काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले हवाई टिकटमा चर्को मूल्य तिर्नुपर्ने समस्या समाधानका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) बीच छलफल भएको छ ।
शुक्रबार भएको छलफलमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले हवाई भाडामा भएको अस्वाभाविक वृद्धिका कारण बेहोर्नुपरेको अतिरिक्त आर्थिक भार न्यूनीकरण गर्ने विषयमा विचारविमर्श भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
छलफलका क्रममा हवाई टिकटको मूल्य निर्धारण तथा भाडा वृद्धिमा ट्राभल एजेन्सी र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको भूमिकाबारे समेत चर्चा भएको थियो । पछिल्लो समय हवाई भाडा बढ्दा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू आर्थिक रूपमा प्रभावित भइरहेको विषयलाई दुवै संस्थाले चासोका साथ उठाएका थिए ।
छलफलपछि हवाई भाडासम्बन्धी समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN), बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ्स इन नेपाल (BARN) तथा नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग औपचारिक रूपमा पत्राचार गरी आवश्यक छलफल र समन्वय गर्ने सहमति भएको छ । सम्बन्धित निकायसँगको समन्वयमार्फत हवाई भाडा वृद्धिको समस्या समाधानका लागि पहल गर्ने निष्कर्ष निकालिएको संघले जनाएको छ ।
संघका अनुसार यात्रुको चाप अत्यधिक हुँदा हवाई टिकट वा सिट उपलब्ध नहुनुलाई परिस्थितिजन्य रूपमा स्वाभाविक मान्न सकिए पनि बढी मूल्य तिर्दा मात्र टिकट उपलब्ध हुने अवस्था स्वीकार्य हुन सक्दैन । टिकटको माग बढी भएको अवस्थामा मूल्यसमेत अस्वाभाविक रूपमा बढ्ने प्रवृत्तिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार परेको संघको भनाइ छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी हवाई भाडा स्थिर र सहज बनाउन नेपाल सरकारले आवश्यक गृहकार्य गर्नुपर्ने संघले माग गरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई यात्रालाई सहज बनाउन राज्यले नीतिगत तथा व्यावहारिक पहल गर्नुपर्नेमा संघले जोड दिएको छ ।
त्यसैगरी, नेपालका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने र कम लागतमा सेवा दिने बजेट एयरलाइन्सलाई नेपालमा आकर्षित गर्ने दिशामा समेत सरकारले ध्यान दिनुपर्ने संघको सुझाव छ । बजेट एयरलाइन्सको प्रवेश र हवाई सेवाको विस्तारले यात्रुका लागि थप विकल्प सिर्जना गर्न तथा हवाई भाडालाई प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने अपेक्षा संघले गरेको छ ।
नेपालबाट दैनिक ठूलो संख्यामा नेपाली रोजगारीका लागि विभिन्न देश जाने गरेका छन् । यस्तो अवस्थामा हवाई टिकटको मूल्यमा हुने अस्वाभाविक वृद्धिले श्रमिकको विदेश प्रस्थान खर्च बढाउने र उनीहरूमाथि थप आर्थिक दबाब सिर्जना गर्ने भएकाले समस्या समाधानका लागि सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको संघको भनाइ छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हवाई भाडामा देखिएको अस्वाभाविक वृद्धि नियन्त्रण गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई अनावश्यक आर्थिक भारबाट जोगाउनु नै दुवै संस्थाको साझा उद्देश्य रहेको जनाएको छ । यसका लागि सरकारी निकाय, वायुसेवा कम्पनी तथा ट्राभल व्यवसायीबाट सकारात्मक सहयोग र सहकार्यको अपेक्षा गरिएको संघले उल्लेख गरेको छ ।