अमेरिका र इरानबिच गएको साढे ५ महिनादेखि जारी रहेको युद्ध अन्त्य हुने सङ्केत कतै देखिँदैन ।बजारमा तेलको आपूर्ति सीमित भएको छ भने रणनीतिक भन्डारबाट झिकिएको तेल आपूर्ति हनु सकेको छैन । युद्ध लम्बिँदै जाँदा विश्वको तेल बजारमा आपूर्ति सङ्कट झन् गहिरिँदै गएको छ । यस्तोमा विश्वभरका ऊर्जा कम्पनी, तेल व्यापारी र नीति निर्माताहरूलाई एउटा प्रश्नले टाउको दुखाइरहेको छ ।
इरान युद्ध कच्चा तेलको आपूर्तिमा यस अघि कहिले नदेखिएको अवरोध बन्न लागेको बेलामा संसारसँग अर्को ६ महिना इरान युद्ध थेग्न सक्ने जगेडा तेल छ त ? रणनीतिक भन्डारमा कुन देशसँग कति तेल छ ? अनि यीमध्ये कति तेल झिकेर बजारमा पठाउन मिल्छ ? भन्ने प्रश्नको उत्तर नआइकन यसको ठोस जवाफ आउँदैन ।
केही अघि साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोका प्रमुख कार्यकारी अधिकृत अमिन एच नासेरले इरान युद्ध सुरु भएयता विश्वले झन्डै २ अर्ब ६० करोड ब्यारेल तेल आपूर्ति गुमाइसकेको भनेका थिए । रोयटर्सको गणनाअनुसारसञ्चित परिमाणका हिसाबले यो तेल आपूर्तिमा सन् १९७९ को इरानी क्रान्तिबाहेक इतिहासकै सबैभन्दा ठुलो अवरोधमध्ये एक हो । यो तेल इरान युद्धअघि विश्वको झन्डै २५ दिनको तेल खपत बराबर हो । युद्धअघि विश्वभर दैनिक करिब १० करोड ३० लाख ब्यारेल तेल खपत हुने गरेको अनुमान थियो । यद्यपि पछिल्ला महिनामा चीनबाट तेलको माग घटेकाले विश्वको वास्तविक दैनिक खपत केही कम भएको छ । त्यसैले अहिलेको आपूर्ति अभाव युद्धका कारण गुमेको कुल तेलभन्दा फरक छ ।
बजारमा माग पूरा गर्न दैनिक करिब ५० लाख ब्यारेल तेलको कमी भइरहेको धेरैजसो विश्लेषकहरू ठान्छन् । तर अरामकोले भने खाडी क्षेत्रबाट मात्रै दैनिक करिब १ करोड १० लाख ब्यारेल आपूर्ति गुमिरहेको भनिरहेको छ । यो अभावको खाल्डो जुलाईमा अझ फराकिलो भएको छ । जुलाईमा युक्रेनको ड्रोन आक्रमणका कारण कजाखस्तानबाट विश्व बजारतर्फ तेल पठाउने क्यास्पियन पाइपलाइन कन्सोर्टियम (सीपीसी) पाइपलाइनमा क्षति भएपछि यस पाइपलाइन भएर जाने दैनिक करिब १८ लाख ब्यारेल तेल प्रवाह बन्द भएको छ ।
६ महिनामा सरकारी तेल भण्डार निमिट्यान्न हुने जोखिम
मार्चमा विश्वव्यापी ऊर्जा संकटको समयमा आपूर्ति धान्न महत्वपूर्ण भूमिका खेल्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले आपत्कालीन भण्डारबाट झिकेर ४० करोड ब्यारेल तेल बजारमा ल्याउने घोषणा गरेको थियो । एजेन्सीका अनुसार विश्व अर्थतन्त्रसँग अझै पर्याप्त तेल मौज्दात छ । आईईए अन्तर्गत सरकारी तथा व्यावसायिक दुवै प्रकारका भण्डार जोड्दा करिब विश्वसँग १ अर्ब ५० करोड ब्यारेल तेल रहेको अनुमान छ । दैनिक ५० लाख ब्यारेलको आपूर्ति अभावलाई आधार मान्ने हो भने यो परिमाणले करिब ३०० दिनसम्मको कमी पूर्ति गर्न सक्छ ।
