४ प्रतिशतले वृद्धि

आप्रवासन आप्रवासन

पाकिस्तानको सूचना प्रविधि (आईटी) सेवा निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२६ को अक्टोबर महिनामा पाकिस्तानको आईटी सेवा निर्यात १७.४ प्रतिशतले बढेर ४५ करोड ३० लाख अमेरिकी डलर पुगेको छ । यो पाकिस्तानको इतिहासमा एक महिनामा भएको हालसम्मकै उच्च आईटी निर्यात आम्दानी हो ।

पाकिस्तानका अर्थमन्त्रीका सल्लाहकार खुर्रम शहजादले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा भएको आईटी निर्यात अघिल्लो महिनाको तुलनामा पनि ४.१ प्रतिशतले बढी हो । सूचना प्रविधि क्षेत्रमा निरन्तर बढिरहेको माग, डिजिटल सेवा विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा पाकिस्तानी सेवा प्रदायकको बढ्दो सहभागिताले निर्यात वृद्धिमा योगदान पु¥याएको देखिएको छ ।

चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो चार महिना अर्थात् जुलाईदेखि अक्टोबरसम्म पाकिस्तानले कुल एक अर्ब ७३ करोड अमेरिकी डलर बराबरको आईटी सेवा निर्यात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा भएको निर्यातको तुलनामा १७.६ प्रतिशतले बढी हो ।

आईटी निर्यातसँगै पाकिस्तानको फ्रिलान्स क्षेत्रबाट हुने आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । अक्टोबर महिनामा फ्रिलान्स सेवा निर्यातबाट प्राप्त आम्दानी २१ करोड अमेरिकी डलर पुगेको छ । यो गत वर्षको सोही महिनाको तुलनामा ५३ प्रतिशतले बढी हो । फ्रिलान्स क्षेत्रबाट भएको यो आम्दानी पनि हालसम्मकै उच्च मासिक निर्यात आम्दानी हो ।

त्यस्तै, चालु आर्थिक वर्षको जुलाईदेखि अक्टोबरसम्म फ्रिलान्स सेवा निर्यातबाट पाकिस्तानले ७६ करोड अमेरिकी डलर आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही चार महिनाको तुलनामा ४७ प्रतिशतले बढी हो ।

पाकिस्तानका स्वतन्त्र रूपमा काम गर्ने सूचना प्रविधि जनशक्ति तथा डिजिटल सेवा प्रदायकले अन्तर्राष्ट्रिय बजारमा पु¥याएको सेवाका कारण फ्रिलान्स क्षेत्रको आम्दानी बढ्दै गएको तथ्यांकले देखाएको छ । सफ्टवेयर विकास, वेब डिजाइन, डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइन, सामग्री लेखन तथा अन्य अनलाइन सेवामार्फत पाकिस्तानी फ्रिलान्सरले विदेशी मुद्रा आर्जन गर्दै आएका छन् ।

यसअघि आर्थिक वर्ष २०२५/२६ मा पाकिस्तानका फ्रिलान्सरले कुल एक अर्ब ७६ करोड अमेरिकी डलर बराबरको निर्यात आम्दानी गरेका थिए । चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७६ करोड डलर आम्दानी हुनु यस क्षेत्रको तीव्र विस्तारको सङ्केतका रूपमा हेरिएको छ ।

सल्लाहकार शहजादका अनुसार वर्तमान वृद्धिको गति कायम रहे चालु आर्थिक वर्ष २०२६/२७ मा पाकिस्तानको फ्रिलान्स सेवा निर्यात आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा माथि पुग्न सक्छ ।

आईटी सेवा तथा फ्रिलान्स क्षेत्रबाट हुने निर्यातमा आएको वृद्धिले पाकिस्तानको विदेशी मुद्रा आर्जनमा योगदान पु¥याउनुका साथै डिजिटल अर्थतन्त्रको विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति विकास तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने सम्भावनासमेत बढाएको छ ।