तर यहाँ एउटा ठुलो समस्या छ । आईईएले निजी कम्पनी तथा रिफाइनरीहरूले सञ्चालनका लागि राखेको व्यावसायिक तेल भण्डारलाई आफूखुसी बजारमा ल्याउन आदेश दिन सक्दैन । त्यसैले साँच्चै आपतको अवस्थामा तत्काल परिचालन गर्न सकिने सरकारी भण्डार करिब ९० करोड ब्यारेलमा सीमित हुन्छ । दैनिक ५० लाख ब्यारेलको आपूर्ति अभाव कायम रहेमा यसले करिब १८० दिन अर्थात् करिब ६ महिनासम्म मात्रै सङ्कट धान्न सक्छ ।
सङ्कट अझ गम्भीर भएमा थप तेल बजारमा ल्याउन आफू तयार रहेको आईईएले भनेको छ । तर धेरै देशसँग अहिले नै रणनीतिक भण्डारमा सीमित तेल बाँकी रहेकाले ठुलो परिमाणमा अरु तेल बजारमा ल्याउने क्षमता सीमित छ ।
सरकारी रणनीतिक तेल भन्डारमध्ये सबैभन्दा ठुलो अमेरिकासँग छ । विश्वको रणनीतिक तेल भण्डारमध्ये एक तिहाई अमेरिकामा छ । तर अहिले उसको यस्तो तेल भन्डार निकै न्यून स्तरमा झरेको छ । अमेरिकीको रणनीतिक तेल भन्डारमा कच्चा तेलको मात्रा रोनाल्ड रेगन राष्ट्रपति भएको बेलामा सन् १९८३ को जनवरीयताकै न्यून स्तरमा पुगेको छ ।
रणनीतिक भन्डारका पूर्वाधारमा तीव्र रूपमा समस्या बढिरहेको छ र भण्डारमा रहेको करिब एक चौथाइ तेल तत्काल निकाल्न नसकिने अवस्थामा हुन सक्ने अमेरिकी सरकारी जवाफदेहिता कार्यालय (जीएओ) ले मे महीनामा गरेको मूल्यांकनमा भनिएको थियो । यस्तोमा १० करोड ब्यारेलभन्दा बढी तेल तत्काल निकाल्न नसकिने अवस्थामा पुगेको हुन सक्ने ऊर्जा विश्लेषकहरूको ठम्याई छ । यदि अमेरिकासँग प्रयोग गर्न सकिने रणनीतिक भण्डारमा करिब २० करोड ब्यारेल मात्रै बाँकी रहेको मान्ने हो भने यसले विश्वमा अपुग दैनिक ५० लाख ब्यारेल तेलको भर्पाई करिब ४० दिनसम्म मात्र गर्न सक्छ ।
डिजेल र हवाई इन्धनको अभाव पनि अर्को ठुलो समस्या
कच्चा तेलको आपूर्ति मात्रै अहिलेको समस्या होइन । युद्धले पश्चिम एसिया र रुसका केही रिफाइनरीमा समेत असर पारेपछि डिजेल तथा जेट इन्धनको आपूर्ति विशेष रूपमा प्रभावित भएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक मोर्गन स्ट्यान्लीका अनुसार विश्वभर डिजेल तथा जेट इन्धनजस्ता मध्य–डिस्टिलेट इन्धनको मौज्दात अहिले पाँच वर्षको औसत दायराको पुछारमा झरेको छ । रिफाइनरीमा भएको क्षति र कच्चा तेलको आपूर्ति अवरोधका कारण कच्चा तेललाई पेट्रोल, डिजेल तथा हवाई इन्धनमा प्रशोधन गर्ने क्षमता पनि दबाबमा परेको छ । यसको अर्थ बजारमा कच्चा तेल उपलब्ध भए पनि त्यसलाई आवश्यक मात्रामा प्रशोधन गर्न नसकिएमा पेट्रोलियम उत्पादनको अभाव हुन सक्ने देखिएको छ । विशेषगरी डिजेलको कमीले मालवाहक यातायात, कृषि, उद्योग र विद्युत् उत्पादनजस्ता क्षेत्रमा थप दबाब सिर्जना गर्न सक्छ ।
यद्यपि तत्कालै विश्वमा तेल सकिने अवस्था भने देखिँदैन । आईईएले व्यावसायिक भण्डार, सरकारी रणनीतिक भण्डार, चीनको भण्डार तथा समुद्रमा ढुवानी भइरहेका तेलसमेत जोड्दा विश्वको कुल तेल मौज्दात अझै ठुलो रहेको जनाएको छ । विश्वव्यापी कुल तेल भण्डार जुलाईमा ७ अर्ब ९० करोड ब्यारेलभन्दा तल झरेको अनुमान गरिएको छ । यो सन् २०२६ को फेब्रुअरीको करिब ८ अर्ब ३० करोड ब्यारेलको उच्च स्तरभन्दा निकै कम हो । तर कुल भण्डारको सबै तेललाई आपूर्ति सङ्कट समाधान गर्न सकिने वास्तविक ‘बफर’ मान्न मिल्दैन ।
समुद्रमा ढुवानी भइरहेको तेलमध्ये ठुलो हिस्सा पहिले नै बिक्री भइसकेको हुन सक्छ । त्यो तेल नयाँ आपूर्ति थप्ने भण्डार नभई एक स्थानबाट अर्को स्थानमा लैजान लागिएको तेल मात्र हुन सक्छ । त्यसैले विश्वमा जम्मा कति ब्यारेल तेल छ भन्ने तथ्यभन्दा पनि संकटका बेला तत्काल बजारमा कति तेल पुर्याउन सकिन्छ भन्ने प्रश्न बढी महत्वपूर्ण हुन्छ ।
चीनसँग भने ठुलो भण्डार हुन सक्ने अनुमान
विश्वको तेल संकटमा चीनको भूमिका विशेष महत्वको छ । चीनले आफ्नो रणनीतिक तेल भण्डारको वास्तविक आकार सार्वजनिक गर्ने गरेको छैन । त्यसैले चीनसँग कति तेल मौज्दात छ भन्ने विषयमा विभिन्न परामर्शदाता संस्थाका अनुमान फरक–फरक छन् । एनर्जी आस्पेक्ट्सका अनुसार जुलाईमा चीनसँग करिब १ अर्ब ७० करोड ब्यारेल कच्चा तेल रहेको हुन सक्छ । अन्य परामर्शदाता संस्थाहरूले भने चीनको भण्डार १ अर्बदेखि १ अर्ब ७० करोड ब्यारेलसम्म हुन सक्ने अनुमान गरेका छन् । चीनसँग कच्चा तेलबाहेक इन्धन तथा पेट्रोकेमिकल उत्पादनको पनि ठुलो मौज्दात हुन सक्ने अनुमान छ ।
यदि चीनसँग करिब १ अर्ब ७० करोड ब्यारेल कच्चा तेल रहेको अनुमान सही हो भने उसले युद्धअघि स्ट्रेट अफ होर्मुजमार्फत आयात गर्ने दैनिक करिब ५५ लाख ब्यारेल तेलको परिमाणलाई झन्डै एक वर्षसम्म धान्न सक्ने अवस्था हुन सक्छ । यसले चीनलाई विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये तुलनात्मक रूपमा सुरक्षित अवस्थामा राख्न सक्छ ।
अहिलेको तेल संकटमा स्ट्रेट अफ होर्मुज सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक भएको छ । पश्चिम एशियाका प्रमुख तेल उत्पादक राष्ट्रबाट विश्व बजारतर्फ जाने ठुलो परिमाणको तेल यही समुद्री मार्गबाट पार हुन्छ । यदि युद्धका कारण यो मार्ग लामो समयसम्म अवरुद्ध भइरह्यो भने विश्व बजारमा नयाँ तेलको आपूर्ति तीव्र रूपमा घट्न सक्छ । यस्तो अवस्थामा उपलब्ध भण्डारले केही समयसम्म मात्र संकटलाई धान्न सक्छ । यसका कारण तेलको मूल्यमा तीव्र वृद्धि हुन सक्छ। तेलको मूल्य बढ्दा पेट्रोल, डिजेल, हवाई इन्धन र ढुवानीको लागत बढ्ने भएकाले त्यसको असर विश्व अर्थतन्त्रका धेरै क्षेत्रमा पर्न सक्छ ।